काठमाडौं । सरकारले भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ बजेट आवश्यक पर्ने ठहर गरेको छ।
सोमबार प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले उक्त बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो।
पुनर्निर्माण तथा पुनर्स्थापनाअन्तर्गत विभिन्न मन्त्रालय तथा निकायबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रम सञ्चालन गरिने भएका छन्।
बैठकमा प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनको काम सङ्घ, प्रदेश र स्थानीय सरकारबीचको आपसी समन्वयमा भइरहेको भन्दै अब पुनर्निर्माण तथा पुनर्स्थापनाका काम पनि तीनै तहको समन्वयमा अघि बढाइने बताएका छन्।
गत भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको थियो। त्यसपछि प्रभावित क्षेत्रमा पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि सरकारले आवश्यक योजना अघि बढाएको हो।
थप अपडेटका लागि हेर्दै रहनुहोस् News24Galaxy !








