३० कात्तिक, काठमाडौ । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजनाबाट उत्पादन थालिएपछि नेपालमा खपतभन्दा बढी विद्युतीय ऊर्जा उपलब्ध छ ।

छिमेकी मुलुक भारतलाई ३९ मेगावाट बिजुली बेच्न थालिएको छ । प्रसारणलाइन अभावमा अहिले १०० देखि ३०० मेगावाट विद्युत खेर गइरहेको छ ।

धेरैलाई लाग्नसक्छ– उसो भए के भारतबाट विद्युत आयात गर्नुपर्ने बाध्यता हटेको हो रु हिउँद र बर्खायाम दुवै सिजनमा हामी बिजुलीमा आत्मनिर्भर भइसकेका हौं रु निर्माणाधीन आयोजना सम्पन्न भएपछि उत्पादन हुने सबै बिजुली बेचेर नेपालले अर्बौं रुपैयाँ कमाउने बाटो खुलेको हो ? तर, यी प्रश्नलाई एकातिर र नेपालभित्रै ऊर्जा उत्पादन, माग, खपतस्थिति, नागरिकको पहुँच र व्यवसायिक उपयोग सम्भावनालाई एकातिर राखेर हेर्दा नेपाल विद्युतीय ऊर्जामा आत्मनिर्भर नभएको खुट्याउन सकिन्छ ।
देशमा अहिले साना-ठूला गरेर करिब १२० वटा आयोजनाबाट विद्युत उत्पादन भइरहेको छ । नदी बहावमा आधारित ९रन अफ द रिभर–आरओआर० प्रकृतिका आयोजनाबाट अहिले दैनिक साढे १३ सय मेगावाट विद्युत उत्पादन भइरहेको छ ।
यस्तै, पानी थुनेर राखी विद्युत माग बढी हुने समयमा खपत गर्नेखालका जलाशययुक्त आयोजनाबाट साढे १४ सय मेगावाटसम्म विद्युत उत्पादन हुनसक्छ । तर, हिउँद लागेसँगै यी आयोजनाको विद्युत उत्पादन क्षमता एक हजार मेगावाटभन्दा तल झर्छ ।
अघिल्लो महिना (असोज) सम्म दैनिक १७ सय मेगावाट र भदौ महिनासम्म १९ सय मेगावाट विद्युत उत्पादन हुँदै आएको थियो । नेपालका नदी मौसममा आधारित भएकाले जलविद्युत आयोजनाहरूबाट पनि वर्षायाममै धेरै विद्युत उत्पादन हुन्छ ।
वर्षायाम सकिएपछि नदीको बहाउ घट्दै जान्छ र बिजुली उत्पादनसमेत घट्छ । विशेषगरी पुषदेखि जेठसम्मको सुख्खायाममा बिजुली उत्पादन घट्ने प्राधिकरणका प्रवक्ता सुरेश प्रसाद भट्राईले बताए ।
सबैभन्दा ठूलो ४५६ मेगावाट क्षमतायुक्त माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट पनि सुख्खायाममा उत्पादन क्षमता घटेर जम्मा ९० मेगावाट बिजुली उत्पादन हुन्छ । यस्तै, १४४ मेगावाटको कालिगण्डकी जलविद्युत आयोजनाको उत्पादन क्षमता घटेर ४७ मेगावाटमा आउँछ ।





