Comments Add Comment

Advertisment

SKIP THIS

भारतीय दादागिरी र नेपाली राजनीतिज्ञ !

१९ मंसिर , काठमाडौँ । हाम्रा पुराना धार्मिक पुराण तथा विभिन्न ग्रन्थहरुमा लेखिएको छ कि, “इतिश्री स्कन्ध पुराण केदार खन्डे , माघमाहात्मे, सम्बादे ,भारतवर्षे ” आदि आदि शब्दहरु । वास्तवमा भारत र नेपालको धार्मिक, सांस्कृतिक, भौगोलिक , भाषिक तथा अन्य विविध कुराहरुमा एकरुपता पाइन्छ । तैपनि, भारत औपनिवेसीक राष्ट्रकोरुपमा कयौं वर्ष रहि रह्यो तर नेपाल सानै भए पनि न कसैको अधिनमा रह्यो, न त कसैको दास । तर भारतको नेपालप्रतिको हेर्ने दृष्टिकोण संधै फरक नै रह्यो । पहिला इन्धिरा गान्धीको पालामा काश्मीर भारतमा गाभ्ने रणनीतिनुरुप लेन्डुपेलाई दिल्लीको रातो कार्पेट मोहमा फसाइयो तर पछि जव काश्मीर आफ्नो हातमा पर्यो तव लेन्डुपे “धोबीका कुत्ता घर न घाट ” को अवस्थामा पुगे । पाकिस्तानसँगको सम्बन्ध पनि जातीय अहंमताको कारण चिसिएकै छ ।

उता बंगलादेशलाई चिड्याइरहेको छ भारतले । रक्षा, अर्थ र गृह सम्बन्धि मामलामा भारतको मोलमोलाई हुने भुटानमा त उसकै अधिपत्यमा छ भन्दा फरक नपर्ला ! प्रसंग नेपालको ! हाल मात्र दार्चुलाको सदरमुकाम खलंगा र भारतको धार्चुला जोड्ने पुलमुनी महाकाली नदीको बगर मिचेर अन्तरास्ट्रिय सन्धिबिपरित भारतले तटबन्ध निर्माण गरिरहेको छ । जुन कुरा ” हेलसिन्की सन्धि १९६२” मा पनि उल्लेख छ । जसले गर्दा महाकाली नदीको बहाव नेपालतिर बढेर नेपालीहरुको धनजनको क्षती व्यापक भइरहेको भन्दै त्यहाँका बासीन्दाहरुको बिरोध प्रदर्शन भएपछि दोहोरो ढुंगा हानाहानमा परी केही नेपाली बालबालीकाहरु घाइते भएको कुरा विभिन्न समाचार माध्यामले जनाएका छन । २०७० असार २ गते आएको बाढीले नेपालतर्फ व्यापक क्षती भएको थियो । बाढी आएको ७ वर्षपछि दुबै देशका नापी, परराष्ट्र र गृह मन्त्रालयका अधिकारी सम्मिलित एउटा संयन्त्रले विवादीत महाकाली नदीको धारवारे नापनक्साको परिक्षण गरेतापनि नेपालको करिब २०० रोपनी जग्गा भारततिर मिचिएको थाह पाएर भारतीय अधिकारीहरु प्रतिकृयाविहीन भएका थिए । अब महाकाली नदी नेपाली भूमीमा मात्र बहने छ । भारतीयहरुको यस्तै मिचाह प्रवृत्तिको कारण कयौं दार्चुलावासीहरुले भारत बिरुद्व आन्दोलन गरेका थिए । जसमा बालबालीकासहित धेरै जना घाइते भएका छन । तर, वर्तमान सरकार भने सत्ताको अंक गणितीय भागबन्डामै रुमलिइरहेको छ । केही महिना अगाडि भारतले लिम्पियाधुरा जोड्ने सडक निर्माण गरिरहंदा बम ब्लास्टिङमा परी दुई नेपाली बालबालीका सख्त घाइते भएका थिए । त्यस्तै गत साल पनि तुइन तर्दा भारतीय सशस्त्र सीमा बल ( एसएसबी) का जवानहरुद्वारा एकजना नेपालीको ज्यान लिइयो तर नेपाल सरकार भने दिल्लीमा सत्ताको लागि लगाइएको माखे सांङ्लो फुत्किएला भन्ने डरले निरीह बनेको थियो र छ । त्यति मात्र होइन पश्चिमको कालापानी, लिपुलेक, लिम्पियाधुरा उसकै अधिनमा हुनु, महाकाली नदीको तटबन्ध मिचिनु, , बांके, बर्दीया, कैलाली कंचनपुरका कयौं सीमानाका बस्तीहरुले सास्ती भोग्दै आएको पीडा, नवलपरासीको सुस्ताका बासिन्दाहरुको ब्यथा, चितवन, बारा, पर्सा, रौतहट, सुनसरी, सिराह, सप्तरी, मोरङ जिल्लाका सीमानामा भएको अत्याचार , साथै झापाको मेची नदीमा भएको दोहनको कथा ब्यथा आज र हिजो मात्रको होइन वल्की, यस्तै खिचडी सरकार भइरह्यो भने भविश्यमा पनि उसकै दादागिरी चलिरहन्छ । अझ अर्को अचम्मको कुरा त सुनसरी र सप्तरी जिल्लाको नेपाली सीमानामा कोशी ब्यारेज निर्माण गरिएको छ । सन् १९५४ मा भएको कोशी सम्झौता अनुसार कोशी नदीमाथि ब्यारेज निर्माण गरिएको हो ।

नेपाल र भारतबीच भएको उक्त सम्झौताबमोजिम कोशी ब्यारेजको शिलान्यास सन् १९५९ मा भएको थियो । नेपालका तत्कालीन राजा महेन्द्र शाह र भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुले उक्त ब्यारेजको शिलान्यास गरेका थिए । सन् १९६५ मा राजा महेन्द्र र भारतीय प्रधानमन्त्री लालबहादुर शास्त्रीले संयुक्त रुपमा उक्त ब्यारेज उद्घाटन गरेका थिए । कोशी ब्यारेजको सञ्चालनको जिम्मा सम्पूर्ण रूपमा भारतको हातमा भएकोले हरेक वर्ष नेपाल डुबानमा पर्ने गरेको सीमाविद् बुद्धिनारायण श्रेष्ठले बताएका थिए । ` एक सय ९९ वर्षको लागि कोशी सम्झौता गरिएको छ,’ उनले भने, ‘मित्रराष्ट्रलाई सहयोग गर्न नेपालले कोशी सम्झौता गरेको हुनुपर्छ । तर अहिले सोही सम्झौता नेपालका लागि समस्या बनेको छ ।’ तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइराला र राजा महेन्द्रको सक्रियतामा उक्त सम्झौता गरिएको जानकारहरू बताउँछन् । कोशी सम्झौतामा नेपालका तर्फबाट भूमिसुधारमन्त्री महावीरशमशेर र भारतका तर्फबाट योजनामन्त्री गुलजारीलाल नन्दाले हस्ताक्षर गरेका थिए ।

यसरी , भारतले नेपाललाई राजनीतिक, आर्थिक, भौगोलिक, धार्मिक, प्राकृतिक, सांस्कृतिक तथा सामजिक क्षेत्रमा कयौं वर्षदेखि दुख दिंदै आइरहेको छ । तर, नेपालका सत्ताधारीहरु भने कुर्चीमोहमा परी दिल्लीको डरले हरेक पटक ब्यबस्था परिवर्तन गर्दा केही न केही नेपाली भुभाग या प्राकृतिक श्रोत र साधनहरु गुमाउन बाध्य भएका छन । केपी वली दोश्रो पटक प्रधानमन्त्री हुंदा नेपालको गुमेको भुभाग लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको चुच्चे नक्सा संसदबाट बैधानिकरुपमा समेटिंदा चिडिएको भारत जसको कारण केपी वली सत्ता त्याग्न बाध्य बनाइए । नेपालको हरेक मामलामा हस्तक्षेपकारी नीति अवलम्बन गर्दै आइरहेको भारत जहिले पनि नेपालमा राजनीतिक अस्थीरता र सामाजिक अस्तव्यस्तताको अश्त्र मात्र प्रयोग गर्न चाहान्छ । तर भारतको यस्तो हेपाह दादागिरी प्रवृत्तिको कारक तत्व नेपाली राजनीतिज्ञ नै भएको कुरा जानकारहरु बताउँछन । उदाहरण बिगतमा प्रशस्तै पाउन सकिन्छ । अहिले पनि प्रतिनिधिसभाको चुनावको मतगणना सकिन लाग्यो अब सरकारको सांचो दिल्ली नै रहेको कुरा एसडी मुनीको बक्तब्य र केही क्रान्तिकारी भनिने राजनीतिज्ञ नेताबाट प्रधानमन्त्री बन्न भारत र चीनलाई मनाइरहेको प्रसंगबाट पनि प्रष्ट हुन्छ कि, रिमोट कन्ट्रोल भारतीयहरुकै हातमा छ । यसरी भारतले नेपालको हरेक क्षेत्रको लागि नेपालका केही बुद्दिजीवी, नागरिक समाजका अगुवाहरु, राजनीतिज्ञ, कर्मचारी, संबैधानिक निकायका प्रमुखहरु आदिलाई बोनाफाइड गरेर लिजमा लिएकै छ ता कि उनीहरुबाट गोप्य कुराहरु चुहाउन सकियोस जसले गर्दा आफुनुकूलको फाइदा हुने योजना बुन्न सकियोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै