खरानी टाउकाकोमा लगाई
भूतहरूको मसान्तसम्म
मलाई दूत बनेर पठाँइदिनु
र पनि म देश बोकिरहनेछु।।
आगोले जलाईदिनु स्तम्भहरू
आतंकको अन्तिम परिधिसम्म
मलाई घोचिँरहनु परिबर्तनहरूमा
र पनि म सदैव देश बोकिरहनेछु।।
हाँनिरहनु लात्तीहरूले छातीहरूमा
असन्तुष्टिको असिमित पराकाष्ठासम्म
मलाई जसरी सक्छौ लखेटीँरहनु
र पनि म फेरि मेरो देश बोकिरहनेछु।।
पाखण्डको कफन बाधेर उग्रतामा मग्न
हरेक बिम्महरूमा मेरो परिभाषा खोज्नु
मेरा छातीमा आफुखुसी प्रहार गरिरहनु
र पनि म हरेक प्रहरमा देश बोकिरहनेछु।।
मलाई मेरो मुल्य चाँहिदैन फेरि फेरि
छुट्टै फरक अस्तित्व भित्र मलाई नहेर्नु
मेरो मनलाई पटक पटक दुखाईरहनु
र पनि म हरपल देश बोकिरहनेछु।।
-दिनेश घिमिरे
विरूवा, भक्तपुर।।




