Comments Add Comment

गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्री गुरुङलाई २४ घण्टे अल्टिमेटम

तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर मधेस जागरण अभियानले गृहमन्त्री सुधन गुरुङलाई २४ घण्टे अल्टिमेटम दिएको छ। अभियानले गरिमाको घटनास्थलमा पुगेर पीडित परिवारसँग प्रत्यक्ष संवाद गर्न गृहमन्त्रीलाई आग्रह गरेको हो।

मधेस जागरण अभियानका संयोजक कृष्ण मोहन सहनीले जारी गरेको प्रेस विज्ञप्तिमा गरिमा चौधरीको नृशंस हत्याकाण्डले सिंगो मधेस प्रदेशलाई शोकाकुल तथा आक्रोशित बनाएको बताएकाे छ । यस्तो जघन्य अपराधमा संलग्न दोषीलाई संरक्षण दिने तथा पीडित परिवारलाई न्याय दिलाउने विषयमा सरकार गम्भीर नहुनु दुःखद् र निन्दनीय भएको अभियानले उल्लेख गरेकाे छ।

अभियानले सरकार, विशेषगरी गृहमन्त्रीले पीडित परिवारप्रति सहानुभूति प्रकट गर्दै घटनाको सत्यतथ्य छानबिन, दोषीको खोजी तथा कडा कारबाही र पीडित परिवारलाई न्याय दिलाउने दायित्वबाट पन्छिन नहुने जनाएको छ। ‘गृहमन्त्रीज्यू गरिमा चौधरी हत्याकाण्डको घटनास्थलमा स्वयं उपस्थित भई पीडित परिवारसँग प्रत्यक्ष संवाद गर्न २४ घण्टे अल्टिमेटम जारी गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

तोकिएको समयभित्र गृहमन्त्री घटनास्थलमा उपस्थित नभए त्यसलाई सरकारको गैरजिम्मेवारी, पीडितप्रतिको असंवेदनशीलता र अपराधी संरक्षणको खुला घोषणाका रूपमा लिने अभियानले चेतावनी दिएको छ। त्यसपछि चरणबद्ध रूपमा चरमबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने पनि अभियानले जनाएको छ।

अभियानले सरकारलाई तीनवटा मुख्य मागसमेत अघि सारेको छ। पीडितलाई न्याय नदिने र अपराधीलाई संरक्षण दिने कार्य तत्काल बन्द गर्नुपर्ने, गरिमा चौधरी हत्याकाण्डको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही सुनिश्चित गर्नुपर्ने तथा पीडित परिवारलाई सुरक्षा, सम्मान र न्याय दिलाउन सरकारले अग्रसरता लिनुपर्ने अभियानकाे माग छ।

www.news24galaxy.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै