कुरा ३५ सालतिरको हो । रुकुमकोटको एक गाउँमा एउटा ठूलो किराना तथा खाध्यान्न पसल थियो ।
डा सुरेन्द्र केसी लगाएतका केही ब्यक्तिहरु कामको सिलसिलामा घुम्दै गए । डा केसीलाई एउटा साबुन चाहियो र उनले पसलेसँग भने : ” मलाई एउटा सावुन ल्याउनुहोस न साहुजी !”
पसले: ” कड्केर छैन ! छैन ! ”
डा. केसी ” उ त्यो क्या त , दिनुहोस न भन्या !”
पसले : ” छैन क्या! दिन्न भनेसी दिन्न !”
डा केसीको टिम छक्क पर्यो ! कस्तो मान्छे होला भनेर बाटो लागे र अलि माथि पुगेर कुनै एउटा भद्र मानिसँग सोधे कि, ” हजुर , हामीले तलको एउटा किराना पसलमा सामान माग्यौं, उनीसँग भएको सामान पनि छैन दिन्न भने , दोस्रो पटक फेरि अनुरोध गरयौ तैपनि दिएनन किन होला हजुर ?”
ती ब्यक्तिको जवाफ: ” ओहो !!! ती ब्यक्ति त इश्वरी बाबुसाहेब हुन नि ! उनलाई नमस्ते नगरी सामान माग्यो भने मरे पनि दिंदैनन ! ”
हुन पनि कुरो बुझ्दा ती इश्वरी भन्ने ब्यक्ति धनी महाजन रहेछन । उनको पसलमा उनलाई नमस्ते नगरी सामान दिंन इन्कार गर्दा रहेछन ।
पछि डा केसीको टिम त्यही बाटो आए र डा केसीले उनै पसलेलाई ओहो ! नमस्ते हजुर ! के छ हालचाल भनेर सोधेपछि फेरि त्यही सामान मागे र पसलेले खुशी भएर दियो । डा. केसीको टीम छक्क पर्यो !
हो, अहिले नेपालको राजनीति पनि इश्वरी बाबुसाहेबको हैकम जस्तै त्यसरी नै चलिराखेको छ । भलै किराना पसलको साहुजीले आफ्नो सामान दिन्न भन्न पायो तर ब्यपार हो किन त्यस्तो गर्यो ? किनकी उसमा घमन्डको कालो बादल मडारिरहेको थियो ।
उसले आफ्नो ब्यपार भन्दा नि मानसम्मान र प्रेस्टिजलाई ख्याल राख्यो । जवकी अहिलेको राजनीति पनि इश्वरी बसुसाहेबजस्ता दुई चार जना राजनीतिक ब्यपारीले खुद्रा पसल राखेजस्तो अहंमताको जडमा पसल चलाई राखेका छन । मन्त्री र प्रधानमन्त्री भन्ने चिज अहिले सामान्य हो । प्रकृयागत रुपमा गन्तव्य पुग्नै पर्दैन । मन्तब्य दिएर बाबुसाहेबको धोती सम्हाले त्यो नांग्ला खुद्रा पसलमा राखेको माल (राजनीतिक पद)पाइहालिन्छ । त्यसैले त एशियाको सवभन्दा गरिब मुलुक भनेर ट्याग भिराइयो । हामी कति भाग्यमानी ! किनकी, हाम्रो पासपोर्टको भ्यालु सोमालिया र कंगो भन्दा पनि कम ।
खाध्यान्न महंगीले सीमा नाघ्यो ! भारतमुखी हुँदा चिनी रोकिदियो । बिना इजाजत भारतीय प्रधानमन्त्री नेपालको भूभागमा आउँदा नेपालका नेता बेखवर ! दैनिक सीमाना मिचिएका छन ! बिदेश जाने युवाहरुको लर्को छ । गठबन्धनको स्वार्थमा रुमलिएको राजनीतिले देशको अर्थतन्त्र धराशायी हुँदा पनि सरकारी ढुकुटीमा नेताको बिदेश भ्रमण रोकिएको छैन । स्वास्थ्य क्षेत्र तहसनहस भएको छ । सामाजिक बिकृत्ति र बिसंगतीको चाङ थुपृएका छन ।
राष्ट्रपतिद्वारा आम माफी पाएको रुकुमको एक ब्यक्तिले फेरि मान्छे काटेर थुनामा छ । सियोदेखि मियोसम्म , नुनदेखि सुनसम्म अरु देशको भर पर्नुपर्ने यो मुलुक अहिले कोबाट निर्देशित छ र कता जाँदै छ भन्ने कुरा यो गन्तब्यबिहीन यात्राको चालक र सहचालक को को हुन त ? समयले बताउन सकेन !


