तारकेश्वर नगरपालिका–१ स्थित साङ्ला बिहानी चोक नजिक रहेको मठमन्दिर परिसर तथा सार्वजनिक जग्गामा “द अनकाउन्टेड युथ्स” र अनाहाता नेपालको संयुक्त आयोजनामा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
युवाको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व अभिवृद्धि तथा वातावरणमैत्री समाज निर्माण गर्ने उद्देश्यसहित गरिएको उक्त कार्यक्रमले स्थानीय क्षेत्रमा हरियाली प्रवर्द्धन र स्वच्छ वातावरण कायम गर्ने सन्देश दिएको आयोजकले बताएका छन्।
कार्यक्रममा विभिन्न क्षेत्रका युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो।
सहभागीहरूले सरसफाइसँगै वृक्षारोपणमा सक्रिय भूमिका निभाउँदै समुदायप्रतिको जिम्मेवारी र सामाजिक चेतना अभिवृद्धि गरेका थिए।
संस्थाहरूले संयुक्त रूपमा सञ्चालन गरेको अभियानले समाजमा हरियाली विस्तार र वातावरण संरक्षण आवश्यक रहेको सन्देश दिएको छ।
आयोजकका अनुसार तारकेश्वर नगरपालिकाका सबै वडामा यस्ता कार्यक्रम विस्तार गर्ने योजना रहेको छ।
त्यसैगरी “द अनकाउन्टेड युथ्स” ले अवसरबाट वञ्चित प्रतिभाशाली युवाहरूलाई सम्बन्धित निकायसँग जोड्ने, आत्मनिर्भर बनाउन प्रेरित गर्ने तथा सामाजिक रूपान्तरणमा सक्रिय बनाउने उद्देश्यसहित अभियान सञ्चालन गरिरहेको जनाएको छ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्षले नगरभित्र धेरै सक्षम युवा अवसरको अभावमा पछाडि परेको उल्लेख गर्दै उनीहरूलाई उचित प्लेटफर्म र अवसरसँग जोड्ने कार्यमा संस्था प्रतिबद्ध रहेको बताए।
संस्थाका प्रवक्ताले वृक्षारोपणलाई देश र नगर दुवैका लागि महत्वपूर्ण अभियान भन्दै यसले स्वच्छ वातावरण र स्वस्थ जीवनमा योगदान पुर्याउने धारणा व्यक्त गरे।
कार्यक्रममा स्थानीय महिला सहकारी संस्थाले पनि सहकार्य गरेको थियो। उक्त सहयोगप्रति संस्थाका प्रवक्ता मनोज गजुरेलले धन्यवाद व्यक्त गरेका छन्।


