२९ भाद्र , काठमाडौँ । मंगलवारको कान्तिपुर दैनिकमा ” लप्चीमा भोकमरीको डर ” शीर्षक पढी केही लेख्न मन लाग्यो । दोलखाको लप्ची गाउँ चीनको सीमाना नजिक पर्दछ ।
प्रजातन्त्र आएको पनि यतिका वर्ष भइसक्यो, कँही कँही नेताका पौंच पुगेको गाँउबस्तीहरुमा पनि बिकासको लहर छाएको छ भलै दुर्गम किन नहोस ! नेताकै नजिक हुने मानिसहरुले रोजगारीसमेत पाएर आत्मनिर्भरताको बाटो अँगालेका छन भने लप्ची जस्तो दुर्गम गाँउमा भने त्यहाँका जनताको रोजगारीका अवसरहरुको त टाढाको कुरा , दैनिक अत्यावश्यक उपभोग्य बस्तुहरुबाटसमेत बन्चित हुनुपरेको अवस्था छ । संचार माध्यामको पंहुच नहुने, यातायातको अभाव, अस्पत्तालको असुबिधा तथा स्वास्थ्य, शिक्षा, बिजुली र बाटो नभएको त्यो दुर्गम गाँउका मानिसहरुको कथा ब्यथा सोचिनसक्नुको छ ।
कोही मानिस बिरामी भयो भने खवर गर्नै तीन दिन लाग्ने यस्तो बिडम्बना ! सायद, नेपालका अन्य भागहरु बिरलै पाइन्छन होला । तसर्थ, राज्य संचालन गरेर बसेका नेताहरु सत्ता, शक्ति र कुर्चीको वरिपरि बुर्कुसी मारिरहन्छन । सिंहदरवारकेन्द्रीत रहेर आफू र आफ्ना नातागोता, इष्टमित्र, देवता पित्र, परिवार, अनि पार्टीका कार्यकर्तालाई लाभको पदमा पुर्याउन सदैव तत्परता देखाउने नेताहरु जहाँ ब्यक्तिको पंहुच पुग्छ , त्यहाँ बिकासले पनि कोल्टे फेर्छ तर लप्ची जस्ता दुर्गम गाँउबस्तीहरु भने संधै राज्यबाट प्राप्त गरिने सेवासुबिधाहरुबाट टाढा रहेकाले यसतर्फ नेताहरु तथा सम्बन्धित निकाएको टड्कारै ध्यान जान जरुरी छ ।
-खिमराज गिरी



