२१ वैशाख, कैलाली । टीकापुरकी ४० वर्षीया अनिता (नाम परिवर्तन) का श्रीमानको कोरोना सङ्क्रमणका कारण संयुक्त अरब इमिरेट्सको दुबईमा मृत्यु भयो ।
उनी वैदेशिक रोजगारीका क्रममा दुबई थिए । तीन वर्ष दुबईमा रोजगारी गरेर घर फर्कने तयारीमा रहेका अनिताका श्रीमान् कोरोना सङ्क्रमणका कारण हवाई सेवा बन्द भएपछि फर्किन पाएनन् । आफ्ना ४१ वर्षीय श्रीमानसँग अनिताको अघिल्लो वैशाखको अन्त्यमा फोनमा कुराकानी भएको थियो । दुई दिनअघि टाउको दुखेको छ भनी फोन गरेका उनीसँग दुई दिनपछि फोन गर्दा उठेन । उनले फोन उठाउन छोडेपछि घर परिवारमा चिन्ता छायो ।
अनिताकी छोरीले उनीसँगै दुबईमा काम गर्ने साथीलाई फोन गरिन् । उनले कोरोना भाइरस सङ्क्रमण भएकाले अस्पताल लैजान लागेको खबर दिए । त्यसपछि १० दिनसम्म न दुबईबाट फोन आयो, न कसैसँग सम्पर्क भयो । यता परिवारमा पीडा थपियो । ११ दिनपछि गत वर्ष जेठ ६ गते उनले काम गर्ने कम्पनीका मालिकले फोनमै अनितालाई कोरोना सङ्क्रमणका कारण मृत्यु भएको खबर सुनाए ।
घर आउने तयारीमा रहेका श्रीमानको मृत्युको खबर अनितालाई असह्य भयो । उनी मुर्छित भइन् । छिमेकीले पनि अनिताले फोनमै रोइकराइ गरेको सुने । कोरानाका कारण उनको मृत्यु भएको खबर गाउँमा फैलियो । उनको परिवारमा मात्रै नभएर गाउँभरि शोक छायो । अनिताका दुई छोरी र एक छोरा छन् । जेठी छोरीको उमेर २१ वर्ष पुगेको छ भने कान्छी छोरी १८ वर्षकी भइन् । छोराछोरीहरुले बुबाका साथी र कम्पनीका मालिकलाई बुबाको शवको भिडियो वा फोटो देखाइदिन धेरै अनुरोध गरे, तर हेर्न पाएनन् ।
दुबईमा उनको मृत्यु भएको १६ दिनपछि त्यहाँको सरकारले नै उनको अन्त्येष्टि गर्यो । यता घरमा उनको काजक्रिया भयो । उनी विदेश जाँदा रु पाँच लाख ऋण लिएका थिए । उनको दुबईमा खासै कमाई पनि थिएन । ‘दुईरतीन महिनामा कहिले रु ४० हजार त कहिले रु ५० हजार पठाउँथे । त्यो रकम घरखर्चमै सकिन्थ्यो । श्रीमानले पठाएको रकम बचाएर अनिताले रु दुई लाख ५० हजार ऋण तिरिसकेकी थिइन् । रु दुई लाख ५० हजार ऋण तिर्न बाँकी नै थियो ।’ अनिताले सुस्केरा हाल्दै भनिन्, ‘तीन छोराछोरी छन् । घरको सम्पत्ति केही छैन । कमाउने आधार छैन । रोजगारीमा गएका श्रीमान् अर्काको देशमा बिते । मैले केही सोच्न सकिनँ । हामीले आत्महत्या गर्ने योजना बनायौँ ।’
‘म तीन महिनासम्म कहिल्यै पनि राम्ररी सुत्न सकिनँ । खाना खान मन लागेन । अरूसँग बोल्न पनि मन लागेन । सधैँ टोलाई मात्रै रहेँ’, उनले भनिन्, ‘त्यस समयमा त मैले मृत्यु मात्र विकल्प देखेँ, बाच्ने अरू कुनै आधार नै देखिन ।’ अनिताको मानसिक अवस्था बिग्रन थालेको चाल पाएपछि छिमेकीले कैलालीको लम्की घर भएका मनोसामाजिक परामर्शकर्ता धनराज विकलाई खबर गरे । धनराज हतार हतारमा अनिताको घर पुगे । उनले मनोसामाजिक परामर्श शुरु गरे । बल्ल केही दिनपछि अनिताको अवस्था सामान्य बन्यो ।
मनोसामाजिक परामर्शकर्ता धनराजले १० दिनसम्म लगातार अनिता र उनका छोराछोरीलाई परामर्श सेवा दिए । बिस्तारै अनिता शान्त भइन् । धनराजको सल्लाहमा उनले श्रीमानको बीमा रकम दाबी गरिन् । बीमाबाट रु १० लाख प्राप्त भयो । ‘बीमाको रकम पाएपछि श्रीमानले दुबई जाँदा लिएको ऋण तिरेँ । बचेको रकमले सानो घर बनाउन थालेकी छुँ’, उनले भनिन्, ‘समस्या त अहिले पनि छ । पढिरहेका दुई छोरी पढाइ छोडेर भारत कमाउन गएका छन् । मैले जन्मेपछि मृत्यु हुन्छ भन्ने नै बुझेँ । अब बाँच्छु । छोराछोरीको सहारा बन्छु ।’
अनिताकी कान्छी छोरी एसइई उत्तीर्ण भएकी छिन् । उनी कृषि विज्ञान विषय पढ्ने योजनामा थिइन् तर घरको आर्थिक अवस्था कमजोर भएकाले उनी पढाइ छोडेर कमाउनका लागि भारत गएकी छिन् । उनको पढ्ने सपना बुबाको मृत्युसँगै निम्तिएको गरिबीले तुहाएको छ ।
टीकापुरकै ४३ वर्षीय कविताको कथाव्यथा पनि उस्तै छ । उनका श्रीमान् शेरबहादुर शाही पाँच वर्षअघि रोजगारीका लागि मलेसिया गएका थिए । विश्वभर कोरोना महामारी फैलियो । कोरोना महामारीकै बीच उनले गत वर्ष मलेसियामै आत्महत्या गरे ।