१८ फागुन, काठमाण्डौं । काठमाडौँसहित विभिनन् जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–६ सरस्वतीनगरमा बा.६४ प १३९६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पैदलयात्रीलाई समेत ठक्कर दिँई मंगलबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक आरुबारी बस्ने ओखलढुंगा घर भएका ३० वर्षीय शिवराज कार्की र पैदलयात्री गोपीकृष्ण बस्ने ओखलढुंगा हर्कपुर गाउँपालिका घर भएका ६१ वर्षीय दुर्गा बहादुर कार्कीको मृत्यु भएको हो ।
चितवनको भरतपुर महानगरपालिका–१३ गंगानगर बस्ने ४२ वर्षीय रामकृष्ण महत्तोको घरमा पार्किङ् गरी राखेको बागमती प्रदेश ०३–००१ ह १३२५ नम्बरको अटो मंगलबार साँझ आफैँ पछाडी गुडेर १८ महिने लाभाङ गुरुङलाई किच्दा घटनास्थलमै मृत्यु भएको हो ।
बारा, कोल्हबी नगरपालिका–६ अधन्वास्थित सडकमा ना.६४ प ७२४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ८५ वर्षीया भोलिया देवी थरुनीलाई ठक्करबाट गम्भीर घाइते भएकी उनको सूर्य अस्पताल वीरगञ्जमा उपचारको क्रममा मंगलबार साझँ मृत्यु भएको हो ।
दाङको घोराही उपमहानगरपालिका–१७ उखुबारीस्थित सडकमा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट १८ वर्षीय पैदलयात्री अजय चौधरीको बुधबार साँझ मृत्यु भएको छ ।ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको हो ।
यसै गरी दाङकै गढवा गाउँपालिका–२ महादेवा पुलस्थित सडकमा लु.२ च ७६८२ नम्बरको कार र रा.४ प ३४६१ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार राप्ती गाउँपालिका–६ सगरापुर बस्ने १० वर्षीया सन्धाय चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको लमही अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका पैदलयात्री समेत अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेकोमा १ जना थप उपचारको लागि कोहलपुर रिफर गरिएका छन् ।
दार्चुलाको व्याँस गाउँपालिका–४ स्थित सडकमा से.२ त १७९९ नम्बरको ट्रली नजोडेको ट्याक्टर सडकबाट करिब १५ मिटर तल खसेर मंगलबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार बझाङ चिर बित्थड गाउँपालिका–२ बस्ने २३ वर्षीय वीरेन्द्र खड्काको ट्याक्टरले च्यापिएर घटनास्थलमै मृत्यु भएको छ । हाल फरार रहेका ट्याक्टरका चालकको प्रहरीले खोजी गरिरहेको छ ।







