२० चैत , काठमाडौ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । उनले आज नेकपा एमालेबाट चारजना मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।
नयाँ नियुक्त हुने चार जना मन्त्रीको शपथ कार्यक्रम आज दिउँसो ३ बजे राखिएको छ । प्रदेश सरकारमा एमालेका तीनजना पूर्वमन्त्रीहरु नै दोहोरिन लागेका र एकजना नयाँ अनुहारले प्रवेश पाउने एमाले स्रोतले जानकारी दियो । प्रदेश सरकारको दोस्रो कार्यकाल सुरु हुँदा एमालेले यसअघि मन्त्री बनेकाहरुलाई नै दोहोर्याउन लागेको हो ।
२६ पुस २०७९ मा प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका जगन्नाथ थपलिया आइतबार पुनः अर्थ मन्त्रालयमै फर्किएका छन् । एमालेको भागमा पाउने बाँकी मन्त्रालयमा पनि पुरानै अनुहारलाई प्राथमिकता दिने सहमति भएको थियो ।