१ श्रावण , काठमाडौं । चिनियाँ लगानीको तनहुँ जलविद्युत् आयोजनाको विद्युत् गृहको सुरुङ खन्ने कार्य सम्पन्न भएको छ। प्याकेज दुई अन्तर्गतको ठेक्का पाएको सिनो हाइड्रोपावर लिमिटेडले विद्युत् गृहको सुरुङ खन्ने काम शुक्रबार पूरा गरेको आयोजनाले जनाएको गोरखापत्र अनलाइनले लेखेको छ। ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत विद्युत् गृहको सुरुङ खन्ने काम पूरा भएको आयोजनाका निमित्त प्रमुख राजभाइ शिल्पकारले जानकारी दिनुभयो। उक्त सुरुङ खन्ने काम सन् २०२० अगस्टदेखि सुरु भएको थियो।
विद्युत् गृहको सुरुङ खन्ने काम पूरा भएसँगै अब पूर्वाधार निर्माण कार्य सुरु हुने आयोजनाका इन्जिनियर प्रदीप न्यौपानेले जानकारी दिनुभयो। आयोजनाका अरू काम पनि भइरहेको छ। आयोजनाका अनुसार एक हजार ४५० मिटर लामो पानी ल्याउने सुरुङ खन्नुपर्नेमा अहिलेसम्म ३५० मिटर खनिसकिएको छ। इन्टेकको काम भने गर्न बाँकी छ। प्याकेज–१ अन्तर्गत डाइभर्सन टनेलको काम भइरहेको छ। पहुँच सुरुङ एक सय मिटर खनिसकिएको छ।
आयोजनाको प्याकेज–२ अन्तर्गत सर्च ट्याङ जाने पहुँच सुरुङ खन्ने काम पनि सम्पन्न भइसकेको छ। सिनो हाइड्रो कम्पनीले ४३७.१ मिटर लामो सुरुङ खन्ने काम सम्पन्न गरेको हो। त्यस्तै २८०.८५ मिटर लामो मुख्य पहुँच सुरुङ र बाँधस्थल जाने ३१४ मिटर लामो पहुँच सुरुङ पनि सम्पन्न भइसकेको छ।
प्याकेज–३ अन्तर्गत प्रसारण लाइनमा हालसम्म ४८ ‘फाउन्डेसन’ निर्माण गर्ने काम सम्पन्न भएको छ। प्रसारण लाइन निर्माणका लागि २५ टावर जडान भइसकेको इन्जिनियर न्यौपानेले जानकारी दिनुभयो। दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण हुनेछ। प्रसारण लाइन निर्माणका लागि कुल ९४ टावर निर्माण गरिनेछ। प्रसारण लाइन निर्माणको काम भारतीय कम्पनी केईसीले पाएको छ।
आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ। कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरमध्ये एसियाली विकास बैङ्कले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले आठ करोड ५० लाख र नेपाल सरकार–नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ।
यो वर्षैभरि १४० मेगावाट विद्युत् उत्पादन हुने नेपालकै दोस्रो जलाशययुक्त आयोजना हो। जलाशयको कुल भण्डारण क्षमता २९५.१ मिलियन घनमिटर रहनेछ। आयोजनाको बाँध स्थल दमौली नजिकैको दुले पहरामा १४० मिटर अग्लो बाँध निर्माण हुनेछ भने काँहुडाँडाभित्र एक हजार १६२ मिटर लामो सुरुङ मार्ग निर्माण गरी सेती नदीको पानीलाई भूमिगत विद्युत् गृहमा पु-याएर विद्युत् उत्पादन गरिने बताइएको छ।







