महोत्सवमय गण्डकी -
Comments Add Comment

महोत्सवमय गण्डकी

२८ पुष , काठमाडौं । यहाँ बुधबार दुई ठूला महोत्सव सुरु भए । गोरखा महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पोखरा महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शुभारम्भ गरे । आजदेखि म्याग्दी महोत्सव सुरु भएको छ । माघे सङ्क्रान्ति पर्वको छेकोमा म्याग्दी उद्योग वाणिज्य सङ्घले महोत्सव आयोजना गरेको हो । तनहुँको दमौलीमा सात दिनयता आदिवासी जनजाति सांस्कृतिक एवं पर्यटन महोत्सव जारी छ ।

पर्वत उद्योग वाणिज्य सङ्घ सातौँ पर्वत महोत्सव आयोजनाको सङ्घारमा जुटेको छ । माघ ११ देखि २१ सम्म उक्त महोत्सव सञ्चालन हुनेछ । पोखराको लेखनाथ महोत्सवले आफ्नो १८औँ संस्करण हालै पूरा गरेको छ ।

लेखनाथ उद्योग वाणिज्य सङ्घको आयोजनमा यही पुस ७ देखि १८ गतेसम्म महोत्सव चलेको थियो । चाडपर्वका मौकामा गाउँघरमा आयोजना गरिने स–साना मेला, उत्सवले पनि उस्तै रौनक थपिरहेका छन् । माघेसङ्क्रान्ति पारेर बागलुङको जैमिनी र पोखराको ढुङ्गेसाँघुमा मेला लाग्दैछ । दुवै मेला इतिहास र परम्परासँग जोडिएका छन् । यसै पनि हिउँद मेला, महोत्सवको याम हो । गण्डकी प्रदेशमा पनि यसको लहर छ ।

अघिल्ला दुई वर्ष कोभिड-१९ महाव्याधिले मेला, महोत्सव ठप्प थिए । स्थिति सहज बनेपछि अहिले महोत्सव आयोजनामा पनि तछाँडमछाड देखिन्छ । महोत्सवको अगुवाइ गर्नेमा व्यवसायी र पर्यटनसम्बद्ध सङ्घसंस्था, स्थानीय क्लबलगायत छन् ।

स्थानीय उत्पादन, खेल, कला, संस्कृति, पर्यटन र व्यवसाय प्रवर्द्धनको ध्येय राखेर महोत्सव हुने गरेका छन् । पोखरा महोत्सवको आयोजक युनाइटेट क्लबका अध्यक्ष राजु श्रेष्ठले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन मेला, महोत्सवले टेवा पुग्ने बताए।

“महोत्सवले आर्थिक गतिविधि बढ्छ, दर्शकले पनि स्वस्थ मनोरञ्जनको लाभ लिन पाउँछन्”, उनले भने, “दुई वर्षसम्म कोरोना महामारीले थलिएको व्यवसाय क्षेत्रलाई थोरै भए पनि राहत पुग्छ ।” महोत्सवबाट व्यावसायिक नाफाघाटा मात्र नसोचेर क्लबले सामाजिक उत्तरदायित्व पनि बहन गर्दै आएको उनले बताए ।

महोत्सवको आम्दानीलाई सेती नदीको संरक्षण, पर्यटन प्रवर्द्धन र न्यून आय भएका परिवारका बालबालिकालाई लक्ष्य गरी आवासीय छात्राबास निर्माणमा लगाइने उनको भनाइ छ । महोत्सवमा बिक्री हुने प्रत्येक टिकटबाट एक सेती नदी संरक्षणका नाममा छुट्याइएको जनाइएको छ ।

माघ ९ गतेसम्म चल्ने महोत्सवमा दुई सय ५८ व्यावसायिक ‘स्टल’ छन् । तेह्र दिनसम्मको महोत्सवलाई दुई लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकको आकलन छ । महोत्सव अवधिभर जातीय वेषभूषा, संस्कृति झल्काउने मौलिक झाँकी तथा नाच प्रस्तुत गरिनेछ । औद्योगिक उत्पादन, हस्तकला, सूचना प्रविधिका सामग्रीको प्रदर्शन र बिक्रीकक्ष पनि राखिएको छ ।

महोत्सवमा दैनिकरूपमा कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ । रमाइलो बाल उद्यान, विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, हाँस्यव्यङ्ग्य प्रहसन, घोडा सवारलगायत पोखरा महोत्सवका आकर्षणका रूपमा रहेका छन् ।

म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले महोत्सवमा प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीसमेत राखिएको बताए। म्याग्दी महोत्सव पनि सातौँ संस्करणसम्म आइपुगेको छ । महोत्सवलाई लक्ष्य गरी सदरमुकाम बेनी बजारमा सिँगारेर चिटिक्क पारिएको छ ।

यसपालि महोत्सवमा रु १० करोडको कारोबार गर्ने लक्ष्य आयोजकले लिएको छ । अध्यक्ष कटुवालका अनुसार दुई सय ५८ व्यावसायिक ‘स्टल’ छन् । म्याग्दी महोत्सव हेर्न जाने दर्शकले हेलिकोप्टर सयरदेखि कालीगण्डकी नदीमा जलयात्रासम्मको अनुभव लिन पाउनेछन् ।

खुला लोकदोहोरी, पालिकास्तरीय भलिबल, लोकनृत्य प्रतियोगिताजस्ता खेल र मनोरञ्जनका गतिविधि महोत्सवका थप आकर्षण हुन् । नेवार समुदायको ऐतिहासिक हनुमान नाचदेखि विभिन्न जातजातिका परम्परा र रीतिरिवाज झल्काउने झाँकी प्रस्तुत गरिनेछ ।

संस्कृति देखाउने थलो

महोत्सवले गाउँघरको संस्कृतिलाई पनि सहरसम्म ल्याइपुर्याँउँछ । जातजातिका मौलिक वेषभूषासहितका नाच र झाँकीले महोत्सवमा उल्लास थप्ने गरेको छ । लोपोन्मुख र दुर्लभ संस्कृति महोत्सवमा देखाउन आयोजक आफैँ पनि लालयित हुन्छन् ।

पैसा खर्चेर भएपनि त्यस्ता सांस्कृतिक नाच र झाँकीलाई आयोजकले महोत्सवमा ठाउँ दिइरहेका हुन्छन् । डढुवा दुर्छा लमजुङ तमु समाज, पोखराका सचिव कृपाकुमार गुरुङले पोखरामा हुने हरेक महोत्सवमा गुरुङ संस्कृति देखाउने गरिएको बताए ।

उनले अघिल्लो पोखरा महोत्सवमा गुरुङ समुदायको झाँकी पुरस्कृत भएको स्मरण गरे । ‘मेला, महोत्सवले संस्कृति बचाउने काम गरेको छ, आयोजकले आमन्त्रण गरेको ठाउँमा हामी पुग्ने गरेका छौँ’,उनले भने, ‘पहिचान, संस्कार र संस्कृतिसँग गाँसिएको कुरालाई मानिसहरू रमाउँछन्, चासोपूर्वक लिन्छन् ।’

उक्त समाजले बुधबार भएको पोखरा महोत्सवको शुभारम्भ समारोहमा गुरुङ समुदायमा प्रचलित ‘छ्याडु नाच’ देखाएको थियो । छ्याडु दिवङ्गत व्यक्तिका घरमा पितृकार्य चलिरहँदा गरिने संस्कार हो । महोत्सवमा गुरुङसहित, मगर, नेवार, ब्राह्मण, दसनामीलगायतले आफ्नो मौलिक संस्कृतिको प्रदर्शन गरेका थिए ।

नामैतीदेखि भजनसम्मले महोत्सवस्थल गुञ्जायमान बनेको थियो । ‘मेलापर्वले एकता र भातृत्वको पनि सन्देश दिन्छ, विभिन्न जातजाति र समुदायका मानिस भेला हुने, चिनजान गर्ने मौका पनि मिल्छ’, सचिव गुरुङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds