काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहको प्रमुख आतिथ्यतामा काठमाडौँको वसन्तपुर डबलीमा मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १०औं वार्षिकोत्सवको अवसरमा आयोजित ट्राफिक चेतनामूलक सांस्कृतिक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । 
कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सवारी दुर्घटना हुनुको मूख्य कारण जनचेतनाको कमी भएको उल्लेख गर्दै ट्राफिक, लाइट र लेन अनुशासन सम्बन्धी जानकारी लगायतका विषयमा जनचेतना जगाउन विशेष पहल गर्नुपर्ने बताउनु भयो । त्यसका लागि काठमाडौँ महानगरपालिकाले नेपाल प्रहरी र ट्राफिक प्रहरीसँग सहकार्य गर्दै आएको र आगामी दिनमा समेत सहकार्य गर्दै जाने उहाँले चर्चा गर्नु भयो । साथै नगर प्रमुख शाहले ट्राफिक व्यवस्थापन तथा पार्किङ व्यवस्थापनका लागि महानगरपालिकाले ट्राफिक प्रहरीको समन्वयमा आवश्यक पहल गरिरहेको बताउनु भयो । 
कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले कार्यक्रम आयोजना गर्न सहयोग पुर्याउने विभिन्न संस्था तथा महानुभावहरूलाई कदरपत्र प्रदान गर्नु भयो । प्रहरी महानिरीक्षक सिंहले ट्राफिक एफ.एम.लाई १०औँ वार्षिकोत्सवको अवसरमा शुभकामना दिँदै विशेषगरी अपराध र ट्राफिक सम्बन्धी प्रभावकारी र प्रशंसनीय सचेतनामूलक जानकारी दिने एफ.एम. सुन्नका लागि सबैमा आग्रह गर्नु भयो । साथै उहाँले साङ्गीतिक प्रस्तुतीबाट मनोरञ्जन समेत दिँदै आएको एफ.एम.लाई यो स्थानमा पुर्याउन श्रोता र विशेष गरी महानगरपालिकाको सहयोग रहेको उल्लेख गर्नु भयो ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाका पूर्व नगर प्रमुख विद्या सुन्दर शाक्यले आफ्नो मन्तव्य व्यक्त गर्दै प्रहरी र महानगरपालिकाले आ-आफ्नो क्षेत्रमा सहकार्य गरेर आफूले संचालन गर्ने कार्यमा सफलता हासिल गर्न अग्रसर हुनुपर्ने बताउनु भयो । विगतमा महानरगपालिका, काठमाडौँ उपत्यका प्रहरी कार्यालय र ट्राफिक प्रहरीले संचालन गर्दै आएका विभिन्न कार्यक्रमलाई निरन्तरता दिँदै अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र बहादुर धानुकले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा मेट्रो ट्राफिक एफ.एम. व्यवस्थापन समितिकी अध्यक्ष काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायव महानिरीक्षक मीरा चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।सांस्कृतिक कार्यक्रमको माध्यमबाट सडक सुरक्षा र ट्राफिक सचेतना फैलाउने उद्देश्यले मेट्रो ट्राफिक एफ.एम. ९५.५ मेगाहर्जको १०औं वार्षिकोत्सवको अवसरमा उक्त साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा नेपाल प्रहरी सङ्गीत विद्यालयद्वारा गायन, नृत्य, नाटक लगायत विभिन्न साङ्गीतिक प्रस्तुती गरिएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, सडक विभाग, यातायात व्यवस्था विभाग, सडक बोर्ड नेपाल, संघीय सडक सुपरीवेक्षण कार्यालयका प्रमुखहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, काठमाडौँ महानगरपालिकाका १२ वटा वडाका प्रमुख तथा प्रतिनिधिहरू, उपत्यका स्थित सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, संचारकर्मी, स्थानीय बासिन्दा लगायतको उपस्थिति रहेको थियो ।


