१ कार्तिक , काठमाडौं । बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा कास्य पदक जितेको छ । मंगलबार भएको खेलमा लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गर्दै बागमतीले कास्य पदक जितेको हो ।
पोखरा रंगशालामा लुम्बिनी प्रदेशले दिएको ८८ रनको लक्ष्य बागमती प्रदेशले १६ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । बागमतीको जितमा सुमन खतिवडाले सर्वाधिक ४१ बनाइन । त्यस्तै अस्मिता खरेलले २० रन जोडिन् ।
लुम्बिनीका लागि कृतिका मरासिनीले २ तथा सुस्मिता भुषालले १ विकेट लिइन् । यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८७ रन बनायो । लुम्बिनीका लागि कप्तान सरस्वती जीएमले ३० रन बनाउनु बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बागमतीका लागि विपिशा शाहीले ४ तथा खुसी डंगोलले ३ विकेट लिएका थिए । आज नै स्वर्णका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब खेल्दै छन् ।







