Comments Add Comment

Advertisment

SKIP THIS

“ओटीपी मेयर, ताल्चा कार्यालय : सात प्रशासकीय अधिकृतलाई भगाएको तारकेश्वर, अब लम्सालको परीक्षा”

काठमाडौं । तारकेश्वर नगरपालिका फेरि एकपटक प्रशासकीय अधिकृत परिवर्तनको तरंगमा छ।

तीन वर्षमै सातजना प्रशासकीय अधिकृत फेरिनु सामान्य प्रशासनिक प्रक्रिया होइन, बरु स्थानीय तहको अस्थिरता र नगर प्रमुखको हस्तक्षेपको परिणाम हो भन्ने बुझाइ सर्वसाधारणको बनेको छ।

यसअघि कार्यरत प्रशासकीय अधिकृत इश्वर प्रसाद आचार्य केही महिनादेखि मन्त्रालयमै हाजिर गर्दै आएका थिए। कारण-नगर प्रमुखको दबाब, धम्की र कानुन विपरीत गतिविधि।

आचार्यको खुलासा : आचार्यले असार २४–२५ गतेको मध्यरातको घटनालाई सम्झिँदै भने,

“मेयर सचिवालयका करार कर्मचारीसहित मेरो कार्यकक्षमा बस्नुभयो। कार्यालयको ओटीपी प्रयोजन हुने मोबाइल कब्जा गरी आफ्ना इन्ट्रेस्टका फाइल मात्र भुक्तानी गराइयो। यसै कारण स्वास्थ्यकर्मीको तलब रोकिएको थियो ।

यो राष्ट्रसेवकलाई अपमान गर्ने व्यवहार मात्र होइन, कानुनकै उल्लङ्घन हो।”उनले थपे, “मलाई धम्की दिइयो, लेखा शाखामा ताल्चा लगाइयो, शाखा प्रमुखलाई कक्षमा पस्न दिइएन। यस्तो वातावरणमा कसरी काम गर्ने ? बरु म जागिर छोड्छु तर अवैध भुक्तानी गर्ने हस्ताक्षर गर्दिनँ।” त्यसपछि मन्त्रालयमा हाजिर गराए ।

सात अधिकृतको पलायन

तारकेश्वरमा तीन वर्षमै सात प्रशासकीय अधिकृत परिवर्तन हुनु नै प्रश्न उठाउँछ। के सातै जना असक्षम थिए, वा मेयरकै आदेश नमान्नेहरूलाई निकाल्ने संस्कृतिको विकास भएको हो ?

स्थानीय कर्मचारीहरू भन्छन्, “नगर प्रमुखले आफ्नो आदेश पालना नगर्ने प्रशासकीय अधिकृतलाई टिक्नै दिँदैनन्। कर्मचारी तलब भन्दा ठेकेदारको भुक्तानीमा बढी प्राथमिकता दिइएको छ।”

मन्त्रालयमै छलफल, तर परिणाम के :-

गत असोज ५ गते सामान्य प्रशासन मन्त्रालयमा सचिव, सहसचिव, उपसचिव, मेयर र आचार्यबीच छलफल भएको थियो। सहमति यही थियो—लेखा प्रमुखसँग समन्वय गरी कर्मचारीलाई तलब भुक्तानी गर्ने। तर, आचार्यका अनुसार त्यो सहमति पनि मेयरकै कारण कार्यान्वयन हुन सकेन।

नयाँ अधिकृत धर्मराज लम्साल :-

आज (सोमबार) बिहान ११ बजेबाट धर्मराज लम्सालले तारकेश्वर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन्।

न्युज२४ ग्यालेक्सी संगको कुराकानीमा उनले भने,

“महालेखाको सर्भर बन्द भएको कारण अहिले देशभरकै तलब रोकिएको छ। तर, सर्भर खुले लगत्तै तारकेश्वरका कर्मचारीलाई तलब दिन कुनै ढिलाइ हुँदैन।”

मेयरको बचाउ :-

यता मेयर कृष्णहरि महर्जन भने, “आचार्यलाई सहज वातावरण दिन खोजेको थिएँ। उहाँको सुरक्षाको जिम्मा पनि म लिने थिएँ। तर, अब नयाँ प्रशासकीय अधिकृतलाई हामीले सहजै काम गर्ने वातावरण दिनेछौँ।” भन्दै आफू निर्दोष देखाउन खोज्छन्।

तर, तीन वर्षमै सात प्रशासकीय अधिकृत भगाउने तथ्याङ्कले भने मेयरकै शैली प्रश्नमा परेको छ।

कर्मचारी र जनताको पीडा :-

नगरपालिकाका कर्मचारीहरू भन्छन्—“तलब महिनौँ रोकिँदा परिवार चलाउनै मुस्किल भएको छ।”

स्वास्थ्यकर्मीहरूले त झन् असन्तुष्टि पोख्दै, “तलब नआउँदा सेवामा मन लगाउन सकिँदैन। नगर प्रमुखलाई भुक्तानीभन्दा कर्मचारीको नियमित पारिश्रमिक प्राथमिकता दिनुपर्छ,” बताएका छन्।

न्युज24ग्यालेक्सी सहित तार्केश्वरका जनताबाट निष्कर्ष :-

तारकेश्वर नगरपालिका अहिले ‘ओटीपी मेयर’ र ‘भाग्ने प्रशासकीय अधिकृत’ को पर्याय बनेको छ।

अब नयाँ प्रशासकीय अधिकृत धर्मराज लम्सालले मेयरकै दबाबलाई बेवास्ता गर्दै कर्मचारीलाई समयमै तलब दिने र नगरपालिकामा स्थिर प्रशासनिक वातावरण कायम गर्ने कि उनी पनि आचार्यझैं ‘भाग्ने आठौं अधिकृत’ बन्ने—यो प्रश्न अहिले तारकेश्वरका नागरिकको मुखमा घुमिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै