९ माघ , काठमाडौ । बैंक तथा वित्तीय संस्था प्रयोग गरेर रकम ठगी गर्ने प्रचलन धेरै पहिलेदेखि चलेको हो । पहिले-पहिले चेकमा नक्कली हस्ताक्षर गरेर, कर्जा दुरुपयोग गरेर वा प्रतितपत्रको माध्यमबाट रकम ठगी गर्ने चलन थियो । तर अचेल प्रविधिको विकाससँगै ठगी गर्ने तरिका पनि परिवर्तन भइरहेको पाइन्छ । अचेल ठगी पनि अन्तर्राष्ट्रिय हुन पुगेको छ । अचेल चलेका यस्तै केही ठगीको बारेमा यहाँ चर्चा गरिएको छ ।

क. फेसबुकमा नयाँ खाता खोलेर साथी बनाएर पैसा माग्ने

कुनै दिन तपाईंलाई चिनेको कोही साथीको फोटो भएको फेसबुक खाताबाट फेसबुकमा साथी बन्ने आग्रह आउँछ । तपाईंले आफ्नै साथी सम्झेर केही नसोची त्यस्तो आग्रह स्वीकार गर्नुहुन्छ । त्यसपछि त्यो मानिसले सामान्य हालचाल सोधेर आफू अप्ठेरोमा परेकोले केही रकम सहयोग चाहिएको भन्छ । यस्तोमा रकम धेरै ठूलो नहुने पाइन्छ । यस्तोमा दश पन्घ्र हजारको सहयोगको मात्रै आग्रह आउने गरेको पाइन्छ ।

उसले म्यासेन्जरमा लेख्छ, ‘म यात्रामा छु, यहाँ मेरो कार्ड र अनलाइन बैंकिङ चलेन, भएको नगद सबै सकियो, फर्केर आउने वित्तिकै दिन्छु, मसँग मोबाइल पनि छैन त्यसैले मेरो साथीको डिजिटल वालेटमा अथवा बैंक खातामा यति पैसा हालेर मद्दत गर’ भन्छ । उसले डिजिटल वालेट खाता वा बैंक खाताको विवरण पनि दिन्छ ।

यस्तो अवस्थामा कतिपय मानिसले आफ्नो साथी अप्ठेरोमा परेको छ भन्ठानेर उसले भनेको जस्तै गर्छन् र ठगिन्छन् । खासमा त्यो मानिस तपाईंको साथी हुँदैन । उसले त तपाईंको साथीको फेसबुकको प्रोफाइल फोटो चोरेर नयाँ फेसबुक बनाएको हुन्छ । त्यो पनि ठगी गर्ने प्रयोजनको लागि मात्रै । यस्तो कार्य हृवाट्सएप र भाइबर मार्फत पनि भइरहेको छ ।

यस्तोमा के गर्ने ?

यदि तपाईंको कोही साथीले पैसा मागेमा त्यो साथीसँग फोनमा कुरा गर्न प्रयास गर्ने । यस्तो आग्रह आउने बित्तिकै मलाई फोन गर वा मलाई तिम्रो नम्बर देऊ भन्ने वा त्यही फेसबुक खाताको म्यासेन्जरमा फोन गर्ने । त्यसो गरेमा त्यो मानिस भाग्छ । त्यसपछि यो कुराको जानकारी अविलम्ब तपाईंको साथीलाई र प्रहरीलाई दिने ।

ख. विदेशबाट मसँग ‘करोडौं डलर छ, म तिम्रो नाममा पठाउँछु’ भनेर इमेल आउने

तपाईंलाई पटक-पटक इमेल आउन सक्छ, म फलानो देशको ठूलो मानिसको श्रीमती वा परिवारको सदस्य हुँ । मेरा बा अथवा श्रीमान् मारिनुभयो । उहाँले लुकाएर राखेको ठूलो रकम पैसा छ, त्यो पैसालाई देश बाहिर लैजान मलाई मद्दत गर्नुु्स् म तपाईंलाई ३० प्रतिशत वा त्योभन्दा बढी रकम दिन्छु । यस्तो इमेल सामान्यतया अफ्रिकी मुलुकबाट आउने गरेको पाइन्छ ।

अथवा त्यस्तो इमेल म फलानो बैंकको ठूलो ओहोदाको अधिकृत हुँ । मेरो बैंकमा तपाईंको थरसँग मिल्ने कुनै ग्राहकको धेरै रकम छ, त्यो ग्राहक र उसका सबै परिवार हवाईजहाज वा त्यस्तै कुनै दुर्घटनामा मारिए । तपाईं त्यो रकम माग्नुस्, म मिलाइदिन्छु ।

यस्तोमा भनिएको रकम ज्यादै ठूलो हुन्छ । यदि तपाईंले यस्तो इमेल रिप्लाई गर्नुभयो र आफ्नो पासपोर्ट र बैंक खाताको विवरण पठाउनुभयो भने उसले पैसा पठाउने चार्ज भनेर थोरै थोरै रकम माग्न थाल्छ । अनि जब तपाईंले पैसा माग्न थाल्नुहुन्छ, उसले विभिन्न बहाना बनाउँछ र तपाईर्ंलेे रकम पठाउन छाडेपछि ऊ गायव हुन्छ । अब तपाईंले गर्न सक्ने केही छैन ।

यस्तोमा के गर्ने ?

कुनै पनि नचिनेको मानिसबाट आएको इमेलको जवाफ नफर्काउने । त्यस्ता इमेललाई स्पाम बनाउने । आफ्नो व्यक्तिगत विवरणहरू, नागरिकताको विवरण, पासपोर्टको विवरण, आफ्नो बैंक खाताको विवरण र आफ्नो परिवारका सदस्यहरूको विवरण कुनै पनि हालतमा नचिनेको मानिसलाई नदिने । यदि आफूले चिनेको कोही परिवारका सदस्य वा साथीहरू यस्तोमा फसेका छन् भने तुरुन्त सम्झाउने ।

ग. माया प्रेममा फसाएर विदेशबाट उपहार र नगद आएको भनेर पैसा ठग्ने

तपाईंलाई कुनै दिन विपरीत लिङ्गी मानिसबाट फेसबुक वा इन्स्टाग्राममा साथी बन्ने आग्रह आउँछ । यस्तो खासगरी महिलाहरूलाई पुरुषबाट बढी आउने देखिएको छ । उसको सामाजिक सञ्जालमा केही राम्रा भ्रमणका र कार्यालयमा काम गर्दै गरेको स्थितिका फोटोहरू भएको हुन्छ । विस्तारै साथी बनेपछि कुराकानी हुनु स्वाभाविकै हो ।

अझ त्यो पनि च्याट, भ्वाइस र भिडियोमा पनि । विस्तारै विस्तारै उताबाट माया देखाउन सुरु हुन्छ र यताबाट त्यो माया स्वीकार गर्न । अब उसले आफूलाई बेलायत वा अरू कुनै समृद्ध देशको ठूलो व्यापारी वा डाक्टर जस्तो पेशाको भएको र नेपालकी राम्री सज्जन केटी भेटेर विवाह गर्ने योजना भएको कुरा सुनाउन थाल्छ ।

दुवैजना कुराकानीमा रमाउन थाल्छन्, घण्टौं गफिन थाल्छन् । केही दिनको कुराकानी पछि उताबाट केटाले केही उपहार सामग्री पठाउन मन लागेको कुरा बताउँछ । यताबाट पनि उपहार सामग्री आउने भएपछि स्वीकृति हुन्छ ।

त्यसको दुई तीन दिनपछि उताबाट उपहार सामग्री पठाएको भनेर पार्सलको बक्साको फोटो र कुनै कुरियर सर्भिसको नम्बर आउँछ । यता महिला उपहारको व्यग्र प्रतीक्षामा हुन्छिन् । अब हरेक दिनका कुराकानी उपहारका हुन्छन् ।

त्यत्तिकैमा सामाजिक सञ्जालको कुनै हृवाट्सएप जस्तै नम्बरबाट नेपालमा बस्ने केटीलाई फोन आउँछ । ‘तपाईंको साथीले पठाएको सामान एअरपोर्टमा आइपुगेको छ । त्यसमा फोन, अरू केही उपहारका सामान र केही नगद रकम पनि छ । त्यो सामान छुटाउन भन्सारमा बुझाउन ५० हजार रुपैयाँ वा त्यस्तै रकम मैले भनेको खातामा जम्मा गरिदिनुहोला ।’

सामान्यतया यो फोन कुनै भारतीय वा अरू देशको हृवाट्सएप वा भाइबरबाट आउने गर्दछ । तर यहाँ बैंक खाताको विवरण भने नेपाली नै बैंकको दिइएको हुन्छ ।

उताबाट पार्सलको फोटो नै आइसकेकोले उपहार र नगद पक्कै आउने लोभमा त्यो मानिसले भनेको खातामा यताबाट केटीले पैसा जम्मा गर्छिन् । त्यस बीचमा झन् विदेशमा रहेको केटासँग राम्रो कुराकानी हुँदै गरेको हुन्छ । अर्को दुई दिनमा फेरि पहिले पैसा माग्ने व्यक्तिले फोन गरेर भन्सारमा तिर्न पैसा नपुगेकोले अकोर्े दुईलाख वा अझ बढी रकम मागिन्छ र पाउँछ पनि ।

अनि अर्को दुई तीन दिनमा त्यही मानिसको धम्कीको स्वरमा फोन आउँछ, ‘तपाईंको नाममा धेरै नगद पैसा आएको रहेछ । प्रहरीले थाहा पायो । अब प्रहरीलाई धेरै पैसा दिनुपर्छ, दश लाख रुपैयाँ चाहियो नत्र तपाईंलाई जे पनि हुनसक्छ ।’

यताबाट केटीले त्यो फोन गर्ने मानिस भेट्न खोज्दा त्यो मानिसले भेट्न मान्दैन । अनि केटीले थाहा पाउँछिन् आफू माया जालमा परेर ठगिएको । यता विदेशी केटा टाढिन्छन् र सामाजिक सञ्जालमा ब्लक गर्छन् । कतिपयले त त्यो दशलाख पनि जम्मा गरिसकेपछि आफू ठगिएको थाहा पाउँछन् ।

यो ठगीको अर्को पाटो अझ डरलाग्दो छ ।

त्यहीमाथि उल्लेख गरिएको केटा मानिसले अर्को कुनै नेपाली महिला वा पुरुषसँग उताबाट केही दिन मिठा कुरा गरेर लोभमा पारेपछि भन्छ, ‘म केही दिनको लागि कार्यालयको कामको सिलसिलामा भारत भ्रमणमा जाँदैछु । मसँग भएको कार्ड भारतमा चल्दैन, त्यसैले मलाई केही दिनको लागि तिम्रो डेविट कार्ड पठाइदेऊ न । मलाई पैसा चाहिने हैन कार्ड र तिम्रो खाता नम्बर मात्रै देऊ न । म समय मिल्यो भने नेपाल पनि आउँछु नत्र तिमीलाई भारतबाट उपहार पठाउँछु ।’

लोभ र शायद मायाजालमा परिसकेकोले यता बस्ने केटा वा केटीले उसले भनेको ठेगानामा आफ्नो बैंक खाताको डेविट कार्ड र खाताको विवरण पठाइदिन्छन् । यता बस्नेले सोच्छ, पैसा नभएको डेबिट कार्ड पठाउँदा के नै हुन्छ र ? बरु खातामा पैसा आयो भने चेकबाट निकालौंला । जब डेबिट कार्ड हातमा पर्छ, ठगीको रकम यही खातामा जम्मा गर्न लगाइन्छ । यहाँबाट पैसा जम्मा गरेको केही मिनेट भित्रै भारतका विभिन्न स्थानबाट सबै रकम निकालेको पाइएको छ ।

माथिको पहिलो प्रकारको ठगी गर्ने र दोस्रो प्रकारको ठगी गर्ने एउटै समूहका मानिस हुन्छन् । पहिलो ठगीमा जम्मा गर्न लगाइने खाता यही दोस्रो प्रकरणका मानिसका हुन्छन् । यस्तोमा न प्रहरीले केही गर्न सक्छ न समाजले । आफैं सजग बन्नुको कुनै विकल्प छैन । यस्तोमा प्रहरी नेपालको बैंकमा रहेको बैंक खातावालासम्म पुगे पनि अरू केही गर्न सक्ने देखिन्न ।

यस्तोमा के गर्ने ?

कुनै पनि नचिनेको मानिससँग सामाजिक सञ्जालमा कुरा नगर्ने । उपहारको लोभमा त पर्दै नपर्ने । कसैले कसैलाई यो संसारमा त्यत्तिकै केही दिंदैन, यो कुरा मनन गर्ने, बुझ्ने । सामाजिक सञ्जाल चलाउँदा ध्यान दिने । आफ्नो खाताको विवरण र कार्ड अरूलाई दिनु त हुँदैहुँदैन । यदि यस्ता कुरा कतैबाट भयो भने प्रहरीलाई खबर गर्ने ।

घ. फेसबुकमा जोड्ने, हृवाट्सएपमा कल गरेर शारीरिक अंग देखाउन लगाएर ठग्ने

अचेल अर्को प्रकारको डरलाग्दो ठगी बजारमा सुन्न पाइन्छ । यो ठगीमा नेपालका पुरुषहरू पर्ने गरेका छन् । सबैभन्दा पहिला फेसबुक वा इन्स्टाग्राममा उत्तेजित तस्वीर भएका महिलाको साथी बन्ने आग्रह आउँछ । त्यो आग्रह स्वीकार गरेपछि एकअर्काको बीचमा कुराकानी (च्याट) सुरु हुन्छ ।

च्याटको क्रममा उताबाट महिलाले सोध्छिन्, ‘हृवाट्सएप छ ?’ यो प्रश्न सोध्नुको कारण तपाईंको फोन नम्बर लिनको लागि हुन्छ । जब हृवाट्सएप नम्बर आदानप्रदान हुन्छ, कुरा भिडियो च्याटमा पुग्छ । भिडियो च्याट हुन थालेपछि उत्तेजित ती महिलाले यताको पुरुषलाई आफ्नो गोप्य अंग देखाएर यता पनि त्यही गर्न आग्रह गर्छिन् । करीब एक मिनेटको यस्तो भिडियो च्याटपछि ती महिला गायब हुन्छिन्, सामाजिक सञ्जालमा यताका पुरुषलाई ब्लक गर्छिन् र सुरु हुन्छ ब्ल्याकमेलिङ ।

केहीबेरमै यताको पुरुषको हृवाट्सएपमा फोन आउँछ । यो पटक स्वर कुनै केटाको हुन्छ । ऊ भन्छ, ‘हामीसँग तिम्रा निर्वस्त्र फोटोहरू र भिडियोहरू छन्, मैले भनेको खातामा यति रकम आजै जम्मा गर, नत्र ती सबै भिडियोहरू तिम्रो परिवार र साथीहरूलाई पठाइदिन्छौं ।’

यस्तो परिस्थितिमा धेरैले ठूलो रकम तिरेको सुन्नमा आएको छ । कतिपय त पैसा नतिर्नेहरूको भिडियो बाहिर आएका पनि छन् ।

यस्तोमा के गर्ने ?

कुनै पनि नचिनेको मानिससँग सामाजिक सञ्जालमा कुरा नगर्ने । सामाजिक सञ्जाल चलाउँदा ध्यान दिने । कुनै नचिनेको महिलाले भन्दैमा निर्वस्त्र हुने त कुरै हुन्न । यदि यस्ता कुरा कतैबाट भयो भने त्यस्ता सामाजिक सञ्जाललाई प्रहरीकोमा खबर गर्ने ।

ङ. बैंकको कर्मचारी हुँ भन्दै तपाईंको बैंक खाताको कोड माग्ने

अचेल हाम्रा बैंक खाताहरूमा मोबाइल नम्बर अनिवार्य हुने गरेको छ । बैंकले हामीलाई हाम्रो खाताको विवरणदेखि हाम्रो पासवर्ड परिवर्तन गर्ने अधिकार समेत मोबाइल नम्बर र त्यसमा आउने कोडको माध्यमबाट हुने व्यवस्था गरेको हुन्छ । त्यसैले पासवर्ड मात्रै हैन मोबाइल पनि सुरक्षित हुनु जरूरी छ ।

हाम्रो मोबाइल नम्बर गोप्य पनि हैन । जोसुकैलाई हाम्रो मोबाइल नम्बर थाहा हुनसक्छ । यस्तोमा ठगी गर्ने समूहले हाम्रो बैंकको मोबाइल बैंकिङको पासवर्ड थाहा पाउन चाहन्छ ।

जब उसले त्यो प्रयास गर्छ, हाम्रो मोबाइलमा बैंकले पठाएको एउटा कोड नम्बर आउँछ । अब हामीलाई कतैबाट फोन आउँछ, ‘म बैंकको कर्मचारी बोलेको, तपाईंको बैंक खातामा समस्या आएको छ, मैले एउटा कोड नम्बर तपाईंको मोबाइलमा पठाएको छु, त्यो मलाई भनिदिनुस्, म समस्या हल गरिदिन्छु ।’

हामीले त्यो फोनलाई बैंकबाटै आएको ठानेर हाम्रो मोबाइलमा आएको कोड नम्बर त्यो मानिसलाई दिन्छौं । अब त्यसपछि हाम्रो बैंक खातामा भएको सबै पैसा हराउँछ । उसले हाम्रो खाताको मोबाइल बैंकिङसँग सम्बन्धित सबै अधिकार आफूले लिएर हाम्रो खाताको पैसा गायब गर्छ । यो अचेल चलेका मुख्य ठगीहरूमध्येको एउटा हो ।

यस्तोमा के गर्ने ?

बैंक कर्मचारीले तपाईंसँग कोड माग्दैनन् । यो कुरा बुझ्ने । कसैले यस्तो फोन गर्‍यो भने तुरुन्त त्यो व्यक्तिको पूरा परिचय, बैंकको शाखा, पदको विवरण माग्ने । यति गर्ने वित्तिकै त्यो मानिसले फोन काटेर बेपत्ता हुन्छ । त्यसपछि आफ्नो खाता भएको बैंकमा सम्पर्क गर्ने र प्रहरीलाई तुरुन्त खबर गर्ने ।

साथै आफ्नो मोबाइल बैंकिङको पासवर्ड मात्रै हैन, मोबाइल फोन पनि सुरक्षित राख्ने । मोबाइल फोनमा कोड नम्बर राख्ने । कोड नम्बर राख्दा ११११, २२२२ जस्ता वा आफ्ना र आफ्ना परिवारका जन्ममितिहरू नराख्ने । त्यता कोडहरू पत्ता लगाउन सजिलो हुन्छ । मोबाइल खोल्न कोड हाल्दा अरूले देख्ने गरी नहाल्ने । अझ अचेल त धेरैजसो मोबाइलमा अनुहार पढ्न सक्ने सुविधा भएकोले कोड नम्बर सहित त्यो पनि राख्ने ।

च. लगानी गर्दा धेरै फाइदा हुने भन्दै लगानी गर्न आग्रह गर्ने

तपाईंलाई खासगरी इन्स्टाग्राममा कसैले फलो गर्छ । हेर्दा आकर्षक र धनी जस्ता विदेशी महिला वा पुरुषले तपाईंलाई फलो गरेपछि सन्देश पठाउन थाल्छ । तपाईं पनि त्यो मानिससँग कुरा गर्न थाल्नुहुन्छ । उसले आफू ठूलो लगानी व्यवस्थापन गर्ने संस्थामा काम गर्ने कर्मचारीको रूपमा परिचय दिन्छ र तपाईंलाई पनि सानो लगानीबाट धेरै फाइदा हुने लोभ देखाउँछ ।

आफूले छोटो समयमा यस्तो लगानीबाट धेरै आम्दानी गरेको कुरा बताउन थाल्छ । उसको कुरा सुन्दा एकछिन त लाग्छ, यो मानिस सही बोल्दैछ ।

उसले तपाईंलाई उसको संस्थाको वेबसाइटको ठेगाना पनि दिन्छ जहाँ आकर्षक लगानीका अवसरहरू देखिन्छन् । उसले तपाईंलाई थोरै वा ५ हजार अमेरिकी डलर मात्रै जम्मा गरे पनि एक हप्तामै डबल हुने कुरा गर्छ । यदि तपाईंले रकम पठाए पनि वा गर्दिनँ भने पनि उसले तपाईंलाई ब्लक गर्छ । यसरी ठूलो प्रतिफलको लोभमा धेरै मानिस फसेको सुनिन्छ ।

यस्तोमा के गर्ने ?

संसारमा एक हप्तामै दुई गुणा फाइदा हुने व्यवसाय कुनै छैन । यस्ता कुरा विश्वास नगरौं । त्यस्ता च्याटमा नबसौं, नफसौं ।

(लेखक पूर्व बैंकर हुन् ।)