काठमाडौँ — तारकेश्वर नगरपालिका क्षेत्रभित्र महिलालाई लक्षित गरी मोटरसाइकलमार्फत लेडीज ब्याग लुटपाट गर्दै आएको गिरोहलाई बालाजु प्रहरी वृत्तका प्रमुख ज्ञानबहादुर बिष्टको नेतृत्वमा खटिएको विशेष टोलीले सफलताका साथ पक्राउ गरेको छ।
२०८२/०८/०८ गते बेलुकी करिब ५:१५ बजे तारकेश्वर–११ नेपालटार सडक खण्डमा घर फर्कँदै गरेकी लमजुङ राईनास नगरपालिका–६ घर भई हाल तारकेश्वर–९ शुभकामना चोक बस्दै आएकी रन्जु शर्मा माथि मोटरसाइकलमा सवार अज्ञात व्यक्तिहरूले आक्रमण शैलीमा झोला खोसी फरार भएपछि घटना सार्वजनिक भएको थियो।
गम्भीर प्रकृतिको यस घटनापछि तत्काल अनुसन्धानमा जुटेको प्रहरी टोलीले २०८२/०८/०९ गते बिहान तारकेश्वर–८ सुकुम्बासी टोलबाट लुटपाटमा संलग्न ४ जनालाई प्रमाणसहित पक्राउ गर्न सफलता हासिल गरेको हो।
प्रारम्भिक अनुसन्धानमा उनीहरू राजधानीका विभिन्न स्थानमा समान प्रकृतिका अपराधमा संलग्न भई महिलालाई लक्षित गरी झोला ‘स्न्याचिङ’ गर्दै आएको खुल्न आएको बालाजु प्रहरी वृत्तले जनाएको छ। हालसम्म यस्ता ३ घटनामा जाहेरी दर्ता भएको तथा थप पीडितहरूको खोजी भइरहेको पनि बताइएको छ।
पक्राउ परेकाहरू
ईश्वर बुढाथोकी (२७) — स्याङ्जा, वालिङ–११
विशाल राई (२०) — नुवाकोट, गोस्याङ
साजन तामाङ (१८) — नुवाकोट, किस्पाङ
समिर तामाङ (१९) — नुवाकोट, चौगाडा
बरामद सामग्री (संक्षेप विवरण)
प्रहरीले २ थान लेडीज ब्याग, ११ थान मोबाइल सेट, विभिन्न बैंकका एटीएम कार्ड तथा परिचयपत्र, ठूलो संख्यामा चाबीका झुप्पो, सुनका जस्ता देखिने गहना, चार्जर, एयरफोन, पेन ड्राइभ र नगद रु २,५०५ बरामद गरेको छ। बरामद सामग्रीमध्ये केही अन्य पीडितका भएको आशंका गरिएको छ।
बालाजु प्रहरी वृत्त प्रमुख बिष्टका अनुसार अभियुक्तहरूविरुद्ध चोरी तथा लुटपाट मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाइएको छ।
उनले यस्ता आपराधिक क्रियाकलापविरुद्ध कडाइ जारी रहने स्पष्ट पारेका छन्। साथै, आफूले लुटपाटमा सामान गुमाएका पीडितहरूलाई आवश्यक प्रमाणसहित सम्बन्धित प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।



