
२९ मंसिर , काठमाडौ । उमेरले ६० काटेका खगेश्वर सुवेदी दम्पत्तिलाई बारीभरि लटरम्म फलेको सुन्तला स्याहार्न भ्याइनभ्याइ छ ।
बिक्रीका लागि तयार भएको सुन्तलामा औसा किरा लाग्ने त्रासले सुवेदी दम्पत्ति बगानमा हुन्छन् । जैमिनी नगरपालिका–५ सर्कुवामा रहेको सुन्तला बगान सुवेदी परिवारको मुख्य आयस्रोत हो ।
झरेको सुन्तला गाड्ने, ओइलिएको पात झार्ने र बिरुवामा रोग लागे नलागेको हेर्ने उनीहरुको दैनिकी हो । गतवर्ष चार लाख रुपैयाँमा बिक्री भएको उनको बगानका लागि यसवर्ष पनि पोखराका व्यापारीले बैना लगाएका छन् ।
बागलुङ नगरपालिका–८ सिगानाका किसानलाई यतिबेला सुन्तला खरिदका लागि आएका व्यापारीसँग मोलमोलाई गर्न भ्याइनभ्याइ छ । सुन्तला बिक्री गर्न किसान हतारमा छन् । समयमै सुन्तला नटिपे नयाँ फूल नलाग्ने र अर्को वर्ष उत्पादनमा कमी आउने किसानलाई चिन्ता छ । सिगानाको सुन्तला खरिद गर्न व्यापारीलाई पनि उत्तिकै हतार छ ।
व्यापारी बगानमै पुगेर मोलमोलाइ गर्न थालेका छन् । पोखरा, चितवनदेखि बागलुङ र म्याग्दीसम्मका व्यापारी सुन्तला खरिद गर्न आउन थालेको सिगानाका किसान अनन्त खड्का बताउँछन् । ‘व्यापारी आएका छन्, तर बिक्री सुरु गरेका छैनौँ, पुसको पहिलो साताबाट बिक्री गर्नुपर्ला’, खड्काले भने । गत वर्षभन्दा यसवर्ष सुन्तलाको मूल्य बढ्ने आशामा किसान छन् । जैमिनीका खगेश्वर र सिगानाका अनन्त दुवैले गत वर्षभन्दा यसवर्ष बगान नै खरिद गर्ने व्यापारीलाई एक लाख रुपैयाँ मूल्य बढाएर दिने सोँच बनाएका छन् ।
सर्कुवामा सुवेदी परिवारको मात्रै ठूलो बगान छ । अरु आसपासका किसानले फुटकर बिक्री गर्छन् भने सिगानामा साना–ठूला गरी ७० बगान छन् । बजारसम्म पुर्याउँदा दोब्बर फाइदा लिन सकिने भएकाले व्यापारी यहाँको सुन्तलाप्रति आकर्षित हुने सुवेदी बताउँछन् । गतवर्ष बगानमै ठेक्का लिँदा प्रतिकिलो ४० रुपैयाँ देखि ५० सम्ममा सुन्तला बिक्री भएको थियो । यस वर्ष मूल्य बढेर ६० देखि ७० रुपैयाँ पुग्ने आशा किसानमा छ ।





