जनैपूर्णिमा अर्थात रक्षा बन्धनको दिन आज !
“येनबद्धो बलिराजा दानवेन्द्रो महाबल,
तेनत्वं प्रतिवध्नामी रक्षेमा चलमा चल ।”
यस्तै यस्तै मन्त्र पढिएर जनै धारण गर्ने दिन । यहाँहरु सबैमा शुभकामना !
हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व जनैपूर्णिमा अर्थात् ऋषितर्पणी आज धुमधामकासाथ मनाइँदैछ। जनैपूर्णिमाका दिन पुरोहितबाट नयाँ जनै फेर्नुका साथै हातमा रक्षा-बन्धन बाँध्ने परम्परा छ।
यस दिन तराईमा दिदीबहिनीले दाजुभाइको नाडीमा राँखी बाँधेर मनाउने गर्छन्। यस्तै नेवारी समुदायमा क्वाँटी खाएर अर्थात् भ्यागुताको पूजा गरेर पनि पर्व मनाउने प्रचलन छ।
यस दिनमा बिहान नुहाइ धुवाइपछि जौं, तील र कुशले ऋषिहरुलाई तर्पण गरी वैदिक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेर्ने गरिन्छ। ऋषिलाई तर्पण गर्ने भएकाले यस दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो।
वैदिक परम्पराअनुसार जनैलाई ज्ञानको धागोसमेत भनिन्छ। संस्कृतिविद् टन्डनका अनुसार जनैका दुई डोरामध्ये एउटा डोरामा रहने तीन शिखालाई ब्रम्हा, विष्णु र महेश्वरको प्रतीकका रुपमा पुजिन्छ। अर्को डोराको तीनवटा शिखालाई भने कर्म, उपासना र ज्ञानको रुपमा मानिन्छ।
जनैपूर्णिमाका दिन पितृलाई तर्पण दिने गरिन्छ। यस दिन काठमाडौंको पशुपति र मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गंगासागर, जुम्लाको दानसाधु एवम् नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा मेला लाग्ने गर्छ। यस दिन पितृलाई तर्पण दिँदा मृत आत्माहरुको मनले शान्ति पाउने विश्वास छ।
सद्भावको पर्व जनैपूर्णिमा
यसै दिन तराईमा दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन रहेको छ। यस दिन दिदीबहिनी तथा दाजुभाई एकै ठाउँमा जम्मा भएर राखी बाँधी गच्छेअनुसारको उपहार आदानप्रदान गर्छन्। पछिल्ला वर्षमा पहाडी समुदायमा पनि राखी बाँध्ने चलन बढ्दो छ।
टुसा पलाएको पौष्टिक तत्वयुक्त क्वाँटी स्वास्थ्यलाई फाइदाजनक हुने चिकित्सकहरु बताउँछन्।
धार्मिक मान्यतानुसार कुनैपनि भगवान या यस्तै धार्मिक आस्थासँग सम्बन्धित विषयमा मन लगाउने हो भने झुट र लुटको खेती समाप्त हुन्छ भन्छन । त्यसैले आजको रक्षा बन्धनले खासगरी त्यस्ता ब्यक्तिहरुलाई सद्बुद्दी देवस जो पटक पटक राज्यको नेतृत्वमा पुगेर पनि जनताको दैनन्दिनीवारे अज्ञात रहेको होस । असल राजनैतिक संस्कारको औषधि सेवन नगरेका पदलिप्सा र अरुको अगाडि प्रतिष्ठा प्रदर्शन गर्न बानी परेकाहरु कहिलै जनताको नेता र रास्ट्रको सेवक हुन सक्दैनन । किताबको पाना पल्टाउनै पर्दैन , ब्यबहारले प्रमाणित भैराखेकोले अबदेखि घैटोमा घाम र पखेरामा पानी पर्छ कि भन्ने आशाका दिनहरु नआउला भन्न सकिएला र ? रक्षा बन्धनले रीस, राग, बिकार , द्वेष र इष्यालाई बन्धनमा पारोस !
न्याय र अन्यायको तराजु जोखिरहँदा द्र्ब्यमा नबिकोस अदालत, जनप्रतिनिधीले अतीतमा जनताको बोर्डबाट दिएको परिक्षालाई मध्येनजर राख्दै भुल्ने काम नगरून् , जनताको त्याग, बलिदान, रगत र पसिनाबाट सिन्चित यो कलिलो गणतन्त्रलाई केही मुठ्ठीभरका नेताहरुले अतीतको निवेक उठाउने नाममा सत्ता, शक्ति र पद नै ठूलो सम्झी आफ्नो राजनैतिक संस्कार, विवेक र नैतिकतालाई धरौटिमा नराखुन । आगामी प्रदेश र संघको चुनावमा जिताउरी हाता पार्ने बहानमा सत्ताको दुरुपयोग नहोस ! रुपचन्द्र बिष्टले भनेजस्तो : ” केटाकेटी बिग्रे बाबुआमा दोषी, जनता बिग्रे सरकार दोषी, सरकार बिग्रे ब्यबस्था दोषी, ब्यबस्था बिग्रे अगुवा दोषी ”
यहि कुरा सोचेर मनन गरी अहिलेका नेतृत्वले समयमा नै बिचार गरौ ! सत्ताप्राप्तीको खेललाई कवाफको हड्डी नसोचौं । खुशी, आत्मीयता र मित्रताको भावना उजागर होस ! सबैलाई शुभकामना !
खिमराज गिरी
काठमांडौ । 



