काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं. २६ ले एक वर्षअघि नै ‘नियर फिल्ड कम्युनिकेसन’ (एनएफसी) प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली सुरु गरेको थियो। वडालाई प्रविधिमैत्री बनाउने उद्देश्यले २०८२ असोज २९ गते उक्त प्रणालीको शुभारम्भ गरिएको थियो।
डिजिटल ठेगाना प्रणालीको शुभारम्भ गर्दै काठमाडौं महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष एवं महानगरपालिका सुशासन समितिका संयोजक ख्यामराज तिवारीले यो प्रणाली जडान भएपछि वडाभित्रका घरहरूको विस्तृत विवरण सहज रूपमा प्राप्त गर्न सकिने बताएका थिए।
वडाध्यक्ष तिवारीले लैनचौरस्थित वडा कार्यालयमा डिजिटल नम्बर ‘०९ लक्ष द्रव्य ६१११’ कोडसहितको विवरण समावेश गरिएको सूचनापाटी (नम्बर प्लेट) जडान गरेर प्रणालीको शुभारम्भ गरेका थिए।
वडा नं. २६ अन्तर्गत लैनचौर, गल्कोपाखा, ठमेल, कपुरधारा, सामाखुसी, रानीबारी, नयाँबसपार्कलगायत क्षेत्र पर्दछन्। महानगरपालिकाले विगत दुई दशकदेखि लागू गर्दै आएको मेट्रिक ठेगाना प्रणालीलाई थप प्रविधिमैत्री बनाउँदै एनएफसी प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली सुरु गरिएको हो।
नयाँ प्रणालीमा पुरानो ठेगाना तथा बाटोको नाम यथावत् राख्दै क्युआर कोड र चिप्ससहितको नम्बर प्लेट जडान गरिने व्यवस्था गरिएको छ। उक्त नम्बर प्लेटमा नेपाली स्थानीय कोडसँगै युनिभर्सल गुगल प्लस कोडसमेत समावेश गरिने वडाध्यक्ष तिवारीले बताएका थिए।
डिजिटल ठेगाना प्रणालीमार्फत फोहोर सङ्कलनसम्बन्धी जानकारी दिन, तथ्याङ्क सङ्कलन गर्न तथा स्थानीयस्तरमा सूचना प्रवाह गर्न सहज हुने वडा कार्यालयले जनाएको थियो। साथै, विपद् व्यवस्थापन, राजस्व सङ्कलन र वडास्तरीय योजना तर्जुमा गर्नसमेत प्रणालीले सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो।
वडासचिव केदार रिमालका अनुसार वडा नं. २६ भित्रका ६ हजार ८५० घरधुरीमा डिजिटल ठेगाना प्रणाली जडान गर्ने योजना रहेको थियो। उक्त प्रणाली जडानका लागि ४५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको थियो। घर थपिँदै गएसँगै डिजिटल ठेगाना प्रणाली क्रमशः विस्तार गर्दै जाने वडा कार्यालयले जनाएको थियो।
यो प्रणाली काठमाडौं महानगरपालिकामा डिजिटल ठेगाना प्रणाली सुरु गर्ने पहिलो वडा नं. २६ को पहलका रूपमा सार्वजनिक गरिएको थियो।






