काठमाडौँ: मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी उमा प्रसाद चतुर्वेदीले तस्करी तथा सीमा अपराध नियन्त्रण, फरार अपराधी पक्राउ एवम् जघन्य अपराधको सफल अनुसन्धानमा केन्द्रित रहेर काम गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने बताउनुभएको छ ।
डिआईजी चतुर्वेदीले आफ्नो कार्यक्षेत्रमा कति संख्यामा अपराधी पक्राउ परे, जघन्य अपराधको अनुसन्धान कति उपलब्धि भयो, तस्करी नियन्त्रणमा के-कस्ता प्रयास भए, आफू मातहतलाई कति न्याय गरियो र तिनको मनोबाल उच्च राख्न के-कस्ता काम भए; यसको जवाफ मधेश प्रदेश प्रहरी कार्यालयले खोज्ने बताउनुभयो ।
नागरिकबाट आउने महत्वपूर्ण सूचनाहरू प्रहरी कार्यालयबाट उचित सम्बोधन गर्नुपर्ने उहाँले बताउनुभयो । कार्यालय प्रमुख अनुसार काममा फरक आउने गरेकोतर्फ इङ्गित गर्दै उहाँले पूर्ण व्यावसायिकता, स्वस्थ्य प्रतिस्पर्धा, आर्थिक पारदर्शिता अवलम्बन गर्दै अब्बल कार्यसम्पादन गरी यस अवसरलाई सदुपयोग गर्न निर्देशन दिनुभयो ।
डिआईजी चतुर्वेदीले आफ्नो क्षेत्रमा हुने विभिन्न अपराधहरूको पहिचान गरी त्यसको नियन्त्रणका लागि आवश्यकता अनुसार अन्य निकायसँग समन्वय र सहकार्य गर्दै आगाडि बढ्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो । कार्यालय प्रमुखहरूले आफ्नो मातहतमा खटिने सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई समसामायिक विषयहरुमा निर्देशन दिनुपर्नेमा जोड दिँदै उहाँले गलत काम गर्नेलाई कारवाही तथा असल प्रहरीलाई पुरस्कृत गरिने बताउनुभयो ।
नेपाल प्रहरीको मुख्य काम शान्ति सुरक्षा र अपराध नियन्त्रण हुनुका साथै नेपाल भारत सीमासित जोडिएको हुनाले भन्सार राजस्व र सीमा वारपार अपराध नियन्त्रणको कार्य पनि गर्नु परिरहेको जानकारी दिएका छन्।
तस्करी र लागू औषध कारोबारले समाजमा अन्य किसिमको अपराधलाई पनि बढवा दिएकाले प्रहरी अपराध नियन्त्रणमा सक्रिय रहेको स्पष्ट पारेका छन्।