नेपाली कांग्रेसको सभापतिका लागि श्यामकृष्ण खड्गीले उम्मेदवारी घोषणा गरेका छन्।
काठमाडौंको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै खड्गीले आफू सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका हुन्। ‘नेपाली कांग्रेसको सभापतिको लागि आफूलाई योग्य जस्तो सम्झिएर मैले उम्मेदवारी घोषणा गरेको छु,’ खड्गीले भने।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ बाट महाधिवेशन प्रतिनिधि रहेका खड्गीले आफूले ४० वर्षअघि नेपाल विद्यार्थी संघ (नेविसंघ) को राजनीतिबाट यात्रा सुरु गरेको र त्यसयता निरन्तर नेपाली कांग्रेसको कार्यकर्ताका रूपमा सक्रिय रहेको बताए।
उनले देशमा लोकतन्त्र स्थापना र विधिको शासन लागू गर्न आफू निरन्तर सक्रिय रहेको दाबी गर्दै सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्।








