काठमाडौं । काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत नियमविपरीत साइलेन्सर तथा अन्य पाटपुर्जा परिवर्तन गरी ध्वनि प्रदूषण गराउने मोटरसाइकलहरू नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिइएका मोटरसाइकललाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार कारबाही गरिने प्रहरीले जनाएको छ। कारबाहीका क्रममा ती मोटरसाइकललाई कम्पनीले निर्धारण गरेको मूल स्वरूपमा फर्काउन लगाइनेछ। आवश्यक प्रक्रिया पूरा भएपछि मात्र सम्बन्धित धनीलाई मोटरसाइकल फिर्ता गरिनेछ।
सवारी साधनको स्वरूप परिवर्तन गरी अत्यधिक आवाज निकाल्दा ध्वनि प्रदूषण बढ्नुका साथै सर्वसाधारणको स्वास्थ्य र दैनिक जनजीवनमा समेत प्रतिकूल असर पर्ने भएकाले यस्तो कार्य नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेको निर्देशनमा सञ्चालन भइरहेको यस अभियानलाई निरन्तरता दिइने कार्यालयले जनाएको छ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सवारीधनी तथा चालकलाई कम्पनीले निर्धारण गरेको मापदण्डअनुसार नै सवारी साधन सञ्चालन गर्न र गैरकानुनी रूपमा स्वरूप परिवर्तन नगर्न अनुरोध गरेका छन्।

default






