काठमाडौँ, साउन ३ — अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, विद्यालय तथा शिक्षक–कर्मचारीलाई सम्मान गरेको छ।
राजधानीको शेषमतीस्थित दियालो फुडल्यान्डमा आयोजित “बधाई तथा सम्मान कार्यक्रम–२०८३” मा ४.०० GPA प्राप्त गर्ने विद्यार्थी, उत्कृष्ट औसत GPA हासिल गर्ने विद्यालय तथा विषयगत रूपमा उल्लेखनीय नतिजा दिलाउने शिक्षकहरूलाई सम्मान गरिएको हो।
कार्यक्रमको उद्घाटन तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन ले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। उहाँले विद्यार्थीहरूलाई राष्ट्रको भविष्यका रूपमा चित्रण गर्दै गुणस्तरीय शिक्षाको प्रवर्द्धनका लागि स्थानीय सरकार र संस्थागत विद्यालयबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।
शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंका प्रमुख सुरेश कुमार जोशी ले विद्यार्थी, अभिभावक र विद्यालयको संयुक्त प्रयासले उत्कृष्ट नतिजा सम्भव भएको उल्लेख गर्दै आगामी दिनमा नैतिक र व्यवहारिक शिक्षामा थप ध्यान दिनुपर्ने धारणा राख्नुभयो। तारकेश्वर नगरपालिकाका शिक्षा शाखा प्रमुख सुदिनराज बुढाथोकी ले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयको शैक्षिक स्तर अझ सुदृढ बनाउन विभिन्न रणनीतिक पहल भइरहेको जानकारी दिनुभयो।
ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्का ले संस्थागत विद्यालयहरूले गुणस्तरीय शिक्षामा निरन्तर जोड दिइरहेको र यस वर्षको नतिजाले त्यसको सकारात्मक संकेत दिएको बताउनुभयो।
उहाँले विद्यार्थीको सफलतामा शिक्षक र कर्मचारीको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै सिर्जनात्मक तथा व्यवहारिक शिक्षालाई केन्द्रमा राखेर आगामी कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।
राष्ट्रिय गानसँगै सुरु भएको कार्यक्रममा ओप्सका संयोजक रबिन बस्नेत ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। सृजना ज्ञानसागर विद्यालयका विद्यार्थीहरूले स्वागत गीत तथा न्यू एरा एकेडेमीका विद्यार्थीहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए।
४.०० GPA प्राप्त गर्ने विद्यार्थी सम्मानित
कार्यक्रममा विभिन्न विद्यालयका ४.०० GPA प्राप्त विद्यार्थीहरूलाई खादा, टोपी र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो। तारकेश्वर क्षेत्रका एन्जल्स हार्ट, हिम रश्मी, कौशल, नर्थ प्वाइन्ट, सेक्रेड हार्ट, सृजना ज्ञानसागर, न्यू एरा लगायतका विद्यालयका विद्यार्थीहरूले उत्कृष्ट सफलता हासिल गरेका छन्।
औसत GPA का आधारमा उत्कृष्ट विद्यालय
विद्यार्थी संख्याका आधारमा विद्यालयलाई दुई समूहमा विभाजन गरी उत्कृष्ट औसत GPA हासिल गर्ने विद्यालयलाई अवार्ड प्रदान गरिएको थियो।
५० जनासम्म विद्यार्थी भएका विद्यालयतर्फ:
मन्जरी सेकेन्डरी स्कुल (बुढानिलकण्ठ) — प्रथम
नर्थ प्वाइन्ट एकेडेमी (तारकेश्वर) — द्वितीय
विभूति विद्या मन्दिर (वनस्थली) — तृतीय
५० भन्दा बढी विद्यार्थी भएका विद्यालयतर्फ:
हिम रश्मी हाई स्कुल (तारकेश्वर) — प्रथम
प्रारम्भा वर्ल्ड स्कुल (तारकेश्वर) — द्वितीय
एन्जल्स हार्ट स्कुल (तारकेश्वर) — तृतीय
विषयगत उत्कृष्ट शिक्षकलाई सम्मान
विद्यार्थीलाई सम्बन्धित विषयमा उत्कृष्ट अंक दिलाउन योगदान पुर्याउने शिक्षक–शिक्षिकालाई पनि सम्मान गरिएको थियो। अंग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिक शिक्षा, वातावरण विज्ञान तथा एकाउन्ट विषयका शिक्षकहरूलाई विशेष सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
‘ओप्स दीर्घ सेवा पदक’ प्रदान
ओप्समा आबद्ध भई लामो समयदेखि सेवा गर्दै आएका २४ जना शिक्षक तथा प्रशासनिक कर्मचारीलाई “ओप्स दीर्घ सेवा पदक” र सम्मानपत्र प्रदान गरिएको थियो। शिक्षा क्षेत्रमा दीर्घकालीन योगदान पुर्याउने व्यक्तित्वप्रति कृतज्ञता व्यक्त गर्ने उद्देश्यले उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमको समापन ओप्सका उपाध्यक्ष विष्णुचन्द्र अधिकारी को धन्यवाद ज्ञापनसँगै गरिएको थियो। सम्मान समारोहले विद्यार्थी, शिक्षक र विद्यालय समुदायबीच उत्साह र प्रेरणाको वातावरण सिर्जना गरेको सहभागीहरूले बताएका छन्।



















