Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीका डिएसपी मिमबहादुर लामाको कथा : बन्द नभएको आरन

काठमाडौं: माघ महिनाको कठ्याङ्ग्रिँदो जाडो, तिन दिनपछि बल्ल आकाश खुलेको छ आज । बिहानै घामको किरणसँगै म आँगनको डिलमा रहेको कुर्सीमा ढाड अडेस लगाई बसेको छु । पहारिलो घामको किरणले चिसोबाट केही राहतको महसुस भएको छ । शरीरमा न्यानोपन बढ्दै गएपछि आँखाले पनि आरामको अनुभूत गरेकोले होला म मन्द निद्रामा पर्छु । आमा भान्सामा बिहानै खेतालोहरूको लागि खाजा तयार गर्दै हुनुहुन्छ ।

यत्तिकैमा एउटा आवाज मेरो कानमा ठोकिन्छ, ‘नमस्ते दाइ ! कहिले आउनु भयो काठमाडौंबाट ?’

झस्केर म बिउँझन्छु । मेरो अगाडि एक जना युवक ठिङ्ग उभिएको छ, म जबाफ दिन्छु, “नमस्ते, भयो एक हप्ता जति,भाइलाई मैले चिनिन नि ?” मेरो प्रश्न उनको कानमा पर्दा नपर्दै हाम्रो गलफती सुन्नु भई मेरी आमा बाहिर आउनुहुन्छ । आमालाई देख्ने बित्तिकै युवकले “नमस्ते हजुर” भनी सम्बोधन गर्छन् ।

म आमालाई सोध्छु,”को हुन् र यी बाबु ?”

“उही क्या सिमल पानीको सोमे काकाको नाति रमेश, यिनीहरूका तिन भाइ छन् । यो चाहिँ माइलो हो,ज्यादै मेहनती छन् “ तिमिले मेरो छोरालाई दाइ हैन काका भन्नु पर्छ, तिम्रो बुबाले भाइ भने पछि तिमीले काका भन्न परेन त ?” आमाले एकै रफ्तारमा उनलाई साइनोको सबक समेत सिकाउनु हुन्छ । मैले मनमनै सोचेँ, सोमे काकाको नाति भने पछि नरेको छोरो, लाठे भइसकेछ । नरे म सँगै पढेका, प्राथमिक शिक्षा हासिल गरेपछि आफ्नै पुर्ख्यौली पेशा आरन चलाई बसेका ।

म रमेशलाई कुर्सीमा बस्न इशारा गर्छु । ऊ थचक्क बस्छ ।

“काका नरिसाउनू है, अघि मैले तपाईंलाई दाइ भनेछु ।” मलाई आग्रह गर्छ ।

“किन रिसाउनु ?” जवाफ दिन्छु । जसरी मेरी आमा साइनोको सवालमा अलि कट्टर हुनुहुन्छ म अलिक सरल भएकोले माइन्ड गर्दिनँ ।

मैले उसको बुबाको हालखबर सोधेँ । उसले बेलिबिस्तार लगाउँदै बुबाले आफूलाई सकेसम्म पढाउन खोजेको, आफूले १० कक्षा भन्दा माथि पढ्न नसकेकोले आफूलाई अहिले आएर ठुलो पश्चात्ताप भएको कुरा एकोहरो भट्याउन थाल्छ । उनको दोहोर्‍याई दोहोर्‍याई कुरा गर्ने तरिका देखेर उनलाई सोध्छु “अनि तिम्रो पिउने पनि बानी छ ?”

“कहिलेकाहीँ पिउँछु, गाउँ डुल्दै गर्दा अलि अलि लत लाग्यो तर धेरै पिउँदिन ।”

आमाले एक कचौरा दिनुहुन्छ । आमाले दिनुभएको कचौराको जाँडले उसमा नयाँ ऊर्जा थपेको महसुस म गर्छु । ऊ अब बोल्न थाल्छ । ऊ आफ्नो समुदायको समस्याको बारेमा लामो फेहरिस्त सुनाउँछ । “काका हाम्रो लागि राज्यले के गरिरहेको छैन नि ।”

उसलाई सम्झाउन खोज्छु, “राज्यले कसैले पनि अन्याय नहोस् भनेर कानुन बनाई लागु गरिसकेको छ । छुवाछुत भेदभावको अन्त्य गर्न कानुनको व्यवस्था भइसकेको छ । सरकारी निकायहरूमा कर्मचारी भर्नाको आरक्षण व्यवस्थाहरू भइसकेका छन् । जनप्रतिनिधिहरूको दलितको प्रतिनिधित्व हुनेगरी व्यवस्था कार्यान्वयनमा आइसकेको छ । दलित उत्थानको लागि दलित आयोगको व्यवस्था भइसकेको छ ।”

ऊ दङ्ग पर्छ । “यो सबै कुरा मलाई थाहा थिएन तपाईंले गर्दा सबै कुरा थाहा पाएँ ।”

सोधेँ, “हजुर बा हजुर आमालाई कस्तो छ ?”

ऊ मलिन अनुहारमा वेदना पोख्छ, “हजुरआमा बित्नु भएको त ५ वर्ष भैइसक्यो नि । के गर्ने दैवको लीला ।”

म सानो छँदा प्राय बिरामी भइराख्ने हुनाले रोग काट्छ भन्ने विश्वासमा उनकै हजुर आमाको जुठो खुवाइयो । त्यो बेलादेखि मेरो रोग कटेको कुरा मेरी आमाबाट मैले बारम्बार सुन्दै आएको थिएँ । त्यसैले उनीलाई मैले ठुलीमा भनेर सम्बोधन गर्थें । “मैले जुठो खुवाएपछि तेरो रोग कटेकोले तेरो बिहेमा मलाई एउटा फरिया किनिदिएस् है” शब्दहरू मेरो कानमा फेरि गुञ्जियो । मलाई आत्मग्लानि भयो । जाबो एउटा सामान्य फरिया पनि किनेर दिन सकेन छु ।

रमेशले जीवनमा ठूलो फड्को मार्न सकेनन् । तर म उनलाई आफ्नो बालबच्चालाई योग्य मानिस बनाउन सक्ने हिम्मतिलो देख्छु । केही बेरमा उसलाई घरबाट फोन आउँछ र हतार हतार आफ्नो आरनतर्फ लाग्छ ।

म उनका बुवा र हजुरबुवालाई सम्झन्छु । गाउँ भरीका हँसिया, कोदालो, खुर्पा बन्चरो उनीहरूकै आरनमा तयार हुन्थ्यो । ज्याला बापत उनीहरूले बालीको रूपमा अन्नपात र चाडपर्वको बेलामा घरको परिवार सरह खाने कुरा समेत पाउँथे । उनका हजुरबुवाहरूले बनाएको कुटो, कोदालो, हँसिया लगायतका औजारहरूले खनिजोती उब्जाएको अन्नले सबैको जीवन धानेको थियो । अहिले पनि उनैका सन्तानहरूबाट तयार पारेको औजारहरूबाट उब्जाएको अन्न बालीबाट जीवन धान्दै छ । उनीहरूकै सन्तानले बनाएका भाँडाकुँडाहरूमा पकाएको खाना खाएर सबैको छाक टरेकै छ ।

उनका सन्तानहरू हाम्रा घरमा आउँदा खानापिना दिने हाम्रो परम्परा नै थियो । म स्कुल बिदा भएको समयमा कैयौं पटक कुटो,कोदालो, हँसिया अर्जाप्न आरन गएको छु ।

एक पटक आरनमा अलिक घुइँचो भएकोले धेरै समय पालो पर्खनु पर्दा भोकले लखतरान परेको कुरा सम्झन्छु । आरनमा आफ्नो पालोमा हातमा ठेला उठ्ने गरी खलाँती तानी सहयोग गरेको सम्झन्छु । त्यस बखत उनीहरूको परिवारले मलाई वास्ता नै नगरी खाना खाएकोले मैले मुखै फोरेर हामीकहाँ आउँदा चाहिँ हामीले खाना दिने तपाईंहरूले चाहिँ खाना खाने भनेर पनि नसोध्ने ? भन्दा सोमे काकाले जवाफमा “बाबु हामी त तल्लो जातको न पर्यौं, हाम्रो हातको पानी पनि चल्दैन बाबू ।”

उनको जवाफ सक्दा नसक्दै मैले प्रतिप्रश्न गर्थेँ, “कसरी जात ठूलो र सानो हुन्छ काका जात ठूलो र सानो भन्ने हुँदैन ।” म महाकवि लक्ष्मी प्रसाद देवकोटालाई सम्झन्थेँ, “मानिस ठुलो दिलले हुन्छ, जातले हुँदैन ।”

भोक र प्यास लागेको बेलामा प्यास मेटाउने पानी र भोक मेटाउने खाना संसारको जुनसुकै कुनाका मानिसको हातबाट पनि चल्छ भनी उसलाई मैले प्राथमिक शिक्षाबाट प्राप्त ज्ञानको आधारमा उहाँलाई “कन्भिन्स” गर्न खोज्दा कति बुझ्नु भयो कति बुझ्नु भएन त्यसको हेक्का राख्न सकिनँ ।

म मेरा केही पढे लेखेका साथीहरू र मेरा सहकर्मीहरूलाई सम्झन्छु । उनीहरू युवा पुस्ताको भएकोले होला, उनीहरू र म बीच कुनै भेदभाव छैन । म करिब ११ वर्षको हुँदा मेरो व्रतबन्धको क्षण सम्झन्छु त्यसबेला शुभ कार्यको शुभारम्भ पन्चे बाजा बजाएर गरेको थियो । यी पञ्चेबाजा बजाउनेहरू पनि दलित समुदायकै थिए तर तिनले बनाएको बजाएको बाजाबाट शुभ कार्यको थालनी भएको थियो ।

म दशैंमा लगाएको नयाँ लुगा सम्झन्छु मैले र मेरो टोलभरिका मान्छेले लगाउने लुगा साइला दर्जीले नै सिलाएको हुन्थ्यो । हाम्रो घरमा लुगा सिलाउनको लागि कपडा सिलाउने हाते मेशिन बोकेर ल्याउनको लागि हामी तछाड मछाड गर्थौं । हामी उनलाई साइला बा भनी सम्बोधन गर्थ्यौं । उनैको हातले सिलाएको कपडा लगाई आफ्नो लाज ढाक्थ्यौं । जसको हातको सिपले हाम्रो लाज ढाक्यो तिनै व्यक्ति कसरी दलित भए ? मेरो बुवाले सम्मानपूर्वक उहाँलाई साइला दाइ भनेर सम्बोधन गर्नुहुन्थ्यो र ऊ मेरो बुवालाई कान्छा भनेर मायालु स्वरमा सम्बोधन गर्नुहुन्थ्यो ।

उहाँ र हाम्रो परिवार बीच पारिवारिक सम्बन्ध थियो । म मेरो घरमा भएको पुरानो एकजोर छालाको पलाञ्चोके जुत्ता सम्झन्छु । जुन जुत्ता लगाएर मेरा पिता पुर्खाले कठ्याङ्ग्रिँदो जाडोबाट आफ्नो खुट्टा जोगाउनु भएको थियो र समाजमा आफ्नो प्रतिष्ठा बढेको थियो । उक्त जुत्ता राणाकालमा काठमाडौँ र भारतको पटनामा समेत निकासी हुन्थ्यो । तिनै दलितहरूले बनाएको जुत्ताले कति राजा महाराजाहरूले समेत भव्यताका साथ खुट्टामा लगाउने गर्थे । केवल पेशाकै कारण किन कुनै समुदाय सधै अपहेलित हुनुपर्ने ? म उनीहरूको सिप र पेशालाई मनैदेखि नमन गर्छु । पुर्ख्यौली पेशा र परम्परागत सीपलाई सबै मिलेर संरक्षण गर्न जरुरी सम्झन्छु ।

मनमनै सोच्छु, देशको संविधानमा व्यवस्था भएका मौलिक हक अधिकार र प्रचलित कानुनमा भएको व्यवस्थालाई अबको पुस्ताले हेक्का राख्न अत्यन्त जरुरी छ ।

यदि म कुनै अनजान ठाउँमा बेहोस भई लडेँ भने होसमा आउन कुन जातिको मानिसले पानी खुवाउनु पर्ने ?, अस्पतालमा कुन जातिका मानिसको रगत र कसको हातले दिएको औषधी खान मिल्ने ? आफैलाई प्रश्न गर्छु ।

मेरो आँखा मेरो घरभन्दा पारीपट्टि रहेको सिमल पानी गाउँमा पर्छ । नरे काकाको घर छेउको वनमा गोल पोलेको धुवाँ निरन्तर आकाशतर्फ उडिरहेको छ । आरनबाट भाँडाकुँडा बनाउनको लागि हम्मरले पिटेको एकोहरो “टङ टङ…टङ” आवाज सुनिन्छ ।

म मनमनै गर्व गर्छु कतिपय समुदायहरू पुर्ख्यौली पेशाबाट विस्थापित भएको आजको अवस्थामा पनि मेरो गाउँको आरन बन्द भएको छैन ।

लेखक- मिमबहादुर लामा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै