१५ बैशाख , काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन भयरहित बनाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
प्रहरी प्रधान कार्यालयबाट बुधबार भर्चुअल रूपमा आफ्नो धारणा राख्दै उहाँले एकै चरणमा हुन लागेको स्थानीय तह निर्वाचनलाई शान्तिपूर्वक एवं निष्पक्षरूपमा सम्पन्न गराउन पूर्ण सजगताका साथ भूमिका निर्वाह गर्न निर्देशन दिनुयभो ।
प्रहरी कर्मचारीले संगठनको हितका लागि विधिसम्मतरूपले इमान्दारी, निष्ठा र पूर्ण व्यावसायिकता निभाउनुपर्नेमा जोड दिनुभयो । संगठनको प्रणाली, कार्यविधि, नीतिलगायत संगठनको सुधारका निम्ति तयार गरिएको कार्ययोजना एवं मापदण्ड लागू गर्न सबै प्रहरी कर्मचारीको भूमिका रहने उल्लेख गर्दै उहाँले आगामी दिनमा समेत स्वअनुशासन र चरित्र अंगीकार गर्दै थप क्रियाशील रहन आग्रह गर्नुभयो ।
उक्त कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका प्रमुख, संघीय प्रहरी एकाइ कार्यालयका प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा ट्राफिक प्रहरी कार्यालयका प्रमुखको सहभागिता थियो ।








