
२० मंसिर , काठमाडौ । सर्वप्रथम नेपालको पवित्र, राष्ट्रको अति महत्वपूर्ण, शक्तिशाली र अझ सबैभन्दा धनी संस्था नेपाली सेनाको नेतृत्वको जिम्मेवारी सम्हाल्नु भएका प्रधानसेनापति प्रभुराम शर्मालाई सफल र देश जनता र राष्ट्रका सिपाही सबैको हितमा नेतृत्वदायी भूमिका रहोस् भन्ने शुभकामना दिन चाहन्छौं ।

आज २१ औं शताब्दीमा जसले देशको माटोको रक्षाको लागि एक आदेशमा आफ्नो जीवन नै आहुती दिन तयार रहने नेपाली सेनाको भूतपूर्व तथा बहालवाला जवानको आर्थिक अवस्था देख्दा ज्यादै मन भक्कानिएर आउँछ ।

अझ यस दशैंको माहोलमा देशका विभिन्न वित्तीय संस्था अन्य व्यवसायका कर्मचारीहरूले हँसिलो मुद्रामा दशैं पेस्की र बोनसको गीत गाइरहँदा आज अवकाशप्राप्त तल्लो दर्जाका सैनिकहरू दशैंमा बालबच्चालाई पालनपोषण र दशैं मनाउन आर्थिक अवस्थाले गिजोलिरहँदा भक्कानिएका छन् ।
जसले आफ्नो ज्यानको प्रवाह नगरी देश र विदेशमा रगत र पसिना बगाए आज उनै सैनिकको दयनीय अवस्थालाई हेडक्वार्टरमा रहेको नेपाली सेनाको कल्याणकारी कोषका निर्देशक जर्नेलको आँखाले किन देख्दैन रु किन कल्याणकारी कोष भनेको दुःख र अप्ठ्यारोमा परेका भूपू तथा बहालवाला सैनिको हितको लागि जवानको रगत र पसिनाको मूल्यलाई सिञ्चित गरेको कोष हैन रु चिफसा’ब रु के अब सेनाको आँखा ठूलठूला हाइड्रोपावर र बिजनेश महलहरूमा लगानी गरी नाफा कमाउन अगाडि बढ्न खोजेको भने पक्कै होइन होला ।
आज राजनीतिक दलका नेताहरूको आँखा सेनाको कल्याणकारी कोषको रु। ५५ अर्बतिर सोझिएको जस्तो महसुस सारा जवानहरूलाई भइरहेको छ । कुनै समय सैनिक कल्याणकारी कोषको रकम देश विकास र प्राकृतिक प्रकोपमा लगाउन सरकारले आदेश नदेला भन्न सकिंदैन । किनकि सरकारको ढुकुटी चाहिं नेताहरूले भ्रष्टाचार गरेर सकेपछि उनीहरूको ध्यान जहाँ पैसाको पोको छ, त्यहाँ जानु स्वभाविक पनि हो ।
आज विश्वको कयौं देशमा सैनिकको परिवारको पालनपोषण र शिक्षा, स्वास्थ्यमा कार्यरत सैनिकहरूले चिन्तित लिनुपर्दैन तर नेपालमा भने सँधै सैनिकलाई आफ्नो छोराछोरी पढाउन नसकिने र शिक्षा, स्वास्थ्य चिन्ताले पिरोलिरहन्छ । जय होस् । धन्यवाद । –भूतपूर्व सैनिकहरू







