२५ मंसिर , काठमाडौ । ‘ज्योतिष अद्वैत का विज्ञान’ नामक पुस्तक नै स्कूली पाठ्यक्रम बाहिरको पहिलो पुस्तक पढेको सम्झना छ मलाई। भारतमा आपतकालका समय थियो। इन्टरनेटको त के कुरा टेलिफोन, टेलिभिजनकै नाम सुनेको थिइन। घरमा रेडियो हुने नै त्यसबेला ठूलो मानिस हुन्थ्यो।
पुस्तक पनि अहिलेको जस्तै सर्वसुलभ र सस्ता कहाँ हुनु र ! मानिसले आफ्नो लुगाभन्दा पुस्तकको बढी हेरचाह गर्थे। पुस्तक पढ्ने मानिसलाई टोल -छिमेक, गाउँ शहरमै विशिष्ट नजरले हेरिन्थ्यो।
मेरा एक जना स्कूले साथीका काका डाक्टर थिए। उनको आफ्नै क्लिनिक थियो। ११-१२ वर्षकै उमेरमा मलाई उनको क्लिनिकमा बसेर गफ चुट्दै चिया खाने सम्मान प्राप्त थियो। गीतकारदेखि संगीतकार हुँदै १९५० देखि त्यस बेलासम्मका भारतीय सिनेमा र हिन्दी साहित्य एवम हिन्दीमा अनुदित अन्य साहित्यिक पुस्तकबारे स्कूले साथीका डाक्टर काकासँग मात्रै नभएर बुवाका अन्य साथीहरूसँग पनि मेरो उठबस हुन्थ्यो। यस सबैका पछाडि मूल कारण मेरो किताब पढ्नु र माग्नेहरुलाई उपलब्ध गराई दिनु रहेको थियो।
एक दिन फिल्म प्यासाबारे चर्चा हुँदै गर्दा त्यसका गीतबारे चर्चा भयो। फिल्मका गीत साहिर लुधियानवीले लेखेका थिए। सचिनदेव वर्मनको संगीतमा गीता दत्तले गाएको ‘जाने क्या तूने कही, जाने क्या मैंने सुनी’ र ‘आज साजन मोहे अंग लगा ले’, हेमन्त कुमारले गाएको ‘जाने वह कैसे लोग थे जिनके प्यार को प्यार मिला’ एवम मोहम्मद रफीको आवाजमा ‘यह दुनिया अगर मिल भी जाए तो क्या है’ का साथै जिन्हे ‘नाज है हिन्द पर वो कहाँ है’ माथि चर्चा परिचर्चा भयो।
डाक्टर काकाले भन्नु भयो, तिमीलाई थाहा छ ‘जिन्हे नाज है हिन्द पर वो कहाँ है’ गीत नेहरूमाथि व्यंग्य गर्दै लेखिएको थियो नि ! गीत त होइन, साहिरले व्यंग्यमा एउटा नज्म लेखेका थिए – ‘चकले’। गुरुदत्तले त्यसै नज्मलाई गीतका रूपमा ढालेका थिए।
‘कविता, गीत,गजल त सुनेको थिए यो नज्म के हुन्छ ?’
यो पनि साहित्यको एउटा विधा हो। त्यों नज्म सुन्नुहुन्छ ?
के तिमीलाई याद छ ?
किन नहुनु ल सुन्नुस –
ये कूचे, ये नीलामघर दिलकशी के
ये लुटते हुए कारवाँ जिन्दगी के
कहाँ हैं, कहाँ है, मुहाफिज ख़ुदी के
सना ख्वाने तकदीसे मशरिक कहाँ है
ये पुरपेच गलियाँ, ये बेख्वाब बाजार
ये गुमनाम राही, ये सिक्कों की झन्कार
ये इस्मत के सौदे, ये सौदों पे तकरार
सना ख्वाने तकदीसे मशरिक कहाँ है
ताउफुन्न से पुर नीम रौशन ये गालियाँ
ये मसली हुई अधखिली ज़र्द कलियाँ
ये बिकती हुई खोखली रंग-रलियाँ
सना ख्वाने तकदीसे मशरिक कहाँ है
वो उजले दरीचों में पायल की छन-छन
तनफ्फुस की उलझन पे तबले की धन-धन
ये बेरूह कमरों में खाँसी की ठन-ठन
सना ख्वाने तकदीसे मशरिक कहाँ है
ये गुँजे हुए कहकहे रास्तो पर
ये चारो तरफ भीड़ सी खिडकियो पर
ये आवाज खींचते हुए आंचलों पर
सना ख्वाने तकदीसे मशरिक कहाँ है
ये फूलों के गजरे, ये पीकों के छींटे
ये बेबाक नजरें, ये गुस्ताख फिकरे
ये ढलके बदन और ये मदकूक चेहरे
सना ख्वाने तकदीसे मशरिक कहाँ है
ये भूखी निगाहें हसीनो की जानिब
ये बढ़ते हुए हाथ सीनो की जानिब
लपकते हुए पाँव जीनो की जानिब
सना ख्वाने तकदीसे मशरिक कहाँ है
यहाँ पीर भी आ चुके हैं, जवाँ भी
तनोमंद बेटे भी, अब्बा, मियाँ भी
ये बीबी भी है और बहन भी है, माँ भी
सना ख्वाने तकदीसे मशरिक कहाँ है
मदद चाहती है ये हब्बा की बेटी
यशोदा की हमजिंस, राधा की बेटी
पयम्बर के उम्मत, जुलेखा की बेटी
सना ख्वाने तकदीसे मशरिक कहाँ है
बुलाओ खुदा याने दी को बुलाओ
ये कुचे, ये गलियाँ, ये मंजर दिखाओ
सना ख्वाने तकदीसे मशरिक को लाओ
सना ख्वाने तकदीसे मशरिक कहाँ है
मेरो हिन्दी र उर्दूको उच्चरण सुनेर काकाश्री आवाक भए, होइन तिमीले यो सब कहाँबाट थाहा पाउछौ ?
मैले हातमा रहेको पुस्तक देखाउँदै भने – अहिलेसम्म हाम्रो समयले यो बाहेकको अन्य कुनै स्रोत उपलब्ध गराएको छैन। बाँचियो भने ३०-३५ वर्षपछि विज्ञानले पुस्तक बोक्ने झंझटबाट मुक्ति दिन्छ होला ।
मेरो हातबाट उनले पुस्तक लिएर हेरे – ‘अजहूँ चेत गँवार’
‘तिमी भगवान् रजनीशलाई पनि पढ्छौ ? के बुझ्छौ तिमीले ??’
मैले आचार्य रजनीशलाई पढेको हूँ। शायद मैले चाहे जतिको बुझ्छु र मैले आफ्नो क्षमताभन्दा बढी किन बुझ्नु परयो !
माथिको सबै गन्थन बाहियात हो। शायद मभित्र रहेको अहम्ले म बाल्यकालदेखि नै पढाकु थिए भन्ने दम्भ प्रदर्शन हेतु लेख्न रमाए।
ओशो विषयक चर्चा गर्ने मनशाय हो। उनको पहिलो पुस्तक ‘ज्योतिष अद्वैत का विज्ञान’ नै पढेको हुँ, त्यसपछि के के पढें झण्डै ९० प्रतिशत सम्झिन्छु तर दोस्रो – तेस्रो कुन पढें यो स्मृतिमा छैन।
‘अजहुँ चेत गँवार’ शायद ‘टप टेन’ भित्रको पुस्तक थियो।
म बसेको उत्तर प्रदेशको सानो ठाउँमा पुस्तक पसल थिएनन। हरेक शनिवार म नजिकको जिल्ला सदरमुकाम पुग्थे। त्यहाँका पुस्तक पसलमा सजाएर राखिएका ओशोका पुस्तकको शीर्षकले मलाई तान्थ्यो।
के ‘अजहुँ चेत गँवार’ शीर्षक अथवा वाक्यले तपाईंको मन मस्तिष्कलाई तरंगित बनाएन ? १२-१३ वर्षे बालकलाई यस्ता शीर्षक भएका पुस्तकले तान्यो भने के अचम्म !!
ओशोले भारतीय सन्त परम्पराका अनेकन सन्तमाथि बोल्नु भयो। ओशोले बोलेको अधिकांश सामाग्री पुस्तकाकार रूपमा प्रकाशित भयो। ‘अजहुँ चेत गँवार’ संत पलटुदासमाथि ओशोले दिएको व्याख्यानमालाको संकलन थियो। यसै सन्दर्भको व्याख्यानमालाका अन्य मोतीको पुस्तक शीर्षक थिए – ‘सपना यह संसार’ र ‘काहे होत अधीर’।
‘महावीर या महाविनाश’ शीर्षकले टाउकोमै बज्र प्रहार गर्दैन र ? ‘मरो हे जोगी मरो’ शीर्षकले तानेर पुस्तक पढ्ने जोगी नै होइन, सामान्यजन पनि सजिलै बाच्न कहाँ सक्छ ? गोरखनाथमाथि बोल्दै ओशोले जे बोले, त्यो बोल्न सक्ने सामर्थ्य (मैले कन्टेटका हिसाबमा भनेको हुँ ) आज ३२ वर्षपछि पनि कसैसँग छैन। महावीरमाथि अन्य पुस्तक भने ‘ज्यों की त्यों धरि दीन्हीं चदरिया’, ‘महावीर मेरी दृष्टि में’ र ‘जिन सूत्र’ छन् ।
‘सम्भोग से समाधि तक’ पुस्तक धेरैले पढे होलान्। पुस्तक पढ्नेले ओशोको आलोचना गर्नुपर्दा यस पुस्तकको उल्लेख गर्दैनन् तर नपढेकाहरुले यसै पुस्तकको उल्लेख गर्दै उनलाई सेक्स गुरुको पगरी दिने चलन अझै विद्यमान छ। अहिले म पनि ओशोको आलोचक वर्गमा पर्छु तर उनलाई सेक्स गुरु भनी अपहेलना गर्दिन।
बाल्यकालदेखि युवावस्थासम्म ओशोका मोटा पुस्तक किनेर पढ्ने सामर्थ्य थिएन। पकेट बुक साईजका पुस्तक नै मेरो हैसियतमा आउँथ्यो । प्रारम्भिक शिक्षा भारतमा हिन्दी माध्यमबाट भएकोले कबीर, मीरा, दादू, सहजोबाई, दयाबाई, नानक, रसखान, दरियादास, फरीद , मलूकदास , धरमदास , रैदास , चरणदास ,शंकराचार्य आदि सन्तका बारे पाठ्यक्रमका पुस्तकले नै थाहा थियो। यी सन्तमाथि ओशोले बोलेका पुस्तक एकपछि अर्को नपढी रहन सकिन।
कबीरबारे ‘कस्तूरी कुंडल बसै’, ‘कहै कबीर दीवाना’, ‘कहै कबीर मैं पूरा पाया’, ‘मेरा मुझमें कुछ नहीं’,’गूंगे केरी सरकरा’, ‘सुनो भई साधो’, ‘होनी होय सो होय’, मीरामाथि ‘मैंने राम रतन धन पायो’, ‘झुक आई बदरिया सावन की, चरणदासबारे ‘नहीं सांझ नहीं भोर’, दादूबारे ‘पिव पिव लागी प्यास’, ‘सबै सयाने एक मत’, सहजोबाई माथि ‘बिन घन परत फुहार’, रैदासमाथि ‘मन ही पूजा मन ही धूप’, मलूकदासमाथि ‘रामदुवारे जो मरै’, ‘कन थोरे कांकर घने’, नानकबारे ‘एक ओंकार सतनाम’, धरमदासमाथि ‘का सोवै दिन रैन’, ‘जस पनिहार धरे सिर गागर’, दयाबाई माथि ‘जगत तरैया भोर की’, शंकराचार्यमाथि ‘भजगोविन्दम् मूढ़मते’, नारदबारे ‘भक्ति-सूत्र’, दरियादासबारे ‘अमी झरत विगसत कँवल’, ‘कानो सुनी सो झूठ सब’, फरीदबारे ‘अकथ कहानी प्रेम की’ पाउने बित्तिकै पढे।
यसै क्रममा नाम नसुनेका अनेकौ सन्त जस्तै भीखा – ‘गुरु परताप की संगति’, गुलाल – ‘ झरत दसहुँ दिस मोती’, यारी – ‘बिरहिनी मंदिर दियना बार’, सुन्दरदास – ‘हरि बोलौ हरि बोल’, लाल – ‘हंसा तो मोती चुगै’ का अतिरिक्त अन्य सन्तका बारे ओशोबाट थाहा पाँए ।
भक्ति परम्पराका तमाम सन्तबारे पढ्दा पनि आफूभित्र देवकोटा झै ‘आखिर श्रीकृष्ण रहेछ एक’ भन्ने बोध हुन सकेन।
ओशोसँग गरिएका प्रश्नोत्तर श्रृंखलाका झण्डै १५-२० पुस्तक त पढे होला।
कृष्ण स्मृति, कृष्ण मेरी दृष्टि में, शिव सूत्र , समाधि के सप्त द्वार ( म्याडम ब्लावट्स्की ) सहज योग ( सरहपा – तिलोपा ) आत्मपूजा उपनिषद २ भाग,सर्वसार उपनिषद , अथातो भक्ति जिज्ञासा २ भाग ( शांडिल्य भक्ति सूत्र ) , अध्यात्म उपनिषद , ईशावास्योपनिषद, कठोपनिषद,निर्वाण उपनिषद, सर्वसार उपनिषद सन २००० सम्म पढिसकेको थिएँ ।
यी मध्ये केही किताब स्वामी अरुणको पहिलाको आशीष ध्यान केन्द्रबाट भाडामा ल्याई पढेको पनि सम्झना छ। केही पुस्तक खिचापोखरी जाने मोडमा रहेको धार्मिक पुस्तक पसलबाट किनेको स्मरण छ। त्यही नजिकमा एउटा पंजाबीको अचार पसल थियो। दिनभरी ओशोका प्रवचन सुन्न पाइन्थ्यो उनको पसलमा। त्यो बेला ओशोलाई सुन्नु अहिलेको जस्तो सित्तैमा थिएन। क्यासेट किन्नु पर्थ्यो। पछि पुतलीसडकबाट भृकुटी मण्डप छिर्ने मोडमा खोलिएको मिठाई पसलेले क्यासेट भाडामा पनि दिने काम गर्यो।
ओशोको मुल्ला नसीरुद्दीन र अन्य हास्य पात्रबारे जोसुकै ओशो सन्यासीले कुरा गरेको पाइन्छ। ओशोका अन्य पुस्तक पढेर तर्क गर्ने ओशो सन्यासी जताततै पाइन्छन् । तर एकपटक उनलाई सोध्नुस त, ओशोले ध्यान प्रयोगबारे विभिन्न ध्यान शिविरमा गरेको प्रवचन – प्रश्नोत्तर संग्रहित कति वटा पुस्तक देखेका छन् / पढेका छन् ?
ओशो पुणे नगरीमा आउनु अघि मुम्बईमा बस्थे र भारतभरी भ्रमण गरेर ध्यान शिविर आयोजना गर्थे। अनेकौ प्रयोग गर्थे, ध्यान साधनाका साना -मसिना कुरा गर्थे। मुछाला भन्ने स्थानमा दिएका १४ वटा प्रवचनको ‘साधना पथ’ नामक् पुस्तक बन्यो।
अमरावतीमा शिविरका दौरान भएका ८ वटा प्रवचनको ‘साक्षी की साधना’ नामक् पुस्तक र तुलसीश्यामको शिविरमा गरिएका ४ प्रवचनको ‘साक्षी का बोध’ ना नामक् पुस्तक तयार भयो।
अहमदनगरको शिविरमा चार प्रवचनको ‘समाधि के तीन चरण’, माथेरान शिविरको ८ प्रवचनद्वारा ‘समाधि कमल’ माथेरानमै भएको अर्को शिविरमा ओशोले गरेका ७ प्रवचनको ‘सम्भावनाओ की आहट’, नारगोलको शिविरका ७ प्रवचनको ‘शून्य की नाव’, नारगोलको अर्को शिविरका ७ प्रवचनले ‘प्रभु की पगडांडिया’, शारदाग्राम शिविरका ९ प्रवचनको ‘रोम रोम रास पीजिये’, द्वारिकामा आयोजित ध्यान शिविरमा भएका १५ प्रवचनले ‘मैं मृत्यु सिखाता हूँ’, जूनागढ शिविरका ३ प्रवचनले ‘माटी कहे कुम्हार से’, महाबलेश्वर शिविरमा संपन्न ओशोका ९ वटा ‘टक प्रोग्राम’ बाट ‘ध्यान सूत्र’ पुस्तकको आभिर्भाव भएको थियो।
यसै गरी मुम्बईमा आयोजित शिविरका १० प्रवचनबाट ‘ध्यान दर्शन’ र अर्को शिविरका ११ प्रवचन बाट ‘मैं कौन हूँ’ पुस्तक बनेको थियो भने पुणे कम्यूनको ध्यान शिविरमा भएका १० प्रवचनबाट ‘ध्यान के कमल’ र अर्को शिविरका ६ प्रवचन बाट ‘योग के नए आयाम’ पुस्तक प्रकाशित भएको थियो।
यसका अतिरिक्त भारतका अन्य थुप्रै स्थानमा आयोजित शिविरमा ओशो ‘टक’ एवम उनलाई सोधिएका प्रश्नबाट ध्यान – साधना – मौन- शांति — साक्षी भाव – अंतरयात्रा – स्टप द माइंड – नो माइंड – बी नाउ एंड हियर, समाधि विषयक थुप्रै पुस्तक बनेका थिए। सत्य र सत्यको खोज सम्बन्धी कम्तीमा ओशोका १० पुस्तक प्रकाशित थिए। ओशोले यसो भन्नु भएको छ, ओशोले उसो भन्नु भएको छ भन्ने ओशो सन्यासीले यी विषयबारे ओशोले के भनेका छन् भन्ने सुन्न पाईदैन।
२००३ मा सन्यासी भएर हिँड्नु अगाडि ओशोका ध्यान-साधनासम्बन्धि अधिकांश पुस्तक पढिसकेको थिएँ । मेरो पहिलो साधना स्थल फर्पिङको रालो रिम्पोछे मोनास्ट्रीको गेस्ट हाउस रहेको थियो। झण्डै तीन महीना त्यहाँ विभिन्न किसिमका साधना गर्दै बिताइयो। यस दौरान मैले अष्टावक्र गीताको सबै भाग पढेको थिएँ ।
२००३ को जुलाई पछि यायावर बनेर भारत भ्रमणमा बिताएँ । यस दौरान यदाकदा ओशोलाई पढे। जीवनमा २००६ देखि २००९ सम्म पुणेमा रहने सौभाग्य मिल्यो। जर्मन मित्रसँगको बसाइँ थियो। पैसाको अभाव थिएन। यस अवधिमा मैले ओशोको सम्पूर्ण जिन सूत्र, महावीर वाणी, ताओ उपनिषद , एस धम्मो सन्तनोका सबै भाग र अन्त्यमा गीता दर्शनका सबै भाग पढे। मेरो हैसियत ओशो कम्यूनमा गएर महँगोभन्दा महँगो किताब किन्ने थियो त्यसबेला।
‘अल्फा टू ओमेगा’को हिंदी रूपांतरण पतंजलि योग सूत्र ३ भागका अतिरिक्त ओशोले इंग्लिशमा बोलेका सामग्रीबाट हिन्दी अनुवाद गरी बनेका अन्य पुस्तक पनि यसै समयमा पढेको थिएँ । अहिले ती सबैको नाम सम्झना छैन। इंग्लिशमा पढेको एउटा पुस्तकको नाम स्मृतिमा छ – त्यो थियो, दार्शनिक हेराक्लीटसमाथि बोलेको ‘हिडेन हार्मनि’। ओशोले पछिल्लो कालखण्डमा इंग्लिशमा मात्रै बोले।
सन् २००९ पछि ओशोसँगको ३०-३२ वर्ष लामो यात्रामा विराम लाग्यो। ठ्याक्कै मिति त याद छैन, २००९ को कुनै दिन थियो। ओशो कम्यून इण्टरनेसनल पुणेमा थिए। ‘व्हाइट रोब’ पछि स्वीमिंग पुल साइडको रेस्टुरामा कफी पिउदै थिएँ । खास केही पनि भएको थिएन, एक्कासी मनमा विचार उठ्यो, ‘इट्स एनफ विद यु ओशो, नाउ आई विल नट एलाउ यु टू कन्फ्यूज मी मोर।’
ओशोले बेला मौका भन्ने गर्थे – ‘आई एम हियर टू कन्फ्यूज यु बेबी।’
मैले दृढ़तापूर्वक अठोठ गरे – ‘आई एम नट योर बेबी एनीमोर, आई एम एबल टू ड्वेल माईसेल्फ ।’
म ओशो विरोधी भएको थिइन, बरु ओशो बिना हिँड्न सक्ने ‘क्यापेबल’ भएको थिएँ ।
ओशोका पछाडि लागेर समय नै खेर गयो त भन्न मिल्दैन तर यस लामो संगतमा मस्तिष्कलाई ‘डस्टबिन’ बनाउने कामबाहेक सार्थकता केही पनि भएन। डस्टबिनमा जम्मा भएको फोहोरको दोहन गरेर आध्यात्मिक गुरु, ध्यान प्रशिक्षक, माइण्ड म्यानेजमेण्ट, स्वघोषित सम्बुद्ध, बोधिसत्व लगायत मन लागेको घोषणा गरेर व्यापार त गर्न सजिलो छ तर ध्यानको भावभूमिको स्वअनुभूति लिन भने सम्भव छैन। यो त घटित नै मनको निर्विकारितामा हुन्छ।
मन कुनै पनि विषयमा आशक्त रहेसम्म ध्यानबारे बोल्न सकिन्छ, किताब लेख्न सकिन्छ, चेला चापडलाई ध्यानको महिमा बखान गर्दै ध्यान सिकाउन सकिन्छ तर ध्यानमा प्रवेश भने गर्न असम्भव छ। ध्यानको प्रत्यक्ष सम्बन्ध ‘बियाण्ड द माइण्ड’, मनका समस्त गतिविधि र व्यापारको वधपछि मात्रै प्रारम्भ हुन्छ।
गीताको पहिलो अध्यायको नाम विषादयोग रहेको छ। विषाद कसलाई हुन्छ ? मनलाई औजार बनाएर जगत व्यापारमा आकण्ठ डुबेकालाई विषाद योग प्राप्त हुन सक्दैन।
बुद्धले धम्मपदको पहिलो सूक्तमै मनको चर्चा गरेका छन् – मनोपुब्बङ्गमा धम्मा मनोसेट्ठा मनोमया, मनसा चे पदुट्ठेन भासति वा क रोति वा।
आज यदि कुनै विधिले ओशो फर्केर आउने हो भने उनलाई जीवनभरी आफूले गरेको गल्तीको ‘रिलाइजेसन’ हुने थियो ।
मैले जीवनमा यतिको नबोलेको भए मेरा संन्यासी पथभ्रष्ट भएर मलाई यसरी लिलाम गर्ने थिएनन् ।