१६ मंसिर , काठमाडौं । पहिला पहिला भन्ने चलन थियो : ” जसका भैंसी उसको बन, जसका छोरा उसैका धन ” पुरुषप्रधान समाजमा ती कुराहरु तत्कालिन समयमा पाच्य भएपनि विभिन्न समयमा देशको सामाजिक तथा राजनीतिक अवस्थाको परिवर्तनसँगै प्रजातन्त्र र अहिले हामी गणतान्त्रीक शासन ब्यवस्था अवलम्बन गर्दैछौं । पहिला पहिला समाजमा प्रतिष्ठित ब्यक्ति जनताका प्रतिनिधि हुन्थे तर जव नेपालमा प्रजातन्त्रको उदय भयो त्यसपछि राजनीतिक क्षेत्रमा पनि जनताका प्रतिनिधिकोरुपमा ठेकेदार, डन, मनी र मसल भएका ब्यक्तिले प्रश्रय पाउन थाले । बिगत झै अहिलेको चुनावमा पनि प्रतिनिधिसभा र प्रदेश सभामा १९ जना ठेकेदारहरुले जनताको प्रतिनिधित्व गरेका छन ।
विभिन्न संसदीय समितिमा बसेर मन्त्री पदको लागि उनीहरुकै हालीमुहाली चल्छ । नेपालको राजनीतिमा स्थानीय तहदेखि जसको बढी दाम उसैको बन्छ काम भनेजस्तो नीति निर्माण तहमा उनीहरुकै तजविजले काम चल्ने भएपछि हरेक ब्यवसायमा उनीहरुकै बर्चश्व कायम रहने नै भयो अनि सर्वसाधारण जनताको दैनन्दिनी कसरी परिवर्तन हुन्छ त ? रसुवा, कालिका, पप्पु, कान्छाराम, बुद्व हिमाली, जयदेवी एसएस , त्रिशक्ति निर्माण सेवा, बीएन बिल्डर्स प्रा. लि. आदि कन्स्ट्रक्सनका मालिकहरुको हरेक पटकको निर्वाचनमा बोलवाला चल्दै आइरहेको छ । संबिधानमा जोसुकै ब्यक्ति पनि प्रचलित निर्वाचन ऐन कानुन तथा नियमावलीको परिधिमा रहेर उमेदवार बन्न पाउँछन् । तथापी निर्वाचित भइसकेपछि आफुनुकूलको स्वार्थमा लिप्त नभई जनताको समस्या पहिचान गरी समाधानतिर लाग्नुको सट्टा आगामी चुनावको लागि खर्च जोहो गर्न राज्यको धन लुट्नतिर लाग्ने हो भने जनताले उनीहरुबाट के अपेक्षा गर्ने ? अनि हामी जनताले के भन्ने त निश्चित ब्यक्तिहरुको स्वार्थमा झुम्मिने ठेकेदारतन्त्र कि जनताको प्रतिनिधिले शासन गर्ने प्रजातन्त्र ?


