Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीका डिएसपी जय रिमालको कविता : रातको प्रहरी

रात छिप्पीन लागेको छ,

एक निलो बर्दीधारी सुस्तरी आग्लो खोल्दै बाहिर निस्कन्छ,

झकाउन लागेको सन्तानले चिन्तित भावमा

“बाबा, कतिबेला फर्कने?” भन्ने जिज्ञासा सहित हेर्दा,

गेट समेत नि:शब्द हुन्छ,

सायद यसलाई पनि चित्त बुझेनछ क्यारे !

बहिनीको बिहेको सल्लाह हुँदै थियो,

पारीवारिक सल्लाह अपुरै थियो,

आफ्नो चाहना सुनाउन नपाएकी श्रीमती ठुस्किंदै थिइन,

उ भने अँध्यारो गल्लीमा, सुरक्षाका दीप जलाउँदै,

आफैंलाई समाहित गरी गस्ती गर्दै थियो ।

उसको पहरेदारीमा हजारौं परिवार निश्चिन्त निदाउँछन्,

पुलकित हुँदै घरी तन्द्रामा त घरी निद्रामा बरबराउँछन्,

आनन्दित हुन्छन्, सुगन्धित सपना देख्छन्,

तर उ भने, राष्ट्रको धड्कन बचाउन आफ्नै मुटु जलाउँदै छ ।

उ बोल्छ कम तर सुन्छ ज्यादा,

सायद प्रशिक्षणले उसलाई यस्तै बनाएको छ !

सम्झनाको भेल धेरै उर्लिन्छ उसको मनमा,

तर उपयुक्त निकास नभएकोले, मडारिन्छ निरन्तर ।

छोराछोरीको स्कूल फी नतिरेको धेरै भयो,

घरि घरी म्यासेज आइरहेको छ,

घरबेटीको रुखो बोली,

श्रीमतीको फाटेको ज्याकेट,

सस्तो तरकारी खोज्दै जाँदा पसलेले हेपेको,

दिनदिनै बढेको महंगीले ढाड सेकेको,

सबै एकाएक याद आउँछ,

तर जब यी सबैको व्यवस्थापन गर्ने वेतन सम्झन्छ,

उसमा छटपटी बढ्छ, बेचैनीले सीमा नाघ्छ ।

एक छिन सोचमग्न हुन्छ,

खुईय: गर्छ !

मनमनै भन्छ,

“धन्य, आजसम्म पेट पालिएछ !”

मोबाइल फोन निकाल्छ,

क्यामेरा सेल्फी मोडमा लगेर आफैंलाई हेर्दै प्रश्न गर्छ,

“यति धैरै त्याग र बलिदानी के का लागि ?

अस्ति तेरो साथीलाई अपराधीले कुटी-कुटी मार्दा,

परिवारलाई सहानुभुति दिन कोही आए ?

कानुन तोड्नेहरु सम्मानित भइरहँदा,

राज्यका अभिभावकले तिम्रो दैलो टेके ?

जागिर त परिवार र जीवन धान्नको लागि होला नि,

कर्मवीर सिपाहीको जीवन रहे-नरहेको अर्थ नहुने समाजमा

तैंले मात्रै बलिदानी किन दिनु पर्ने ?”

कानुनले भन्छ, “कर्तव्य पालना गर”,

कमाण्डरले भन्छन्, “कमजोर नबन्, मुकाबिला गर”,

बर्दीले भन्छ, “बलिदानी देउ, ईतिहास रच तर अपराधीसँग नभाग”,

अनि परिवारले भन्छ, “तँ नै हो हाम्रो सबथोक, वर्दी फुकाल, घर आइज,

बरु खेती किसानी गरेरै पालौंला हाम्रो पेट ।”

पेशा पनि गज्जब छ !

अपराधीसँग कठोर बन्नुपर्ने अनि सेवाग्राहीसँग कोमल,

सेवाग्राही पिच्छे फरक-फरक अभिनय गर्नुपर्ने,

मान्छे एक तर व्यवहार अनेक !

बहुरुपी स्वभावको नक्कल गर्दा-गर्दै, उ आफैं पिपल पाते बनेको छ ।

कसैको वियोग, कसैको चीत्कार अनि कसैको पीडामा रुमलिँदै,

सहानुभूति बाँड्दै गर्दा रात छिप्पिंदै छन्,

कर्तव्यको कठोर हातले उसलाई तानिरहँदा,

न्याय र निष्पक्षताको व्रतले थकान भने बिर्साइरहेको छ ।

सोचमग्न भइरहँदा एउटा चित्कारले उ झस्कन्छ,

हठात्, आँखा उघार्छ,

कोही उसको अगाडी आएर सहयोग माग्दै गरेको देख्छ,

उसको अनुहार रगतले लपेटिएको छ अनि हात बाङ्गो देखिन्छ,

उ अतालिन्छ ! सायद दुर्घटनामा परेजस्तो छ,

हतारहतार गाडी बोलाई घाइतेलाई अस्पताल पठाउँछ ।

उ फेरी प्रश्न गर्न थाल्छ,

“के सबैतिरबाट पिल्सिने चांहि प्रहरी मात्रै हो ?

घर, परिवार, आफन्त, जवानी र व्यक्तिगत स्वतन्त्रता त्यागी,

रात/दिन, घाम/पानी, अनि ठण्डी/गर्मी नभनी,

वर्षौंसम्म नीलो वर्दीमा राष्ट्रको सेवा गर्नु के अपराध हो ?”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै