काठमाडौं । संवेदनशील सूचना चुहावट गरेको आरोपमा सरकारले सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई पदबाट निलम्बन गरेको छ।
गृह मन्त्रालयका अनुसार दाहालले पदीय आचरणविपरीत कार्य गर्नुका साथै संवेदनशील सूचना चुहावट गरेको आरोपमा निलम्बन गरिएको हो। स्रोतका अनुसार दाहालमाथि अनुसन्धानका क्रममा मुख्यतः दुई विषय देखिएका छन्। पहिलो, पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको सम्पर्क र दोस्रो, झापाका इनम सापकोटासँगको कनेक्सन।
स्रोतका अनुसार असोज ११ गते राति पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएर टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुर्याइएको केही समयमै एआईजी दाहाल त्यहाँ पुगेका थिए। उनले चेन अफ कमाण्डसमेत पालना नगरी प्रहरी कार्यालय पुगेको विषयमा अनुसन्धान अघि बढाइएको बताइएको छ।
त्यसैगरी, प्रहरीको विशेष ब्युरोको अनुसन्धानका क्रममा दाहाल झापाका इनम सापकोटासँग सम्पर्कमा रहेको खुलेको स्रोतको दाबी छ। अनुसन्धानमा सापकोटामार्फत दाहालले पूर्वप्रधानन्यायाधीश जबरालाई संवेदनशील सूचना ‘सेयर’ गरेको देखिएको बताइएको छ।
अनुसन्धानका क्रममा सापकोटालाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो। उनको मोबाइलबाट दाहालले विभिन्न विषयमा सूचना आदानप्रदान गर्ने गरेको देखिएको स्रोतले जनाएको छ।
यस विषयमा गृह मन्त्रालयले जाँचबुझ अधिकृत तोकेर छानबिन अघि बढाउने निर्णय गरेको छ। जाँचबुझ अधिकृतलाई तीन दिनभित्र अनुसन्धान गरी मन्त्रालयमा प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ। सरकारले तयार गर्ने प्रतिवेदनमा पूर्वप्रधानन्यायाधीश जबरा, एआईजी दाहाल र सापकोटाबीचको सम्पर्क तथा सूचना आदानप्रदानसम्बन्धी तथ्य समेटिने तयारी गरिएको छ।
यसअघि असोज ११ गते राति सरकारले सुरक्षा थ्रेट रहेको भन्दै पूर्वप्रधानन्यायाधीश जबरालाई घरबाटै नियन्त्रणमा लिएको थियो। करिब १२ घण्टा प्रहरी नियन्त्रणमा राखिएपछि उनलाई छाडिएको थियो।








