अन्धकारमा रूमलिएर उज्यालो भुलिरहेछु
सपनाहरुमा रुमलिएर यथार्थ भुलिरहेछु
ब्याख्याहरुमा रूमलिएर कथाहरु भुलिरहेछु
मायाप्रेममा रूमलिएर गाथाहरु भुलिरहेछु।।
एकान्त थियो साथि मेरो आवाज दिएर भुल गरेछु
एक्लै रहेछ जीवन फेरी साथ खोजेर भुल गरेछु
निरासा रहेछ जीबनसाथि आश गरेर भुल गरेछु
सम्बन्धमा रूमलिएर खुसी बनाँउने भुल गरेछु।।
आकाशका तारा गनेर सपना बनाँउनेे भुल गरेछु
आखाँहरुमा प्रेम बसाँउन कथा बनाँउने भुल गरेछु
आफैभित्र पीडा साँचेर खुसी लेख्ने भुल गरेछु
आफैलाई बिर्सिएर जिवन बनाँउने भुल गरेछु।।
हातहरु थकिसकेछन बिश्वास बनाउने भुल गरेछु
खुट्टाहरु थाकिसकेछन आधार बनाउने भुल गरेछु
जीवन एक्लो भईसकेछ भीड बनाउने भुल गरेछु
आफैलाई बिर्सिएर जिवन बनाउने भुल गरेछु।।
-दिनेश घिमिरे
विरुवा,भक्तपुर।।