सकम्बरी: गीत-भिडियो सुन्दर, तर गलत सन्देश दिने डर -
Comments Add Comment

सकम्बरी: गीत-भिडियो सुन्दर, तर गलत सन्देश दिने डर

३ वैशाख ,काठमाडौ । प्रकाश सपुतको नयाँ गीत आउनु र त्यसले कुनै ‘भाइब्रेसन’ नल्याउनु, यो कसरी सम्भव छ ? युट्युबमा रिलिज भएको २४ घन्टाभित्रै टप ट्रेन्डिङमा आएको सपुतको ‘सकम्बरी’ ले पनि कलाकारिता क्षेत्रमा राम्रै बहस छेड्नसक्ने देखिन्छ ।

सकम्बरी एउटा कथा बोकेको गीत हो । कथाको केन्द्रमा छिन् फूलमाया नाम गरेकी युवती जो कलाकार बन्ने सपना बोकेर गाउँबाट शहर छिर्छिन् । तर, उनलाई पाइला(पाइलामा यस क्षेत्रका पुरुष पात्रहरुले दुरुपयोग गर्छन् । फूलमाया सबैसँग सम्झौता गर्दै, आफ्नो जवानीको सौदावाजी गर्दै सफलताको उकालो चढ्दै जान्छिन् । म्युजिक भिडियो खेल्छिन् । नाम र दाम कमाउँछिन् । फूलमायाबाट सकम्बरी बन्छिन् ।

अन्तमा उनलाई राजनीतिमा समेत अफर आउँछ । राजनीतिमा सकम्बरीको यात्रा अर्को गीतमा प्रस्तुत गर्ने वाचा गरिएको छ ।

आफ्ना हरेक सिर्जनामा शतप्रतिशत ज्यान भर्न खोज्ने कलाकार हुन्, प्रकाश सपुत । उनी गीतका शब्द, संगीत र गायनमा जति मेहनत गर्छन्, त्योभन्दा बढी मेहनत र लगानी भिडियोमा गर्छन् । गीतका शब्दले अव्यक्त रुपमा भन्ने कुराहरु भिडिओबाट व्यक्त रुपमा भन्छन् । कहिलेकाहीं शब्दको भावभन्दा बाहिर गएर पनि भिडियोमा कथा बुन्छन् । यसर्थ उनका गीतहरु सुन्नमात्र होइन, हेर्न पनि हो ।

‘सकम्बरी’ गीतमा शब्द र संगीतको लालित्य छ । एकै श्रवणमा जोकसैको मनभित्रै पस्नसक्ने मीठो भाका छ । कर्णप्रिय पाश्र्वध्वनि छ । प्रकाश सपुतको गायकीमा आफ्नै कालिगढी छ । समग्रमा गीत उत्कृष्ट छ । एकपटक सुनेपछि पटक(पटक सुनिरहन मन लाग्छ । जतिबेला जहाँ पनि सुनेर मन बहलाउन सकिने गीत हो यो ।

शब्दको गहिराइमा पस्दा भने ‘सकम्बरी’ गीतको अवधारणा विवादास्पद प्रतित हुन्छ । कलाकारितामा लाग्न संघर्षरत एउटी युवतीको चरित्र र जीवनशैलीलाई लिएर गीतमा अनेक प्रश्नहरु उठाइएको छ ।

एकछिन भिडिओ बिर्सेर गीतका शब्दहरुको मात्रै नियालौंं । गीतको सुरुमै यस्ता प्रश्नहरु गरिएको छः

‘कानमा झुम्कना तिम्लाई कल्ले किन्दियो रु नाकको बुलाकी तिम्लाई कल्ले किन्दियो ?’

पाउमा लाको पाउजु, हातमा लाको चुरा, तिम्लाई कल्ले किन्दियो ?’

महिलाको चरित्रलाई ‘धर्म’ सँग जोड्दै अन्तरामा यस्तो प्रश्न गरिएको छः

‘जाग्यो रहर पापी शहरको, छैन सिमाना आफ्नै रहरको’

‘लौ धर्मै मास्ने जहर, लौ रंगीन-रंगीन रहर, तिम्लाई कसले किन्दियो ?’

गीतका थप केही शब्दहरुः

‘जोवन साट्यौ कि धनको आशैले, बहकायो कि तिम्लाई कसैले’

‘हेर हिँड्छ्यौ परपर, हेर रातो स्कुटर, तिम्लाई कल्ले किन्दियो ?’

‘घाँटीनिरै डाम के को होला नि रु रातितिरै काम केको होला नि ?’

मूल्य बढीबढी, मोबाइल टीभी घडी, तिमीलाई कसले किन्दियो ?’

भिडियोलाई बिर्सेर गीतमात्रै सुन्दा पनि फूलमायाले लगाएका लुगा, गहनादेखि मोबाइल र स्कुटरसम्म उनी आफैंले किनेको हुन सक्दैन भन्ने भाव व्यक्त भएको छ । गीतको लिरिक्समा फूलमाया कलाकारितामा लागेकी वा लाग्न चाहेकी युवती हुन् भन्ने झल्किँदैन । उनी एक आमयुवती, जोकोही हुन सक्छिन्, जसले छोटो समयमा जीवनशैली बदलेकी छन् । स्कुटर चढ्ने, राति काम गर्ने युवतीहरुको चरित्रमा गीतले प्रश्न उठाएको छ ।

प्रकाश सपुतले पक्कै पनि महिलाहरुलाई लाञ्छित गर्ने नियतले यस्ता शब्दहरु बुनेका होइनन् । सबै युवतीहरुले आफ्नो जवानी बेचेर नै भड्किलो जीवनशैली बाँचिरहेका हुन्छन् भन्न खोजेका पनि होइनन् । उनले देखाउन यो खोजेका हुन् कि रहर र मजबुरीमा परेर महिलाहरु कसरी सम्झौता गर्न बाध्य हुन्छन् । तर, यसलाई अभिव्यक्त गर्दा उनी कहीं न कहीं चुकेका छन् ।

अब भिडियोको चर्चा गरौं । भिडियोमा फूलमायालाई आफ्नो पारिवारिक कलह र गरिबीबाट भागेर आफैं केही गर्ने अठोटसहित सहर पसेकी युवतीका रुपमा चित्रित गरिएको छ । म्युजिक भिडियो खेल्ने रहर पालेकी उनलाई सुरुमा गाउँकै एक युवकले रेस्टुरेन्टमा वेटरको जागीर दिलाउँछन् । त्यहीबाट विभिन्न पुरुषहरुसँग उनको संगत सुरु हुन्छ । तीमध्ये एक प्रौढ उमेरका धनाढ्य पुरुषसँग निकट भएर फूलमाया ठाँटको जीवन बाँच्न थाल्छिन् ।

यही क्रममा उनलाई म्युजिक भिडियोको लागि अफर आउँछ । भिडियो खेल्न अफर गर्ने निर्देशकलाई उनी प्रश्न गर्छिन्, ‘मसँग डिनर चाहिँ खानुहुन्न रु’

गीतको भिडियोमा एउटा फिल्म नै बन्नसक्ने कथा अटाएको छ । कलाकारहरुको ठूलै भीडभाड छ । सुनिल थापा जस्ता लिजेन्ड अभिनेतालाई प्रकाश सपुतले भिडियोमा खेलाएका छन् । आर्थिक रुपमा पनि उनले राम्रै लगानी गरेको हुनुपर्छ । बताइएअनुसार १५ लाख रुपैयाँ भिडियोमा मात्रै खर्च भएको छ ।

गीत भनेको मूलतः सुन्न हो । एउटा गीतको भिडियो यति भड्किलो र खर्चिलो हुनु आवश्यक छ वा छैन मेकर्सले नै जान्ने कुरा हो । संगीतप्रेमीका लागि त अडियो राम्रो भए पुग्छ । हालै स्वप्न सुमनको गीत दुई हप्तासम्म एक नम्बर ट्रेन्डिङमा रह्यो, जसको भिडियोमा केही पनि थिएन । खैर, भिडियोमा पनि प्रकाश सपुतको बेग्लै सोख हुनसक्छ ।

सपुतका अन्य म्युजिक भिडिओ जस्तै यो पनि संवादबाट सुरु हुन्छ र संवादमा टुंगिन्छ । गीतको भिडियोलाई लामो बनाउन संवाद घुसाउने प्रचलन बढ्दो छ । यद्यपि, दर्शक(स्रोताका लागि भने संवादविहीन गीत नै बढी रुचिकर हुन्छ । बीचबीचमा संवाद घुसाउनु गीतको फ्लो बिगार्नुमात्रै हो ।

‘सकम्बरी’ गीतको भिडियोले कलाकारितामा लागेका वा लाग्न चाहेका युवतीहरुलाई ‘हर्ट’ हुनसक्छ । नेपालमा अझै पनि धेरै बाबुआमा आफ्ना छोरीहरु कलाकारितामा लागेको हेर्न चाहँदैनन् । कलाकारिता क्षेत्रको छवि अझै पनि पूर्ण रुपमा सङ्लिन सकेको छैन । खासगरी महिला कलाकारहरुलाई समाजले राम्रो नजरले हेर्दैन । ‘सकम्बरी’ गीतको भिडियोले यसलाई चिर्नेभन्दा पनि थप मलजल गर्ने खतरा छ ।

सपुतले मोडलिङमा लागेर छिटो प्रगति गर्नेहरुमाथि शंकाको नजरले हेर्नुपर्ने जस्तो वातावरण बनाइदिएका छन् । के कुनै मोडल वा बार डान्सरले आफ्नै कमाइको बलमा राम्रो जीवन बाँचिरहेको हुन सक्दैन रु के कुनै अवाञ्छित सम्झौताविना सफलताको उकालो चढ्न सम्भव नै छैन रु के यहाँ कोही पनि पुरुष नवआगन्तुक युवतीलाई कुदृष्टि नराखिरहन सक्दैन रु गीतको भिडिओले उठाउन सक्ने प्रश्नहरु यी हुन् । समाजले जेजस्ता प्रश्नहरु सोधेर महिला कलाकारलाई आक्षेप लगाउँछ, ती नै प्रश्न सपुतले आफ्नो गीतमा सोधेका छन् ।

भिडिओको अन्त्यमा सकम्बरीलाई राजनीतिमा अफर आएको देखाइएको छ । कलाकारिताबाट राजनीतिमा हाम्फालेका महिलाहरुलाई यसले चोट पुग्न सक्छ । राप्रपाकी नेतृ रेखा थापाले फेसबुकमा गीतप्रति असन्तुष्टि व्यक्त गरिएको स्टाटस शेयर गरेर यही संकेत गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै