काठमाडौँ:बबरमहलस्थित कानुन किताबखाना व्यवस्था समितिको कार्यालय रहेको भवनमा नेपाल प्रहरीको ‘मानव बेचबिखन अनुसन्धान ब्यूरो’को कार्यालय छ । कार्यालय प्रमुख छन् प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण प्रसाद पंगेनी ।
एसएसपी पंगेनी गत २१ जेठदेखि ब्यूरो प्रमुखको जिम्मेवारीमा छन् । ब्यूरोमा हाजिर भएकै दिन एसएसपी पंगेनीले मानव तस्कर तथा बेचबिखन अपराधका गतिविधि बढ्दो क्रममा रहेको र त्यसको प्रकृति पनि फरक देखिएकाले सोहीअनुसार रणनीति तय गरी परिचालित हुन मातहतका कर्मचारीहरुलाई निर्देशन दिए ।
जतिबेला प्राप्त जनशक्ति र प्रविधिको भरपुर उपयोग गरी नतिजा निकाल्ने गरी काम गर्ने एसएसपी पंगेनीको प्रतिबद्धता पनि थियो । सोहीअनुसार मानब बेचबिखन अनुसन्धान ब्यूरोको टोली सम्भावित बेचबिखन हुने ठाउँ र व्यक्तिहरुको सूचना संकलनमा निरन्तर लागिपरिरहेको छ ।
मानव बेचबिखन विश्वव्यापी समस्या हो । ब्यूरोमा हाजिर हुनुअघि नेपाल पनि यो समस्याबाट ग्रस्त रहेको एसएसपी पंगेनीको बुझाइ थियो । सूचना संकलन गर्ने क्रममा नेपालमा पनि बेचबिखन नयाँनयाँ शैली र स्वरुपमा भएको पाइयो ।
त्यतिमात्र नभएर मानव बेचबिखनमा नयाँ नयाँ आवरणमा दलालहरु पनि सक्रिय रहेको एसएसपी पंगेनी बताउँछन् । आर्थिक अवस्था कमजोर भएका नेपालीलाई प्रभावमा पारेर भारत लगी मिर्गौला चोरी गर्ने गरेको तथ्य हालै बाहिर आएको छ ।
यसरी विभिन्न प्रलोभन देखाएर भारतमा मिर्गौला चोरी हुने गरेको तथ्य बाहिर आएसँगै ब्यूरोको टोली थप सजग भएर आफ्नो सक्रियता बढाउँछ । सोहीक्रममा सिन्धुलीका ३७ वर्षीय खिलबहादुर भुजेलको मिर्गौला चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ब्यूरोको टोलीले ४ जनालाई पक्राउ गर्न सफल हुन्छ । जुन घटना ब्यूरोको लागि ठूलो उपलब्धी हो ।
ब्यूरोले संगठित रुपमा कानुनविपरीत मानव अंग मिर्गौला झिकी बिक्री गर्ने मानव बेचविखन तथा ओसारपसारसम्बन्धी कसूरमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिकाका कुमार भन्ने राजकुमार परियार, नुवाकोट बेलकोटगढी नगरपालिका-९ का २४ वर्षीय समिर नेपाली र ४७ वर्षका राकेश नेपालीलाई पक्राउ गरेको हो ।
एसएसपी पंगेनीकाअनुसार यो कार्यमा संगठित गिरोह नै लागेकाले सोहीअनुसार कार्यालयबाट अनुसन्धान भइरहेको छ । ‘भारतमा स्वास्थ्य परीक्षणलगायतका विभिन्न कार्यका लागि एक महिना राखिएको र मिर्गौला झिकेपछि भुजेललाई नेपाल फिर्ता पठाएको भन्ने प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ उनले भने ।
सुरुमा भारतको होटलमा काम गर्दा मासिक भारु १० देखि २० हजारसम्म कमाई हुन्छ भन्ने प्रलोभन देखाई पीडित भुजेललाई कोटेश्वरबाट कलंकी हुँदै सुनौली सीमा पार गराई भारतको चण्डीगढस्थित अपार्टमेन्टमा पुर्याएको हुन्छ । त्यसको भोलिपल्ट एक क्लिनिकमा लगी मेडिकल चेकअप गराई मिर्गौला झिकिएको थियो ।
सोही मुद्दामा संगठित समूहका अन्य फरार प्रतिवादीहरुको खोजी जारी रहेको र विभिन्न जिल्लाबाट अन्य दर्जनौं मानिसहरुको मिर्गौलाको अवैध रुपमा बिक्री गरेको भन्ने सूचनाको आधारमा अन्य पीडितहरुको पहिचान गर्ने कार्यसमेत अघि बढाइएको एसएसपी पंगेनीले बताए ।
त्यस्तै ब्यूरोले भारतलगायत खाडी मुलुकहरुबाट बेचबिखनमा परेका युवतीहरुको उद्दार पनि गरिरहेको छ । सरकारी तथा गैरसरकारी संस्थाहरुसँगको प्रभावकारी समन्वय गरी बेचबिखनमा परेका केही युवतीहरुको उद्दार गर्न ब्यूरोको टोली सफल भएको एसएसपी पंगेनी बताउँछन् ।
त्यतिमात्र नभएर ब्यूरोले मसाज र स्पा सेन्टरको नाममा नाबालिकाहरुलाई यौन क्रियाकलापमा लगाउने, विभिन्न प्रलोभन देखाएर भारतमा पुर्याएर नेपाली युवतीहरु बेच्ने र विदेशबाट नेपालमा आएर कोठी चलाउनेहरुमाथि समेत निगरानी बढाएको छ ।
बेचविखन कतिले खुल्ला सीमाको प्रयोग गरेर भारत हुँदै त कसैले भिजिट भिसामा हवाइ मार्ग प्रयोग गरेर विदेश पुर्याएर बेच्ने गरेको छ । ब्यूरोले सरोकारवाला संघसंस्थासँग सहकार्य गरी विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको एसएसपी पंगेनी बताउँछन् ।
मानव बेचबिखन मानव सभ्यताकै लागि कलंक हो । अझ हाम्रो जस्ता गरिब मुलुकका लागि बेचबिखनको जालोले राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रलाई नै प्रभावित गर्ने गरेको छ । त्यसैले साझा समस्या बनेको यसतर्फ सबैको ध्यान पुग्न जरुरी छ ।
त्यस्तै प्रहरी उपरीक्षक (एसपी) हुँदा उनले जिल्ला प्रहरी कार्यालय, बारा र महोत्तरीको समेत सफल कमाण्ड गरेका थिए । मिडियामा धेरै आउन नचाहने उनी प्रहरी संगठनमा इमान्दार अधिकृतको छवि बनाउन सफल भएका छन् ।