काठमाडौं, असोज १२ – नेपालीहरूको महान चाड विजया दशमीको पावन अवसरमा तारकेश्वर सरसफाइ प्रा.लि.ले आयोजना गरेको शुभकामना आदानप्रदान तथा खेलकुद मनोरञ्जन कार्यक्रम आज उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।
कार्यक्रममा डब्बु टोल विकास समितिका प्रतिनिधि राजेन्द्र कटुवाल, मेलमिलाप टोल विकास समितिका अध्यक्ष उत्तम सापकोटा लगायत स्थानीय समाजसेवी, पत्रकार तथा मजदुर वर्गको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि न्युज 24 ग्यालेक्सीका अध्यक्ष मनोज रहेका थिए भने विशिष्ट अतिथि पत्रकार सबिन गौतम हुनुहुन्थ्यो। अतिथिहरूले चाडपर्वले ल्याउने सामाजिक एकता, सांस्कृतिक सद्भाव र आपसी सहयोगलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिँदै यस किसिमका कार्यक्रमले समुदायमा सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो।
सहभागीहरूले शुभकामना आदानप्रदानसँगै विभिन्न खेलकुद गतिविधिमा समेत भाग लिँदा कार्यक्रम झनै रमाइलो र मनोरञ्जनात्मक बनेको थियो।
कार्यक्रमको सञ्चालन कम्पनीका प्रबन्धक निर्देशक केदार खत्रीले गर्नुभएको थियो। उहाँले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व र सामुदायिक हितमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।