काठमाडौं- अनाधिकृत रुपमा मेडिकल सञ्चालन गरेको आरोपमा दुई जनालाई प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको छ। भीमदत्त नगरपालिकामा अनाधिकृत रुपमा मेडिकल सञ्चालन गरी औषधि बिक्री-वितरण तथा उपचार गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
भीमदत्त नगरपालिका-१३, बडैपुरमा मेडिकल सञ्चालन गर्ने ३५ वर्षीय शान्तिरजन बैरागिर र सोही नगरपालिका वडा नम्बर ९ मा रहेको ब्रहमदेवमा मेडिकल पसलका सञ्चालक ३९ वर्षीय गोकुल मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
विनाअनुमति मेडिकल पसल सञ्चालन गरी औषधि बिक्री-वितरण र बिरामीको उपचार समेत गर्ने गरेको गुनासो आएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। दुवै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।


