१५ जेठ , बाजुरा । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका-३ जुकोटमा शुक्रबार पहिरो खस्दा पाकेको गहुँ बाली बगाएको छ ।
निरन्तर आएको अविरल वर्षाका कारण पहिरो गएपछि गहुँ र जौ बगाएको हो । अविरल वर्षाले वाई कुलो नजीकै पहिरो बगेपछि गहुँ, जौँ बालीमा पूर्ण रुपमा क्षति पुर्याएको स्थानीयवासीले बताएका छन् । वर्षाले घट्टे खोलादेखि वाईसम्मको सिंचाइ कुलोको पानीको वहाव बढेपछि कुलोमुनिबाट पहिरो बगेको स्थानीयवासीको भनाइ छ ।
पहिरोले पाकेको गहुँ बाली बगाएपछि किसान चिन्तित भएका छन् । बाली भित्र्याउने समयमा पहिराले कोरी लुछी बगाएपछि किसानलाई भोकमरीको चिन्ता बढेको छ । उक्त स्थानका करिब २० परिवारको गहुँ, जौ बालीमा क्षति पुगेको स्थानीयवासीले दुखेसो गरेका छन् ।
यस्तै २० घर पहिरोको उच्च जोखिममा रहेको स्थानीयवासी मेघराज शाहीले बताए । उनका अनुसार गाउँमाथि रहेको खेतबारीमा पाकेको गहुँ, जौलगायत बाली नष्ट भइसकेको र अझै वर्षा नरोकिएमा पहिरो आएर घर बगाउने जोखिम रहेको छ ।