२५ चैत , काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयात घटाउन नसके नेपालको अर्थतन्त्रमा थप चुनौती रहेको बताएका छन् ।
आज नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘बाह्य क्षेत्र स्थायित्वको चुनौती’ विषयक सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले आयात प्रतिस्थापन नगरेसम्म बाह्य क्षेत्रको स्थायित्वमा जोखिम कायमै रहने बताएका छन् ।
उनले भने, ‘कुल आयातमा ३५ प्रतिशत हिस्सा रहेको उपभोग्य वस्तुको आयातलाई प्रतिस्थापन नगर्दासम्म बाह्य क्षेत्र स्थायित्वमा जोखिम कायमै रहन्छ ।’ कोभिड-१९ को प्रभाव घटेसँगै कर्जा विस्तार, बढ्दो आयात र पर्यटन क्षेत्रको आम्दानीमा कमी आएका कारण चालु खाता र शोधनान्तर स्थिति निरन्तर घाटामा रहेको उनको भनाइ छ ।
नेपालसँग ७.४ महिनाको वस्तु र ६.७ महिनाको वस्तु वा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति कायम रहेको आँकडा उनले प्रस्तुत गरे ।




