अनगिन्ती सम्बन्धका जेलहरू
आफैंले क्रमशः सृजना गरेछु
कोरेका आकारहरूमा बिस्तारै
आफैलाई हराउन पुगेछु।।
सम्बन्धका आस्थाहरू भित्र
आफैं क्रमशः कमजोर भएछुँ
कता समात्नु कता भूलाँउनु
आस्थाहरूमा हराउन पुगेछु।।
कुन बिचारमा आफैलाई हिडाँउनु
अनगिन्ती संभाबनाहरू देखा पर्छन्
मदमस्त मडारिन्छन स्बभाबहरू
निर्लज्जताको उदघोष गर्दै।।
सम्बन्धका जेलहरूमा फेरि फेरि
बिकल्पको कुनै पनि स्थान हुन्न
किनकि आफैलाई कैदी बनाई
आफ्नै स्बभाबको जेल बनाउनु छ।।
आफ्नै सम्बन्धका जेलहरू
आफैलाई कैदी बनाईरहन्छन
अपराध केही गर्नु पर्दैन यहाँ
मात्र सजाँयमा तयार रहनुपर्छ।।
सत्य असत्य कुनै भेद छैन
राम्रो नराम्रोको भिन्नता हुन्न
सम्बन्धका जेलहरू भित्रबाट
आफ्नैं आहुतिको माग भैरहन्छ।।
कुनै सम्बन्धका जेलहरू भित्रबाट
यथेष्टताका प्रमाणित आबाजहरू
मानौं निर्णयार्थ प्रस्तुत हुन्छन्
मन्थनको कुनै गुन्जाँयस हुदैन।।
‘म’ आफ्नै ‘म’ हुँ कि भन्नेमा पनि
सम्बन्धका आस्थाहरूमा टिक्नुपर्छ
सम्बन्धका जेलहरू भित्रबाट
‘म’ लाई मेरो रूपमा स्वीकार हुनुपर्छ।।
सम्बन्धका जेलहरू भित्रबाट
जीवित रहन अनेकौं नाटकमा
आफैलाई अनेकन् रूपबाट
जीवन भित्र मंचन गरिरहनु पर्छ।।
-दिनेश घिमिरे
विरूवा, भक्तपुर ।।







