२० माघ , काठमाडौ । नेपालले २०७८ फागुन १५ मा एमसीसी अनुमोदन गर्नुभन्दा केही समय अगाडि दक्षिण तथा मध्यएशिया मामिला हेर्ने सहायक बिदेशमन्त्री डोनाल्ड लुले नेपाल भ्रमण गरेका थिए ।
गत बैशाख महिनाको ६ देखि ८ गतेसम्म दक्षिण तथा मध्यएशीया मामिला हेर्ने उपसहायक विदेशमन्त्री केली केइडरलिन नेपाल आएकी थिइन । यस्तै बैशाख ९ देखि ११ गतेसम्म सिनेटर कृष्टन जिलिब्रान्डको नेतृत्वमा ५ सदस्यीय सांसदको टोलीले नेपाल भ्रमण गरेको थियो । त्यस्तै गत जेठमा अमेरिकाबाट मानवधिकार मामिला उपमन्त्री उज्रा जिया नेपाल आएकी थिइन ।
गत सनिवार अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड नेपालको दुई दिने भ्रमण सकेर सोमबार स्वदेश फिर्ता भइन । उनको भ्रमणको मूख्य उधेश्य संक्रमणकालीन न्याय, अमेरिकी आर्थिक सहयोग र चीन सम्बन्धको विषयलाई लिएर भनिएको भए पनि नेपालमा बदलिएको राजनीतिक कोर्स करेक्सन गर्नकै लागि विभिन्न दलका नेताहरुसँग भेटघाट भएको भन्ने आकंलन गरिएको छ । फेरि यसैसाता अमेरिकाबाट नेपालमा उच्च तहको भ्रमण हुँदैछ ।
यूएसएआईडीकी प्रमूख तथा रास्ट्रिय सुरक्षा परिषदकी सदस्य सामन्था पावरको भ्रमणको मूख्य उधेश्य नेपाललाई थप लोकतान्त्रिक, समृद्व र समाबेशी बनाउनेवारे छलफल हुने बताइएको छ । अर्कोतिर चिनियाँ र भारतीय कुटनीतिज्ञसँगको भेटघाट पनि चलिराखेकै छ । यसरी नेपालमा गठबन्धनको सरकारको कारण राजनीतिक अस्थीरताको खाडल झन गहीरिंदै जानुले पनि बिदेशीहरुको भ्रमण आफ्नो स्वार्थ सिद्व गर्नमै प्रेरीत देखिन्छ । अहिले सात दल मिलेर गठबन्धनको सरकार बनेको छ ।
देशको प्रशासनिक क्षेत्रका अति महत्वपूर्ण पदहरु बाँडफाँडमा केही पदमा कुरा मिले पनि अझै रास्ट्रपतिजस्तो महत्वपूर्ण पद हत्याउन विभिन्न दलहरुमा रस्साकस्सी परेको छ । अझ नि:बर्तमान गृहमन्त्री रवी लामिछानेको नागरिकता र पासपोर्ट मुद्वाको कारणले गठबन्धनमा झन झमेला पैदा भएको छ भने सत्ताघटककै केही नेतालाई कुचाले बडार्न पर्ने कसिंगर हावाले उडाएजस्तो भएको छ ।
यही मौकाको फाइदा उठाउँदै नेपाली कांग्रेस उसको छुट्टै रणनीतिक योजनामा डुबिरहेको छ भलै अन्तिमसम्म पनि केही प्राप्त हुन्छ कि भन्ने आसामा ! नेपाली कांग्रेसको राजनीतिक फाँटको दोहोरो चरित्रले गरीमामय संसदमा न त दरिलो प्रतिपक्ष नै छ , न त कांग्रेसले सत्तामा टाँसिने लिप्सा त्याग्न सकेको छ । नेपाली कांग्रेसको इतिहासमा सरकारबाट बाहिर बसेको समयमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरेको रेकर्ड प्राय: शून्य नै छ ।
अहिले पनि कांग्रेस आफ्नो मुट्ठीमा परेको माछो फुत्काएर अरुको मुखमा परिसक्दा पनि अझै केही पाइन्छ कि भनेर दिवा स्वप्नमा खोंचे थापिरहेको छ । यदि कांग्रेसले नैतिकता र सिद्वान्तनिष्ट राजनीतिक यात्रा तय गर्ने हो भने सशक्त प्रतिपक्षमा बस्नु पर्दछ न कि, ३२ सिटमा सीमित प्रचन्डलाई झोलीको देवता सम्झनु ठीक हुन्छ । अर्कोतिर प्रचन्डको राजनीतिक अस्थीरता नै उनको जीवनको असफलताको कारक तत्व हो ।
असफलता यसर्थमा कि, जनमतले उनलाई शासन सत्ताको बागडोर कहिलै दिएन र दिँदैन पनि । उनको राजनीतिक यात्रा कि बालकोटको बार्दलीमा कि बुढानिलकन्ठको देउवाचोकमा अल्झिने भयो । उनले सत्ताको बागडोर सम्हाल्ने मौका केवल खोलामा बल्छी थापेर मात्र हो । बल्छी थाप्दा माछा पर्न नि सक्छ खाली नि हुनसक्छ ।
यसर्थ छिमेकी मुलुकहरु चीन, भारत र अमेरिकालाई नेपालको राजनीतिमा बढी नै चासो हुनु उनीहरुका आ- आफ्नै स्वार्थ होलान । नेपालका राजनीतिक दलका नेताहरुले सिद्वान्तबिहीन राजनीतिक यात्रा तय गर्दै सत्ताको लागि देशलाई बन्धक राखेर भए पनि जुनसुकै दलसँग मिलेर आफुनुकूलको वातावरण बनाउन लागि परेको कारणले नै आज पनि बिदेशीको आँखा नेपालमा गडिइराखेको छ । देशमा भ्रष्ट्राचारले नेटो काटेको छ । यस मामलामा सम्बन्धित निकाए मौन छन ।
हालसालै विभिन्न संचारमाध्यममा फेरि पनि भ्रष्टाचारका कुरा उठिराखेका छन । सहरी बिकास मन्त्री पान्डेको आफ्नै कालिका कन्स्ट्रक्सनले ठेक्का लिएको धनगढी उपमहानगरपालिकामा सडक र नाला बनाउने कार्यको म्याद पून: थप भएको छ । राप्रपाको कोटामा मन्त्री बनेका पान्डे यस अघि पनि धेरै निर्माण आयोजनाको ठेक्कापट्टा आफुलाई पार्न सफल भएका थिए र विवादीत पात्र पनि हुन । उता अमलेखगन्जमा नेपाल आयल निगमले १० हजार किलोलिटर इन्धन भन्डारण क्षमताको ट्यांकी निर्माण कार्यमा अनियमितता गरेको आशंका गर्दै अख्तियार र उधोग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले अनुसन्धानको काम अगाडि बढाएका छन ।
उक्त निगमलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धा नगराएको, निश्चित कम्पनीको लागि अनुकूल हुने गरी मापदन्ड बनाएको, बढी लागतमा ठेक्का सम्झौता गरेको भन्ने आरोप लागेको छ । बिगतका सरकारका पालामा थुप्रीएका भ्रष्टाचारका फाइलको चाङले अख्तियारको कार्यालय भरिएको छ तथापी जुन सरकार आए पनि दैनिक यस्ता घटनाहरु झन मौलिंदै गएका छन ।
एकातिर बौद्विक तथा केही बुझेका ब्यक्तित्वहरु पद, पैसा र प्रतिष्टाकै लागि नेताको चाकरीमा रमाएर आफु र आफ्ना परिवारका लागि भविश्यको सुन्दर गन्तव्य तय गर्दैछन भने अर्कोतिर उधोग, ब्यपार तथा ब्यबसायमा लागेका कयौं मानिसहरु आफ्नो पेशामा सरकारको असहयोग तथा बित्तिय संस्थाहरुको मनोमानी चर्को ब्याजदरका कारण दैनिक आत्महत्याको बाटो रोज्न बाध्य छन । देश र जनताको लागि केही गर्छु भन्ने युवा नेतृत्वलाई सामान्य झिनामसिना कुरामा अल्झाइन्छ र पाखा लगाइन्छ भने अर्कोतिर बर्षौंदेखि बिदेशी नागरिकता खल्तीमा हाली भारु र डलरको खेतीमा राजनीति गर्न पल्केकाहरुलाई सोह्रै आना छुट दिइएको छ ।
तिनलाई न त यो देशको कानुनले छुन्छ , न त नैतिक र इमान्दारीताको धरातलले नै पच्छ्याउँछ । तसर्थ देशमा बिदेशी चलखेल किन हुँदैछ ? अहिले नेपालको राजनीतिमा फेरि पनि उतारचढाब ल्याएर अस्थीरता निम्त्याउने तत्वहरु के के हुन ? किन दलीय नेताहरु जनता र देशमुखी नभइ सत्ता र शक्तिको लागि आफ्नै स्वार्थमा डुबेका छन त ? प्रत्येक चुनावमा नेता र दल छान्न अझै पनि नेपाली जनता किन बुझक्कड भएका छन त ? बिदेशीहरुको अनावश्यक चलखेल बन्द गर्न नेपाली बिद्वान बर्ग र नेताहरुको बिद्वता कहिले प्रकट हुन्छ ?
किन आज हामी सियोदेखि मियोसम्म सुनदेखि नुनसम्म, हरेक कुरामा बिदेशीकै भर पर्नुपर्ने बाध्यता छ ? किन अझै भ्रष्टाचारको खेती मौलाइरहेको छ ? अझै हामीले तिनै भ्रष्टाचारीहरुलाई सत्तामा पुर्याउने ठेक्का कतिन्जेल लिने ? यी यावत प्रश्नहरुले हामी सवैलाई जिस्क्याइरहेको छ तर हामी भने मौन ब्रतमा रमाइरहेका छौं । अनि युवा पुस्ता बिदेश पठाउँछौ । रेमिट्यान्समा आर्थिक बोझ हटाउँछौ ।
भारतीय सीमानाका नेपालीको ब्यथा सुन्ने फुर्सद कसैलाई छैन । दैनिक कयौं सीमाना मिचिएका छन तर जसको नेतृत्वमा सरकार बनेपनि मौनता र सान्त्वना सिवाए अरु केही छैन ।
नेतृत्वले विभिन्न प्राकृतिक श्रोत र साधनहरुसँग सम्बद्व आयोजनाहरु सांसदहरु हुँदाहुँदै अध्यादेशमार्फत समझदारीमा भन्दै सन्धि र सम्झौतामा क्षणिक र सीमित ब्यक्तिको फाइदाको लागि बिदेशीलाई बुझाउँदासमेत चुप रहन्छौं ।
तैपनि हामी हाम्रा नेताहरुको अग्रगमनको कथा सुनिरहन्छौं ।
अनि यस्तै धमिलो पानीमा माछा मार्न बिदेशीको जाल फिँजाइएको छ भने स्वदेशी मछुवाहरु पनि भ्रष्टाचारको ढडीया तेर्स्याउन निर्धक्क लागिपरेका छन । तर हाम्रो मौन व्रत कहिलेसम्म ?
खिमराज गिरी




