Comments Add Comment

Advertisment

SKIP THIS

कागेश्वरी मनोहरा–८ मा छड्के अनुगमन: म्याद गुज्रिएका खाद्य सामग्री र सडेगलेको मासु नष्ट

कागेश्वरी मनोहरा नगरपालिकाभित्र केही गैरजिम्मेवार व्यापारीहरूले नाफाका लागि उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गरिरहेको गम्भीर अवस्था खुलासा भएको छ।

नगरपालिकाले आइतबार गरेको छड्के अनुगमनका क्रममा किराना पसल, मासु पसल र होटलमा व्यापक लापरबाही फेला परेको हो।

केही दिनदेखि तीव्र बनाइएको अनुगमनअन्तर्गत वडा नम्बर ८ मा गरिएको निरीक्षणमा अधिकांश किराना पसलहरूमा म्याद गुज्रिएका, सडेगलेका तथा उपभोग गर्न अयोग्य खाद्य सामग्री बिक्रीका लागि राखिएको पाइएको अनुगमन टोलीले जनाएको छ। कतिपय सामग्री दुर्गन्ध आउने अवस्थामा समेत थिए।
शिवचोकस्थित मेलम्ची किराना स्टोर र एसियन किराना पसलबाट उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्ने म्याद गुज्रिएका तथा सडेगलेका खाद्य सामग्री फेला परेपछि ती सामग्री नियन्त्रणमा लिएर चेतावनीसहित तत्काल नष्ट गरिएको छ। यी पसलहरू लामो समयदेखि पर्याप्त नियमनबिनै सञ्चालन हुँदै आएको पनि पाइएको छ।

यस्तै, वडा नम्बर ८ मै सञ्चालित पूर्वेली याम तामाङ मिट सपबाट करिब १० केजी सडेगलेको, दुर्गन्धित र मानव उपभोगका लागि पूर्ण रूपमा अयोग्य मासु नियन्त्रणमा लिएर नष्ट गरिएको छ।

नाफाका लागि अस्वस्थ मासु बिक्री गर्नु आपराधिक कार्य भएको ठहर गर्दै सञ्चालकलाई कडा चेतावनी दिइएको छ।

त्यसैगरी, सोही वडामा रहेको दोलालघाट होटलमा फोहोर, बासी तथा सडेगलेका खानेकुरा ग्राहकलाई खुवाइँदै आएको भेटिएपछि होटल सञ्चालकलाई तत्काल सुधार र सरसफाइ गर्न निर्देशन दिइएको छ। सुधार नगरे आगामी दिनमा कारबाही गरिने चेतावनी पनि दिइएको छ।

स्थानीयवासी तथा उपभोक्ताबाट पटक–पटक गुनासो आएपछि नगरपालिकाले जनस्वास्थ्यलाई प्राथमिकतामा राख्दै छड्के अनुगमन गरेको जनाएको छ।

नगरपालिकाका जनप्रतिनिधिहरूले आगामी दिनमा निगरानी अझ कडा बनाइने र लापरबाही दोहोरिए कानुनी कारबाही गरिने स्पष्ट पारेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै