काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र–६ का लागि नेपाली कम्युनिस्ट पार्टी (तारा चिन्ह) का उम्मेदवार हिमाल शर्माले तारकेश्वर नगरपालिका वडा नं. १ मा चुनावी सम्पर्क कार्यालय उद्घाटन गर्नुभएको छ।
स्थानीय कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रममा कार्यालय उद्घाटनसँगै चुनावी अभियानलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार शर्माले जनताको आधारभूत आवश्यकता— स्वच्छ खानेपानी, व्यवस्थित सडक, रोजगारीका अवसर, गुणस्तरीय शिक्षा, प्रभावकारी फोहोर व्यवस्थापन, बफर जोनको समस्या समाधान, अवैध जग्गा प्लटिङको रोकथाम तथा अत्याधुनिक सोलार सडकबत्ती जडान —लाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता दोहोर्याउनुभयो।
उनले भ्रष्टाचारविरुद्ध दृढतापूर्वक उभिने, पारदर्शी र जनउत्तरदायी नेतृत्व प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दै स्थानीयबासीलाई तारा चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो।
उद्घाटन कार्यक्रममा उपस्थित स्थानीयबासी तथा पार्टीका कार्यकर्ताहरूले क्षेत्रको विकास र परिवर्तनका लागि एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए।
कार्यालय सञ्चालनमा आएसँगै चुनावी गतिविधि तथा जनसम्पर्क अभियान अझ सक्रिय रूपमा अघि बढ्ने विश्वास वडा नं. १ का चुनाव प्रचार–प्रसार समिति संयोजक राजन बिडारीले जानकारी दिनुभयो।









