Comments Add Comment

Advertisment

SKIP THIS

संखुवासभाको नागढुङ्गा र थाइल्यान्डको नाका गुफाको सर्प आकृति

२३ असार , काठमाडौँ । केही दिनदेखि थाइल्यान्डको नाका गुफाका सर्प आकृतिका तस्बिरहरू राखेर पिलुवा खोला दोभानको भन्ने प्रचार गरि राखेको पाएका छौं । कतिपयले संरक्षण गर्ने र पर्यटकीय स्थल बनाउनु पर्ने समेत लेखेका छन् । यसरी गलत तस्बिर राख्नेहरुलाई झन प्रोत्साहन गरिराखेका छौं ।

पिलुवा खोला दोभान र संखुवाखोला दोभानका वास्तविक तस्बिर यहाँ राखेको छु । साथै त्यस नागढुङ्गाका किंवदन्ती पनि राखेको छु ।

प्रचलित किंवदन्ती अनुसार कलियुगको शुरुवात हुन लाग्दाको कथा हो यो । भोटमा कलियुगको शुरुवात भए पछि धर्मात्मा रहेका नागनागिनको जोडी अरुणको किनार किनार नेपाल तर्फको बाटो आएछ । यसरी आउँदा संखुवाखोला र अरुणखोला दोभानको शान्त ठाउँमा बस्न थालेछ । यसरी दोभानमा आउँदा नाग भुतेदहमा बस्न थालेछ भने नागिन साल्पा पोखरीमा बस्न थालेछ । यहाँ खोला किनारमा पानीको धारले काटिएको चिन्हहरुलाई नागनागिन घस्रिदा बनेको डोब भन्ने गरिन्छ । पहिले धार्मिक रहेका नागनागिनले फलफूल तथा गन्ध मात्रै खाएर बाँच्ने गरेकोमा बिस्तारै कलिको हावाले छोएपछि नाग राक्षस हुन थालेछ र जनावरहरु खान थालेछ । त्यहाँ नजिक आउने मानिसहरुलाई पनि नागले हावामा बेस्सरी तानेर खान थालेछ । यसरी घरपालुवा जनावर तथा मानिसहरु पनि हराउन थालेपछि मानिसहरु आजित भएर धामी लगाएर सात दिन सात रात मन्त्र गरेर नागलाई संखुवा दोभानबाट भाग्न बाध्य बनाइएछ ।

यसरी भुतेदहबाट भागेका नाग पिलुवा खोला अरुण खोला दोभानमा बसेछ । यहाँ पनि हावाबाट सास तानेर जनावर तथा मानिसहरु खान थालेछ । धेरै नै मानिसहरु तथा जनावरहरु हराउन थालेपछि गाउँले जम्मा भएर माङदिङको केपेहाङ बिजुवालाई बोलाएर सात दिन सात रात मन्त्र फुक्न लगाइयो । यसरी मन्त्र फुक्दै मुन्धुमलाई फलाकेर ठूलो मुसलधारे वर्षा तथा ठूलाठूला चट्याङ पार्न थाल्यो । यसरी चट्याङको आगोको मुस्लो रुपि बज्र खसालेर नागलाई टुक्राटुक्रा पारेर मार्न सफल भयो । यसरी नागको मृत्युु हुँदा सात दिनसम्म नागको रगतले गर्दा अरुणखोला रातै बग्यो ।

यसरी राक्षस बनेका नाग मारिसकेपछि बिजुवा तथा ढोलेहरु घरतर्फ फर्कदै आए । यता साल्पापोखरीमा बसिरहेका नागिनले नागको मृत्यु भएको थाहापाइसकेका थिए । त्यसैले बिजुवाले आफ्नो नागको हत्या गरेको बदला लिन पर्खेर बसे । चिरखुवा दोभान नजिकै पुग्दा नागिनले बिजुवाले समाएको लट्ठीमा आफू रुप परिवर्तन गरेर बिजुवालाई डस्यो । बिजुवाले आफूलाई नागिनले डसेको थाहा पाएपछि ढोलेहरुलाई भन्यो । मलाई नागिनले डस्यो, अब म छिट्टै मर्छु तसर्थ मेरो मासु टासेर पकाएर खानु भने । साथै आफ्नो मन्त्र साधना गर्ने सामग्री ढोल ढ्याङ्ग्रो प्याङपेटारोहरु चिरखुवा दोभानमा सेलाइदिनु भने ।

ढोलेहरुका लागि बिजुवा राजा समान तथा गुरु समान भएको हुँदा बिजुवाको आज्ञा मान्दै बिजुवाको शरिरको मासु ताँसेर घर तर्फ लग्न राखे, हाडछालाहरु खोला किनारमा गाडे । घर पुगेपछि परिवार साथ बसेर मासु पकाए । तर परिवारले साथ बसेर खानु अगाडि नै नागिनले फेरि ब्राम्हणी रुप लिएर आएर सो मासु नखान भने । ढोलेहरुले बिजुवाको आज्ञा तोड्न नसक्ने भनेर भन्दा म जस्तो शुद्ध ब्रामह्णीले भनेको मान्नु भनेर कर गरे । ढोलेहरुलाई मुखमा नराख्ने तर सुँघेर फाल्न मनाए । ढोलेहरुले पनि बिजुवाको मासु खाएनन् । सुघ्दै फेँके ।

यदि बिजुवाले भने झै ढोले तथा उनका परिवारले बिजुवाको मासु खाएको भए बिजुवामा भएको धामी शक्ति अरुमा पनि सर्दथ्यो । तर नखाई केवल सुँघेको हुँदा अचेल धामीको शक्ति अन्तरात्माबाट नभएर सुँघेर मात्रै बक्ने गर्दछन् भनिन्छ । धामी लगाउँदा अचेल खासै शक्ति नहुने र सुँघेर मात्रै भन्न सक्ने हुन्छन् भनिन्छ ।

संखुवासभाको पिलुवा खोला तथा अरुणको दोभानमा ठूलो चिल्लो सर्प घुमेको जस्तो ढुङगा देख्न पाइन्छ, जसलाई नाग घिस्रिएको भनिन्छ । उक्त ढुङ्गालाई अझै पनि नागढुङ्गा भन्ने गरिन्छ । त्यस्तै केपेहाङ धामीले मन्त्रको शक्तिले बज्र खसाएको ठाउँलाई केपेहाङ भनिन्थ्यो । जुन शब्द अपभ्रंश भई अचेल केपानाङ्ग भन्ने गरिन्छ ।

साथै चिरखुवा दोभानमा ढोल ढ्याङ्ग्रो प्याङपेटारोहरु चट्टान स्वरुपमा सिद्ध भएर रहेको भन्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै