काठमाडौँ महानगरपालिका–१६ का स्थायी बासिन्दा अभियन्ता तथा समाजसेवी देवेन्द्र कुमार श्रेष्ठ पछिल्ला वर्षहरूयता सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएका छन्।
समाजमा देखिने गाह्रा–गुह्रा कामलाई हातेमा हात, काँधमा काँध मिलाउँदै अघि बढाउने उनको शैलीले उनलाई स्थानीयदेखि सुरक्षा निकायसम्म सबैको मनमा बस्न सफल बनाएको छ।
हालैको जेन–जी आन्दोलनका कारण बालाजु प्रहरी वृत्तमा क्षति पुगेको कठिन समयमा पनि श्रेष्ठले आफ्नो टिम र स्थानीय बासिन्दासँगै समन्वय गरी प्रहरीलाई सहयोग पुर्याए।
उनले प्रहरीलाई आवश्यक सामग्री उपलब्ध गराउनुका साथै आफ्नै सवारीसाधन समेत उपलब्ध गराई सहयोग गर्ने उदाहरण प्रस्तुत गरेका छन्। सुरक्षाकर्मी र समुदायबीच पुलको काम गर्दै श्रेष्ठले “राष्ट्र निर्माणमा सबैको हात चाहिन्छ” भन्ने सन्देश समाजमा फैलाइरहेका छन्।
श्रेष्ठको समाजसेवाको ध्येय व्यक्तिगत स्वार्थभन्दा निकै माथि रहेको छ। “आफ्नो घर मात्र होइन, आफ्नो समाज र राष्ट्रलाई प्राथमिकता दिनुपर्छ” भन्ने विश्वासका साथ उनले निरन्तर सेवा र नेतृत्व दिँदै आएका छन्। यही कारणले उनी आज स्थानीय बासिन्दामात्र नभई नेपाल प्रहरीको पनि उच्च सम्मान पाउन सफल भएका छन्।
अझ विशेष कुरा त के छ भने, श्रेष्ठ काठमाडौँ महानगरपालिकामात्र सीमित छैनन्। उनले विगत केही वर्षदेखि देशका विभिन्न जिल्लामा कठिन परिस्थिति र अप्ठ्यारो अवस्थामा रहेका आफ्ना अभियन्ता साथीहरूसँगै अभियान चलाउँदै समाजिक काममा संलग्न हुँदै आएका छन्। समाजका लागि दिएको योगदानमा उनी आफैँ गर्वित छन् र अभियन्ताको भूमिकामा खुशी महसुस गरिरहेका छन्।
सामाजिक न्याय, सुरक्षासँग सहकार्य र राष्ट्र निर्माणप्रति समर्पण—यी तीन आधारमा आफ्नो जीवन अर्पण गर्दै आएका देवेन्द्र कुमार श्रेष्ठ आजको पुस्ताका लागि प्रेरणादायी नाम बनेका छन्।




