२१ फागुन , काठमाडौं । आज भन्दा करिब तीन वर्ष अगाडि मिति २०७८ साल चैत्र महिनाको आठ गते हालका राष्ट्रपति रामचन्द्र पौडेलद्धारा मध्यनेपाल नगरपालिका वडा नं.३ अन्तर्गत चर्दीखोला अर्थात् ब्यास मार्गमा पर्ने मोटरेबल पक्की पुलको उद्धघाटन गरिएको थियो ।

तत्कालिन तथा हालका मेयर रमेश पाण्डेको पहलमा निर्माण गर्न लागिएको उक्त पुलको लम्वाई करिब २० मिटर र चौडाई ७ मिटर रहेको छ ।

उक्त नगरपालिकाको ३ र ४ नंम्वर वडाको विचमा तथा बेशिसहर, सुन्दरवजार, कुन्छा, सोतिपसल हुँदै दमौली र पोखरा जोड्ने महत्वपूर्ण सडकमार्गमा पर्ने उक्त पुल उद्धघाटनको क्रममा भनिएको थियो कि, देश विकासको सवालमा जनतादेखि राजनीतिक दल, स्थानीयदेखि प्रदेश र केन्द्रसम्म एकजुट भएर अगाडि बढ्न सकेमा मात्र विकासको गति अगाडि बढ्न सक्दछ ।

गाउँवस्तीहरु उजाड र युवा पलायन हुँदै गएको अवस्थामा उक्त पुलको निर्माणले रोजगारी सिर्जना गर्नमा सहयोग पुग्ने बताइएको थियो ।

तर पुलको अवस्था हालसम्म ६० प्रतिशत कार्य पनि सम्पन्न भएको देखिदैन । स्थानीय तथा उक्त नगरपालिका वडा नं.३ का जनप्रतिनिधिका अनुसार उक्त पुल निर्माणको जिम्मा बिक्रम पाण्डेको कालिका कन्स्ट्रक्सनसँग जि.वि.कन्स्ट्रक्सनको साझेदार रहेको थियो तर सम्बन्धित ठेगेदार तथा जनप्रतिनिधिको वेवास्थाका कारण हाम्रो सपना चक्नाचुर भएको कुरा स्थानीय बताउँछन् ।

उक्त सडकबाट वर्षाको समयमा दुईपाँग्रे तथा अन्य सवारी साधनद्धारा आवतजावत गर्न धेरै कठीनाई भएको पनि आज कयौं वर्ष भइसक्यो तर न त स्थानीय जनप्रतिनिधिले यसवारेमा आफुले जिम्मा लिएको कार्य सफल बनाउन सके न त प्रदेश र केन्द्रका जनप्रतिनिधिको चासो देखिएको छ ।

अर्कोतिर प्रशासनिक निकाय पनि मौन वस्नाले त्यहाँका जनता कुहिरामा हराएका कागजस्ता भई आफुलाई परेको पीर मर्का कसलाई सुनाउने भनि अन्योलमा परेका छन् ।

डेड वर्षमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको भएता पनि हालसम्म आधा कार्य पनि सम्पन्न नहुँदा चुनावताका जनताको मत बटुल्ने दाउमा रहेका जनप्रतिनिधिले मत हाल्ने समयमा आश्वासनका पोकाहरु प्रशस्तै बाँड्छन् तर जव चुनाव जित्छन् तव जनताको पीरमर्काप्रति मौनताबाहेक केही देखाउँदैनन् भनि स्थानीयको ब्यापक रुपमा गुनासो रहेको छ ।

निर्माण शुरु भयो तर सम्पन्न भएन । स्थानीय जनताले विकासको उज्यालो किरण देख्ने आशा गरे तर त्यो आशा निराशामा वदलियो । केही कामको गति अगाडि बढे पनि पछि पुनः सुस्तायो । यसमा सवभन्दा गम्भीर पक्ष भनेको ठेगेदार कम्पनीको लापरवाही र स्थानीय जनप्रतिनिधिको मौनता हो । स्थानीयले पटक पटक सम्बन्धित निकायमा गुनासो गर्दासमेत यसप्रति चासो देखाइएको छैन ।

स्थानीय जनताको समस्या भनेको स्थानीय तथा विद्यार्थीलाई वर्षाको समयमा खोला तुर्नपर्ने बाध्यता, कृषकको समस्या, विरामीलाई अस्पत्ताल लैजानुपर्ने समस्याका साथै यातायात अवरुद्ध हुँदा ब्यपारमासमेत असर पर्ने हुँदा यसतर्पm सम्बन्धित निकायको ध्यान जानुको साथै ठेगेदार कम्पनीलाई चेतावनी, नियमित अनुगमन, जनस्तरबाट पनि दवाव सिर्जना गर्नुपर्ने तथा स्थानीय मिडियाको सक्रियता ब्यापक रुपमा हुनुपर्ने देखिन्छ ।
यसरी आज मध्यनेपाल नगरपालिकाको चर्दीखोलाको पुल मात्र होइन देशका कयौं खोला नदीका पुल सडक, बाटो तथा भवन निर्माणका कार्यहरु अलपत्र परी बजेटको बाँडिचुँडीमा भागबण्डा नमिलेर धेरै कार्यहरु अलपत्र पारिएको छ तर न त केन्द्रीय सरकारले यसप्रति सम्बन्धित निर्माण ठेक्का लिने ब्यक्तिलाई कारवाहीको दायरामा ल्याउन सकेको देखिन्छ न त स्थानीय प्रशासन तथा जनप्रतिनिधिको चासो छ ।

तर दुःख र पीडाको भारी भने सर्वसाधारण जनताले बोक्नु परिराखेको अवस्था छ ।

खिमराज गिरी
मध्यनेपाल नगरपालिका २