आगो प्रविधा
हो लघु विधा
भन्ने बुझियो
पढ्न बसियो ।।
कवि गजलकार एवम् महाकाव्यकार डा. ध्रुवप्रसाद गजुरेल सरको नवीनतम कीर्ति “आगो रामायण” हातमा पर्यो । लघु विधाका बारेमा कुराकानी पनि गरियो ।
उहाँलाई बधाई दिँदै छुटे र घर पुगेर कीर्तिभित्र आँखा डुलाउन थालेँ । वास्तवमा रामायण जस्तो महान् पौराणिक विषयमा लेख्ने सोच त्यसमाथि नितान्त नौलो ‘आगो प्रविधा’, जो पञ्चाक्षरी द्विपदीय ढाँचामा लेखिए आगो, मुक्तक शैलीमा लेखे मुक्तागो, गजल शैलीमा लेखे गजलागो र ४ हरफको श्लोक बनाएर लेखेमा श्लोकागो जस्तो जटिल बिषयमा हात हाल्नु भनेको आगोसँग खेल्नु बराबरको जोखिम उठाउनु सरह हो, जसलाई डा. ध्रुवप्रसाद गजुरेल सरले सहज रूपमा लिएर प्रारम्भ मात्र गर्नु भएन बरु नौ उप खन्ड अर्थात् सर्गहरूमा रामायणका कथाहरूलाई तोडमोड नगरी पुस्तकमा सुझाइएका सन्दर्भ सामाग्रीहरूलाई आधार बनाएर बडो दत्तचित्त भई अत्यन्त छोटो समयमा नेपाली साहित्यको बजारमा “आगो रामायण” महाकाव्य जस्तो कीर्ति दिनु भयो, म एउटा नेपाली साहित्यको विद्यार्थी र एउटा पाठकका दृष्टिले आफ्ना केही कुराहरू राख्ने जमर्को गर्दै छु ।
‘ध्रुव गजुरेल’ अर्थात कुनै काममा लागेपछि त्यो काम फत्ते गरेरै छोड्ने स्वभावका मान्छेको परिचय बनाएका सर्जकको यस नवीनतम कार्तिले बजर पिट्ला नपिट्ला अलग कुरा हो, अर्थात् भनौँ शास्त्रीय छन्दका लय र विधानका ढाँचामा उनिएका मात्र महाकाव्य हुन्छन् भन्ने स्थापित मान्यतालाई सहज रूपमा चिर्दै बालकृष्ण समको चिसो चूल्हो र मोदनाथ प्रश्रितको मानवमा महाकाव्यमा गरिएको प्रयोग जस्तै विधागत रूपमा नितान्त नौलो प्रयोग गरिनु नै आगोमा हात हाल्नु सरह नै थियो, जसलाई सर्जकले सहज रूपमा स्वीकार मात्र गरेनन् बरु लेखनीलाई मुहुर्त रूप दिएर पुस्तक नै बजारमा ल्याउन सफल भए, उप विधामा आगो रामायण पहिलो महाकाव्य नै बनेको खुसियालीमा महाकाव्यकार गजुरेललाई सहृदयी बधाई ।
यसभित्र कस्ता श्लोकहरू छन् त्यो यहाँ भन्दिनँ बरु किताब हात परेपछि तातोतातै पढ्नु होला भन्छु किन पनि भने सेलाएको आगोको अर्थ र उपादेयता त्यति रहन्न जति तातो हुँदामा रहन्छ । छोटो बसाइमा सबै कुरा पढ्न र व्यक्त गर्न भ्याइन्न । त्यसकारण थोरै मात्र भनेँ ।
त्यसो त शास्त्रीय छन्दमा आफूलाई हिँडाउन नसक्नेहरू मूल विधालाई भाँचेर लघु विधा अर्थात अनेक प्रविधातर्फ लाग्छन् भन्ने आरोपलाई धेरै हदसम्म खारेज गर्दै आगो प्रविधालाई समस्त पाठकका माझ प्रयोगात्मक रूपमा ल्याउने श्रेय र जस पनि डा. ध्रुवप्रसाद गजुरेलको यही आगो रामायण महाकाव्य कीर्तिलाई जान्छ ।
पाठकीय दृष्टिकोण राख्दा राख्दै छपाइको पाटोबाट फन्ट पाठक मैत्री हुन नसकेको लगायतका प्राविधिक पक्ष आगामी अङ्कहरूमा सुधारिएर जानेछन् भन्ने अपेक्षा सहित बिट मार्छु – धन्यवाद ।
-उत्तम विचार ।







