२४ फागुन , काठमाडौ । ‘म अहिले जे छु, यो अवस्थामा आउन धेरै संघर्ष गरेको छु। अवसरहरू सजिलै पाए पनि अवसर पाउने बेलासम्म आइपुग्न धेरै मिहेनत गरेँ,’ म्याग्दीको धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुन आफ्नो विगत सम्झिन्छिन्। संघर्षबाट खारिएकी नेताको परिचय बनाएकी उनी बाल्यकालदेखि नै कठिन संघर्षको यात्रा तय गरेर गाउँपालिकाको जिम्मेवारी सम्हाल्ने अवस्थामा आइपुगेको बताउँछिन्।
‘दुर्गम गाउँको मगरको छोरी, १५ वर्ष नपुग्दै टिपेर लाहुरेलाई दिने संस्कार अहिले पनि छ। रोधी बस्ने चलन हटेको छैन,’ आफ्नो बाल्यकाल सम्झिँदै उनले भनिन्, ‘कम्ता दुस्ख व्यहर्नुपरेन। गाह्रो त कति भयो भयो, भनिसाध्य छैन। आफ्नो कर्म र भाग्यले गर्दा यहाँसम्म आएँ होला भन्ने लाग्छ।’
त्यसपछि इन्टर पढ्न उनी काठमाडौंको पद्मकन्या क्याम्पसमा भर्ना भइन्। सजिलै पास गरिन्, स्नातक तह बागलुङ क्याम्पसबाट पूरा गरिन्। त्यतिबेलासम्म थमसरा गाउँकै स्कुलको शिक्षिका भइसकेकी थिइन्। अब उनको जिम्मेवारी अझै बढ्यो, गाउँले भेला भएर उनलाई प्रधानध्यापक बनाइदिए। स्नातक सकिँदा उनी अखिल नेपाल महिला संघको जिल्ला अध्यक्षको रुपमा निर्वाचित भइन्। ‘दुई दिन हिँडेर जिल्ला जानुपर्थ्या। स्कुलको जिम्मा पाएपछि सधैँ गइरहन पनि पाइँन। स्कुल सोचेभन्दा राम्रो भयो, अनेमसंघ र डिग्री राम्रो भएन,’ उनले थपिन्, ‘डिग्री चाहिँ बल्लबल्ल अध्यक्ष भएपछि पास गरेको हुँ।’
आफ्नो अगाडि कसैले विभेदको स्वर ननिकाले पनि व्यवहारबाट धेरै पटक विभेद व्यहोरेको उनको अनुभव छ। ‘पार्टीभित्र र विभिन्न सरोकारवाला निकायबीचमा पनि महिलालाई हेर्ने दृष्टीकोण र विश्वास गर्ने वातावरण फरक भयो। पुरुष नेताहरू स्वभावैले कार्यकर्तासँग बसेर खाइपिइ गर्छन्। रातको बेला पनि गइदिने र रमाइलो गरिदिने गर्छन्। उधारो भए पनि सहयोग गर्छन्,’ उनले भनिन्, ‘मैले त्यसो गर्न सकिनँ। महिला भएपछि पैसा खर्च गर्न सक्दिनँ, कार्यकर्तासँग सामिप्यता हुँदैन भन्छन्। माथिल्लो तहको कर्मचारीसँग नेताहरूले गेट टुगेदर गर्नुपर्छभन्दा रहेछन्। मैले त्यो गर्न सकिनँ। फेस टू फेस त मैले विभेद भोगिनँ। तर, म महिला भएर यसरी हेरेको होला कि भन्ने महसुस भने गरें।’







