८ माघ , काठमाडौ । झलनाथ खनाल प्रतिष्ठानको नाम फेरियो , काम भएन , सर्प पाल्ने नाममा जगै नखनी १९ करोड खर्चू शीर्षक लेख पढी केही लेख्न मन लाग्यो ।
मधेसमा धेरै मानिसहरु सर्पको टोकाइबाट आतंकित भइरहने अवस्थाले यसको न्युनीकरणको उपाए भनेको भ्याक्सिनको उत्पादन नै भएको र चुनावताका भोटबैंकको रुपमा मधेसी जनताको साख, साथ, सहयोग पनि पाइने तथा उनीहरुरसँगको सुमधुर सम्बन्ध पनि स्थापित हुने उधेश्यले २०७० सालमा झलनाथ खनालले इलाममा मात्र नभई सर्लाही १ बाट पनि उमेद्वारी दिए ।
उनले उक्त क्षेत्रबाट पराजय भोगे पनि सर्पको टोकाइबाट बच्नको लागि एन्टिस्नेक भेनमू उत्पादन गर्ने उधेश्यले झलनाथ खनाल स्वास्थ्य बिज्ञान प्रतिष्ठान स्थापना गरे । तत्कालिन सरकारबाट राम्रै कामको शुरुवात हुने भो भनेर नै रु ७२ करोड दिने सम्झौता भयो ।
भारत र थाइल्यान्डले विभिन्न उपकरण दिने सम्झौता भए पनि बिगत ८ वर्षदेखि प्रकृयागतरुपमा काम गर्न ढिलाई भइरहेको गुनासो आइरहेको सन्दर्भमा उल्टो जगै नखनी १९ करोड खर्च भइसक्दा पनि यसमा काम अगाडि बढाउने तत्परता देखाउनु पर्नेमा नामै परिबर्तन गर्ने जमर्को गर्नु यो भन्दा निर्लज्जताको पराकाष्टा अरु के हुन सक्छ ।
नेपालमा भेनम उत्पादन गर्ने स्पष्ट नीति नभएको जान्दा जान्दै के उधेश्य र कसको स्वार्थको लागि राज्यको ढुकुटीमा त्यतिका विधि रकम खर्च गरियो र आज उक्त क्षेत्र भैंसी चरणमा परिणत भयो ? के सरकारले यतातिर ध्यान दिनु पर्दैन ? आज यस्ता अनगिन्ती क्षेत्रमा राजनीतिक पौंच र बोलवालाकै भरमा खल्तीको योजना संचालन गर्ने नाममा कयौं रकम खर्च गरिएको छ तर हाता लाग्यो शून्य ! उपलब्धी केही छैन तर कुनै निश्चित ब्यक्तिले फाइदा लिएको कुरालाई भने नकार्न सकिँदैन ।
राज्यमा यस्ता कयौं भ्रष्टाचारका फाइल चाङ लागेका छन तर जुनसुकै सरकार आए पनि मिलेमतो र सहमतिमा आफन्तवाद र कृपाबादको भूमरीले नचाइरहेको छ ।
एकातिर करिब ४५ प्रतिशत मानिसहरुको अवस्था अझै पनि नाजुक छ १ एक जना कमाउने ७ जना रमाउने प्रचलन रोजगारी अभाव र राज्य संचालन गर्ने नेतृत्वको चरम लापर्वाहीको कारण सिर्जित समस्या हो भने करिब ३५ प्रतिशत मानिसहरु आफ्नै बलबुतोमा जीवन धानिरहेका छन ।
तर अर्कोतिर देशको अर्थतन्त्रको चावी बांकी १० प्रतिशत धनाढ्यको हातमा भएकोले आज जनताको दैनन्दिनी बढो कष्टकासाथ गुजृरहेको छ । तसर्थ अबको सरकारले यस वारेमा केही सोचेर, बुझेर काम गर्छ कि त ?
खिमराज गिरी