श्रावण १७ ,काठमाडौ । प्रारम्भिक बाल्यावस्था (गर्भावस्थादेखि आठ वर्षसम्म) मानव जीवनको सबैभन्दा संवेदनशील र महत्त्वपूर्ण चरण हो। यही अवधिमा बालबालिकाको शारीरिक, बौद्धिक, संवेगात्मक, सामाजिक तथा भाषिक विकासको आधार तयार हुन्छ। यस समयमा प्राप्त हुने स्याहार, माया, सुरक्षा र सिकाइले उनीहरूको भावी जीवनको दिशा निर्धारण गर्छ।
गर्भावस्थादेखि नै बालबालिकाको उचित स्याहार र विकासका लागि अनुकूल वातावरण सिर्जना गर्ने जिम्मेवारी अभिभावकको हुन्छ। अभिभावक भन्नाले आमाबुबामात्र नभई हजुरआमा, हजुरबुबा, दाइदिदी तथा अन्य स्याहारकर्तासमेत पर्छन्। बालबालिकाको पहिलो माया, पहिलो गुरु, पहिलो साथी र पहिलो संरक्षक अभिभावक नै हुन्।
बालबालिकालाई उचित पालनपोषण, स्याहारसुसार, स्वास्थ्य तथा सरसफाइ, सुरक्षा, खेल, उत्प्रेरणा, संवाद र स्नेहपूर्ण व्यवहार उपलब्ध गराउनु अभिभावकको प्रमुख दायित्व हो। साथै, उनीहरूको कानुनी हकअधिकार सुनिश्चित गर्न र सुरक्षित वातावरणमा हुर्किन सहयोग गर्नु पनि अभिभावकत्वको महत्त्वपूर्ण पक्ष हो। अभिभावकको स्नेह र मार्गदर्शनबिना शिशुको समुचित लालनपालन सम्भव हुँदैन।
विशेषगरी, बालबालिकाको भावना, संवेदनशीलता, आचरण, व्यवहार, स्वभाव, आत्मविश्वास, आत्मसम्मान, सिक्ने क्षमता तथा सामाजिक सम्बन्ध विकासमा अभिभावकको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ। त्यसैले बालबालिकाको पहिलो विद्यालय घर हो भने अभिभावक उनीहरूको पहिलो शिक्षक हुन्।



